रसुवागढी नाका बन्द: चरम मारमा व्यवसायी, तत्काल खोल्न कांग्रेसको माग

काठमाडौँ– नेपाल–चीन सीमा नाका रसुवागढी फेरि बन्द भएको छ । चिनियाँ भन्सार र्‍याडका श्रमीकहरु ल्होसारको छुट्टीमा गएपछि यो व्यापारिक नाका ठप्प भएको हो ।

‘०७६ माघ १५ देखि २०७७ असार २७ सम्म पूर्णरुपले बन्द भएको यो नाका गत १३ गतेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको थियो ।
पूर्णरुपमा संचालन हुँदा यो नाका भएर दैनिक २ सयवटा सम्म गाडी आउँथ्यो तर पछिल्लो समय आंशिकरुपमा खुलेको यो नाकाबाट बढीमा ५ वटा चिनियाँ कन्टेनरले रसुवागढीसम्म आएर सामान ल्याइदिने गरेको थियो । तर अहिले त्यो पनि ठप्प भएको छ ।

तत्काल पहल थाल्न कांग्रेसको माग

नाका ठप्प भएपछि नेपाली कांग्रेसले तत्काल खुलाउन माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज (आइतवार) प्रेस विज्ञप्ति जारी गर्दै केरूङ नाकामा आयात निर्यात सहज तुल्याउन तत्कालै पहल गर्नका लागि सरकारसँग माग गरेका हुन्।

‘चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिए लगत्तै अन्तर्राष्ट्रिय सीमा नाकाहरुमा प्रवेशमा कडाई र आवागमन बन्द समेत गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यक कदम थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर तुलनात्मक रुपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सीमाको प्रमुख ब्यापारिक नाका केरुङमा नागरिक र ब्यवसायीहरुले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेको हुँदा नेपाली कांग्रेस यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।’ सीमामा कन्टेनर अलपत्र अवस्थामा रहनु दुःखद भएको कांग्रेसको भनाइ छ।

नाका पूर्णरुपमा संचालन नहुँदा व्यवसायीहरु मर्कामा पर्नुका साथै राज्यकै राजस्व संकलनमा पनि असर पुगेको कांग्रेसको ठहर छ । प्रवक्ता शर्माले विज्ञप्तिमा भनेका छन्, ‘यसबाट एकातर्फ नेपाली व्यवसायीहरु मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको छ। अतः चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरेर समस्याको समाधान खोज्न नेपाली कांग्रेस नेपाल सरकार समक्ष माग गर्दछ।’

२४ किमीको भाडा ९ लाख रुपैंया, मारमा व्यवसायी र मजदुर

नाका पूर्णरुपमा संचालन नहुँदा एक हजार ५ सय भन्दा बढी कन्टेनर एक वर्षदेखि सीमामा अलपत्र अवस्थामा रहेका छन्। यसले सामान नष्ट हुनेदेखि ढुवानी खर्च बढ्नेलगायतका समस्याहरु देखिएका छन् ।

नाका खुलाउन सरकारबाट कुनै पहल नभएको भन्दै रसुवाका व्यवसायीले गत शुक्रवार टिमुरेमा विरोध प्रदर्शन समेत गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले चीनसँग सहज व्यापार गर्नका लागि पहल गर्नुपर्ने, अघोषित नाकाबन्दी अन्त्य गरिनुपर्ने लगायतका चर्का नारा लगाएका थिए ।

रसुवा केरुङका व्यवसायी सुरेश थोक्राले लामो समयदेखि आफूहरुले नाका सहज बनाउन सम्बन्धित निकायमा ध्यानाकर्षण गराएपनि सुनुवाइ हुन नसकेपछि बाध्य भएर विरोध प्रदर्शन गर्नु परेको बताएका थिए ।

स्थानीय व्यवसायी छेसम तामाङले रसुवावासीले २५ किमी सम्म आवतजावत गर्न पाउने व्यवस्था कायम गरिएको भएपनि अहिले चीनले त्यो सम्झौता समेत उल्लंघन गरेको बताए । चीनको अघोषित नाकाबन्दीले यहाँका ढुवानी व्यवसायी, होटल, किरानालगायतका व्यवसायीहरुलाई जीवन निर्वाह गर्न निकै गाह्रो भएको र पलायन हुन बाध्य भएको उनको भनाइ छ।

यसले गर्दा व्यवसायी मात्रै होइन उपभोक्ता र मजदुर समेत ठूलो मारमा परेका छन् । यहाँ पहिले ६ सय भन्दा बढी मजदुरले काम गर्थे तर अहिले करिब ३५ जना मजदुर र १६ जना ड्राइभरले मात्र काम पाएका छन्।

केरुङदेखि रसुवागढीसम्म सामान ल्याउन चिनियाँ कन्टेनरले महंगो मूल्य लिन्छन् । केरुङबाट काठमाडौँ (१२४ किलोमिटर) आइपुग्दा प्रति कन्टेनर १ लाख १० हजार नेपाली रुपैयाँ पर्दथियो । तर अहिले केरुङदेखि रसुवागढीसम्म जम्मा २४ किलोमिटर बाटोमा चिनियाँ कन्टेनरको भाडा ७० हजार आरएमबी अर्थात् नेपाली रुपैयाँ ९ लाख रुपैयाँ भन्दा बढी पर्छ ।

रसुवागढीदेखि काठमाडौँसम्मको ९० किलोमिटरमा नेपाली कन्टेनरले ८५ हजार भाडा लिने गर्छन् । सामान्यतया एक चिनियाँ कन्टेनरको नेपाली कन्टेनरमा हाल्दा २ कन्टेनर हुन जान्छ । सिधै केरुङदेखि काठमाडौं सामान आयात हुँदा टुटफुटको सम्भावना पनि उत्तिकै कम थियो तर अहिले चिनियाँ टोलीले नेपाली भूमिमा आएर सामान छोडेर हिँडेपछि मात्र नेपाली टोलीले त्यो सामान चलाउन पाउँछ ।

रसुवागढी नाका व्यवस्थापन समितिका अध्यक्ष कामिरुपा नोर्वु तामाङले अन्तर्राष्ट्रिय नाकाका रुपमा घोषित यो नाकामा चीनले गरेको मनपरीका कारण व्यवसायीको अवस्था नाजुक बनेको बताएका छन् । चीनले नाकामा गरेको अघोषित नाकाबन्दीले व्यवसायीको जीवनस्तरमा ठूलो धक्का लागेको उनको भनाइ छ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ का वडाध्यक्ष दावा दोर्जे तामाङले पनि आफूहरुले जति पहल गरेपनि चीनले नाका खोल्न नमानेको बताए । चीनले भने जस्तै सुरक्षाको मापदण्ड पालना गरेपनि नाकामा सहजता नआएको उनको भनाइ छ।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?