प्रतिनिधिसभा विघटनविरुद्ध कपिलवस्तु कांग्रेसको विरोधसभा

कपिलवस्तु । प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध नेपाली कांग्रेस कपिलवस्तुले तौलिहवामा विरोधसभा गरेको छ । तौलिहवा स्थित बुद्धपदम उमाबिको मैदानबाट प्रशासन चोकसम्म र्याली निकाली ओली सरकारविरुद्ध चर्का नाराबाजी समेत गरिएको थियो ।

सो अवसरमा नेपाली कांग्रेस केन्द्रिय सदस्य अतहर कमालले ओली प्रधानमन्त्री भएदेखि अधिनायकवादतर्फ उन्मुख भएको बताए । राज्यको हरेक संयन्त्रमा कब्जा गर्दै ओली निरंकुशता ल्याउन उद्दत रहेको उनले बताए । संवैधानिक ओयोगहरुमा ओलीले कब्जा गरेर संघीयता नै खारेज गर्नेतर्फ लागेको बताए । न्यायालय, निर्वाचन आयोगलाई दबाव दिएर ओलीले सबै क्षेत्रमा कब्जा गर्न खोजेको उनले बताए । ‘ओलीले लोकतान्त्रिक संविधानलाई नै खारेज गर्न लागेका छन, त्यसैको बिरोध गरी संविधानको रक्षा गर्न कांग्रेसले यो कार्यक्रम गरेका हो,’ उनले भने ।

कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य अभिषेक प्रताप शाहले सिमा नाकामा आवतजावत रोकेर ओली सरकारले जनतलाई अनावश्यक दुःख दिएको बताए । उनले ओलीले जति ठुलो प्रयास गरे पनि असफल हुने भन्दै अन्तिममा जनताकै जित हुने जिकिर गरे । उनले केही दिन अघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेकपाले जित्ने भन्दै बुटवलमा भनेकोप्रति आपत्ति जनाउँदै त्यहाँ कांग्रेसलाई कसैले हराउन नसक्ने दाबी गरे ।

अर्का केन्द्रिय सदस्य राजेश सिंहले ओलीले आफनो पार्टीको झगडा मिलाउन नसकेर आफनो स्वार्थका लागि संसद विघटन गरेको आरोप लगाए । उनले वर्तमान सरकार निर्वाचनको नाटक गरेर सत्ता लम्व्याउने खेलमा लागेको बताए ।
सो अवसरमा पार्टी जिल्ला सभापति सुरेन्द्र राज आचार्यले कम्युनिष्ट सरकारले मुकुलको निशान दिन नसक्ने बताए । ओलीको दुई तिहाई सरकार भष्ट्राचारमा लिप्त रहेको र अहिले आधिकारिक रुपमा विभाजित नभए पनि शक्ति प्रर्दशनमा लागेको बताए । उनले कांग्रेसले मात्र मुलुकमा स्थिरता र विकास दिने दाबी गरे ।

कार्यक्रममा पूर्व पार्टी सभापति राजेश आचार्य, सुधाकर पाण्डेय, महिला संघकी केन्द्रिय सदस्य ईन्दिरा भट्टराई, तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी, नेविसंघका जिल्ला सभापति राकेश पाण्डेय लगायतले मन्तब्य दिएका थिए । कार्यक्रम पार्टी सभापति आचार्यको अध्यक्षता र प्रकाश घिमिरेको संचालनमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?