‘गल्ती भए जुत्ताको मालासहित कालोमोसो दलेर माझी बस्ती परिक्रमा गर्छु’- श्वेता खड्का (भिडियो)

काठमाडौं– अभिनेत्री श्वेता खड्काले एकीकृत माझी बस्ती निर्माणका क्रममा आफूले आर्थिक हिनामिना गरेको भन्ने आरोप प्रमाणित भए जुत्ताको मालासहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार रहेको बताएकी छन् ।

अभिनेत्री खड्काले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भ्रामक समाचारको पछि नलाग्न पनि आग्रह गरेकी छन् । बस्ती निर्माणका लागि तैँले के गरिस्’ भन्ने तरिकाले आफूलाई प्रश्न उठाउने गरिएको भन्दै श्वेताले बस्तीको निर्माण कार्य सञ्चालनका लागि आफूले व्यक्तिगत रुपमा ३२ लाख रुपैयाँ खर्च गरेको पनि बताएकी छन् ।

‘मैले श्वेताश्री फाउण्डेसनको नाममा पैसा उठाएर विलासी जीवन विताएको प्रतिक्रियाहरु पनि देखेको छु,’ श्वेताले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘तर जसले मलाई फाउण्डेसनको नाममा पैसा उठाएर गलत प्रयोग गरेको प्रमाणित गर्छ, त्यो प्रमाणि भएकै दिन जुत्ताको मालासहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु ।’ उनले लेखेकी छन् ।

आफू नेतृत्वको श्वेताश्री फाउन्डेसनले अहिले पनि स्थानीय (माझी समुदाय) सँगको सम्झौताअनुसार नै काम गरिरहेको र आफ्नो जिम्मामा रहेको काम संस्थाले पूरा गर्ने बताएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?