टेक सिँह धामी/कैलाली । अछामको कोदो पहिलो पटक धनगढी पुगेको छ । अछामको चौरपाटी गाउँपालिकाले पहिलो पटक अर्गानिक कोदो धनगढी पुर्याएको हो । कोदो सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाका लागि एक प्रमुख खाद्यान्न बाली हो ।
कोदोको महत्व बुझ्न नसक्दा यसको उत्पादन कम हुन थालेको छ । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा पहाडबाट बसाइँ सर्ने दर बढेपछि यसको उत्पादनमा कमी आउन थालेको हो । कोदोको खेती कम हुँदा पहाडका धेरै जमिन बाँझै हुने गरेका छन् ।
कोदो खेतीको प्रवर्द्धनका लागि स्थानीय सरकार सक्रिय हुन थालेका छन् । अछामको चौरपाटी गाउँपालिकाले कोदो खेती प्रवर्द्धनका लागि विशेष कार्यक्रम ल्याएको छ । कोदोको उत्पादन वृद्धि गर्न ‘फल्याको कोदो, कुट्याको धान’ भन्ने कार्यक्रम ल्याएको हो ।
गाउँपालिकाले पहिलो चरणमा २ सय क्विन्टल कोदो खरिद गरेको छ । गाउँपालिकाले कोदोको प्याकिङ्ग गरी कैलाली पु¥याएको छ । किसानहरूबाट संकलन गरेको कोदो प्याकिङ्ग गरी गाउँपालिकाको ब्रान्डमा बिक्री शुरु गरेको छ ।
त्यति मात्रै नभएर बाहिरबाट गाउँपालिकामा आउने पाहुनाहरूलाई समेत कोदो उपहार दिने गाउँपालिकाको तयारी छ । गाउँपालिकामा कोदो धेरै फल्ने तर किसानले मूल्य नपाउने, सम्मान पनि नपाउने भएपछि कोदो बालीलाई हेला गर्न थालियो । त्यसैले उत्पादनमा वृद्धि गर्न यो कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले बताए । ‘चामलको मूल्य धेरै हुन्छ, कोदोको मूल्य कम हुन्छ,’ अध्यक्ष साउदले भने, ‘तर, गाउँपालिकाले एक किलो कोदो बराबर एक किलै चामल खरिद गरको छ ।’ त्यसका लागि गाउँपालिकाले ५ लाख अनुदान छुट्याएर कोदो खरिद गरेको हो ।
गाउँपालिकाले किसानबाट खरिद गरेको कोदो बजारमा बिक्रीका लागि ५ किलो, १० किलो र १५ किलोको प्याकमा ल्याएको छ । गाउँपालिकाको केन्द्रबाट होलसेलमा कोदो खरिद गर्न चाहनेका लागि प्रतिकिलो ३५ रुपैयाँ तोकिएको छ । भने धनगढी र अत्तरियामामा होलसेल किन्न चाहने नागरिकका लागि ४० रुपैयाँ र फुटकरमा किन्ने नागरिकलाई प्रतिकिलो ४५ रुपैयाँका दरले कायम गरिएको धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
गाउँपालिकामा फलेको अर्गानिक कोदो किनेर सहयोग गरिदिन हुन गाउँपालिकाका अध्यक्ष साउदले आग्रह गरे । चौरपाटीमा फल्ने गुणस्तरीय कोदो प्रवर्धन गर्न गाउँपालिकाले किसानले फलेर (केलाएर) ल्याएको कोदो बराबर चामल साटेको थियो ।
गाउँपालिकाले प्रत्येक वर्ष असार १६ गते कोदो दिवस मनाउने गरेको छ । लामो समयसम्म रोजगारीको सिलसिलामा भारत गएकाहरू फर्केर आएपछि उनीहरूलाई रोजगारी दिन यस्तो व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष साउद बताउँछन् । ‘यसले दुई फाइदा गर्छ,’ अध्यक्ष साउद भन्छन्, ‘एकातिर कोदोको उत्पादन वृद्धि हुन्छ, अर्कोतिर भारतबाट आएर दैनिक छाक टार्न समस्या भएकाहरूलाई राहत पुग्छ ।’
घर खेत बाँझो राखेर परिवारसहित भारत गएकाहरू वर्षौंपछि घर आएकाले उनीहरू फेरि आफ्नै माटोमा उत्पादन सुरु गरुन् भन्नका लागि यो योजना अघि सारिएको उनले उल्लेख गरे । उनले कोदो, भटमास, गहत, मास गाउँमा जति उत्पादन भए पनि बजारका लागि किसानहरूले चिन्ता गर्नु नपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया