प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा ‘एमिकस क्यूरी’ले राय दिन शुरु गर्यो

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा एमिकस क्यूरी (अदालतको सहयोगी) ले राय दिन थालेको छ ।

मंगलवारदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले एमिकस क्यूरीलाई आफ्नो राय दिन समय दिएको हो ।
जसअनुसार नेपाल बारको रिफारिसमा एमिकस क्यूरी चयन भएका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले राय दिइरहेका छन् । उनले प्रतिनिधिसभा विघटनलाई सही भएको आशयका तर्कहरु प्रस्तुत गरेका छन् ।

संसदीय शासन प्रणालीमा विघटन संसदीय व्यवस्थाको मुल मर्म भएको उनको भनाइ छ । ‘संसदीय प्रशासन प्रणाली र स्वतः हुने विघटनलाई संविधानले मान्छ कि मान्दैन भन्ने कुरामा प्रष्ट हुनुपर्छ । तर, संसदीय शासन प्रणालीमा विघटन भन्ने कुरा हुन्छ’, उनको भनाइ छ, ‘धारा ७४ पूर्ण छैन । संविधानको व्याख्या एकै जनाले गर्न सक्ने कुरा पनि होइन ।’

संविधानको धारा ७६ को उपधारा ७ का साथै धारा ८५ मा समेत अगावै विघटन भएमा भन्ने व्यवस्था रहेको उनको भनाइ छ । ‘संसदीय प्रणालीमा विघटन भनेको कोर भ्यालु (मुल मर्मं) हो । दुई वर्षभित्र अविश्वास प्रस्ताव राख्न नपाउने संविधानले भनेको छ । त्यो बीचमा डेडलक भयो भने के गर्ने ?’ उनले भने ।

यसैगरी कार्कीले गिरिजाप्रसाद कोइरालाले २०५१ मा संसद विघटन गरेको उदाहरण दिँदै उनले त्यतिबेला जसरी विघटन भएको थियो अहिले नभएको तर्क गरे । ‘गिरिजाप्रसाद कोइरालाले विघटन गर्दा जे भएको थियो यो, पटक यस्तो भएको छैन । त्यो उनले विघटन गर्दा संसदीय दलमा पनि आफ्नो बहुमत शो गरेका थिए । अहिलेको हकमा संसदीय दलमा त्यसको भएन । अहिले परीक्षण गर्न सक्ने अवस्था पनि थिएन’, उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?