काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज सोमवार देशव्यापी प्रदर्शन गर्दैछ । जिल्ला कार्यसमितिहरुको आयोजनामा कांग्रेसले देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो । गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा कांग्रसले देशव्यापी विरोध प्रदर्शन गर्न लागेको हो।
जिल्ला जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्नेछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महतले धादिङमा, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटनका लागि प्रस्ताव गरेपछि पुस १३ गतेदेखि आन्दोलित बनेको कांग्रेसले विभिन्न चरणमा संसद विघटनविरुद्ध विरोध प्रदर्शन गर्दै आएको छ । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले यसअघि पुस १३ देखि माघ २४ गतेसम्मको अवधिमा विरोध प्रदर्शन गरेको थियो । आज हुने प्रदर्शनलाई पनि घरघरबाट सहभागी भएर सफल पार्न सभापति देउवाले अपिल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया