सुदूरपश्चिममा बलात्कारका घटना बढ्दै : कहाँ पुग्यो भागरथीको बलात्कारपछि हत्या अनुसन्धान ?

टेकसिँह धामी/ कैलाली – सुदूरपश्चिममा बलात्कारका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । प्रहरीका अनुसार सुदूरपश्चिममा बलात्कारका घटना बढ्दो मात्रामा छन् । महिला हिंसाको प्रमुख कारण ठानिएको बहुविवाह र बालविवाहका घटना पनि बर्सेनि बढ्दो मात्रामा रहेको प्रहरी तथ्यांक छ ।

प्रहरी तथ्यांक अनुसार चालु आर्थिक वर्ष ०७७–७८ मा १२१ वटा बलात्कारका मुद्दा दर्ता भएका छन् । प्रदेशमा औसतमा हरेक दुई दिनमा एउटा बलात्कारको घटना हुने गरेको छ । प्रदेशमा जबरजस्ती करणी प्रयासका घटना पनि बढ्दै गएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले सुदूरपश्चिममा बढ्दै गरेका बलात्कारका घटना न्यूनीकरण प्रहरीका लागि चुनौतीको विषय बनेको बताए । प्रदेशमा बलात्कारका घटना सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा भएको उनले बताए । जनसंख्याको चाप बढी हुनुले तराईका यी दुई जिल्लामा बलात्कार, बलात्कारको प्रयास, बहुविवाहका घटना बढी देखिएको प्रहरीको दाबी छ ।

किन बढ्यो बलात्कार ?

बलात्कार घटनाका दोषीलाई कानुनी दायराभित्र ल्याउन नसक्दा बलात्कारका घटनाले प्रश्रय पाएको महिला अधिकारकर्मीहरुको भनाइ छ ।

महिला अधिकारकर्मी पुष्पा भट्टले दोषीलाई कारबाहीको दायरामा ल्याउन नसक्नुले पनि बलात्कारका घटनाले प्रश्रय पाइरहेको बताइन् । देशको कानुन पनि फितलो भयो । कतिपय ठाउँमा जनप्रतिनिधिले नै बलात्कारका घटना गाउँमै मिलाउने गरेको पाइएकाले बलात्कारमा संलग्नको आत्मबल बढेको उनको भनाइ छ ।
‘धेरैजसो घटनामा दोषीलाई कारबाही हुँदैन । जनप्रतिनिधिले पनि बलात्कारका घटना गाउँमै मिलाउने गरेका समाचार सार्वजनिक हुँदै आएका छन्,’ उनी भन्छिन्, ‘बलात्कारी र मिलापत्र गराउनेलाई कारबाही गरे मात्र घटनामा कमी आउँछ ।’ पहुँचवाला जोडिएको घटनामा प्रहरी अनुसन्धान पनि पीडकको पक्षमा देखिने गरेको उनको बुझाई छ ।

निर्मला बलात्कारपछि हत्याकाण्ड

सुदूरपश्चिमको कञ्चनपुरमा २०७५ साउन १० गते बिहान १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो । साथीको घर गएकी निर्मला साउन ११ गते बिहान नजिकैको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् ।

उक्त घटनाले देश हल्लायो । अपराधीलाई कारबाही माग गर्दै लगातार प्रदर्शन भयो । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर महेन्द्रनगरमा एक युवकको ज्यानसमेत गयो । अहिले पनि निर्मला प्रकरणलाई लिएर न्यायका लागि दबाब र आन्दोलनका कार्यक्रमहरू भइरहेका छन् ।

निर्मलाको बलात्कारपछि हत्या भएको दुई वर्ष बितिसक्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन। प्रहरीले अनुसन्धानको नाममा दुई वर्ष कटायो, तर अपराधीलाई अझै हत्कडी लगाउन सकेको छैन। अपराधी अझै गुमराहमै छन्।

सम्झना बलात्कारपछि हत्याकाण्ड

बझाङको मष्टाँ गाउँपालिका–२ खिकालाकी १२ बर्षिया बालिका सम्झना विश्वकर्माको बलात्कार पछि हत्या गरियो । असोज ७ गते (बुधवार) दिउँसो ५ बजे भैंसीगोठ हिडेकी सम्झनाको आधा बाटोमै बलात्कार पछि विभत्स तरीकाले हत्या भयो ।

घरबाट आधा घण्टाको दूरीमा रहेको भैंसीगोठ जाने क्रममा नजिकै रहेको (सिममाडौं) मन्दिरभित्र सम्झानाको बलात्कार पछि हत्या गरिएको अवस्थामा भेटिएकी थिइन्। सम्झनाको हत्या प्रकरणमा संलग्न स्थानिय राजेन्द्र बोहराले हाल कारवाही भोगिरहेका छन् ।

भागरथी भट्ट बलात्कारपछि हत्याकाण्ड

हालै बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीमा भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ ।

१७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते दिउँसो २ बजेसम्म साथीहरूसँगै रमाइलो गर्दै थिइन् । २ बजेपछि भागरथी कता गइन् कसैलाई पत्तो भएन । स्कुलका साथीहरूले घर गएको ठाने । घरमा आमा भने छोरी आउने बाटो कुरेर बसिरहिन् ।

साँझ छिप्पिसक्दा पनि छोरी घर नआएपछि आमाको मन आत्तियो । दोस्रो दिन गाउँभरि भागरथी हराएको हल्ला फैलियो । अनेक थरिका शंका उपशंका पैदा भए । गाउँलेहरू खोज्न जुटे । नभन्दै माघ २२ गते बिहीबार साँझ ५ बजे विद्यालयबाट घर फर्किने बाटोको जंगलमा भागरथीको शव भेटियो । शव विभत्स अवस्थामा थियो ।

अहिले उक्त घटनाको अनुसन्धान चलिरहेको छ । भागरथी भट्ट प्रकरणको अनुसन्धान निष्कर्ष केन्द्रित भएको प्रहरीकोे दाबीे छ ।

दर्जनभन्दा बढी व्यक्तिहरूमाथि सोधपुछ गरेको प्रहरीले पछिल्लो अनुसन्धान निष्कर्ष केन्द्रित भएकाले चाँडै टुङ्गोमा पुग्ने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?