एमिली शृंखलाका दुई बालकथा बजारमा

काठमाडौं । कथालय इन्कले विश्वका उत्कृष्ट र रमाइला बालकथाहरु सार्वजनिक गर्दै आएको छ ।

रोचक कथा र लोभलाग्दा चित्रहरुले भरिएका बालसाहित्य प्रकाशन गर्ने क्रममा चर्चित शृंखला एमिली र खरायो शृंखलाका दुई पुस्तक नेपालीमा अनुवाद गरेको छ ।

क्रेसिडा कावल र निअल लेटनको ‘एमिली र खरायो’ र ‘एमिली र त्यो चिज’ दुवै कथाले बालबालिकालाई कल्पना र रोमाञ्चका बेग्लै दुनियाँमा पुर्याउँछ ।

एमिली आफ्नो खैरो खरायो स्टेनलीलाई असाध्यै माया गर्छिन्। ‘एमिलीको खरायो’ शीर्षकको कथामा उसको त्यो खरायोमाथि महारानाी ग्लोरियनाको आँखा लाग्छ ।

उनी आफ्ना सिपाहीहरु खटाएर आफ्नो कब्जामा ल्याउँछिन्। त्यसपछि एमिलीले महारानीको हातबाट त्यो खरायो कसरी फिर्ता ल्याउँछिन् भन्ने कथा छ। यो कथाले एमिलीको स्टेनलीप्रतिको बलियो प्रेम देखाउँछ जसका लागि उनी महारानीसँग समेत टक्कर लिन्छिन् ।

एमिलीको खरायो बेलायतको प्रतिष्ठित नेस्ले चिल्ड्रेन्स बुक प्राइज जितेको लोकप्रिय पुस्तक हो ।

दोस्रो पुस्तक एमिली र त्यो चिज पनि उत्तिकै रोचक छ । एमिली र स्टेनली निदाउन लागेको एक रात उनीहरुले अनौठो आवाज सुन्छन् । त्यो आवाज पछ्याउँदा उनीहरुले एउटा चिज देख्छन् । त्यो चिजले एमिली र स्टेनलीलाई आफ्नो हराएको खेलौना खोजेर ल्याइदिन अनुरोध गर्छन्। त्यो चिजको अनुरोध मानेर उनीहरु हावा छेक्ने ज्याकेट, अँध्यारोमा पनि हेर्न मिल्ने चश्मा र उक्लन सजिलो हुने विशेष जुत्ता लाएर खेलौना खोज्न निस्कन्छन् ।

बडो दुःखले खेलौना खोजेर ल्याइदिएपछि पनि त्यो चिजले एमिली र स्टेनलीलाई पटक पटक अर्को अनुरोध गर्न छोड्दैन। त्यो चिजको अनुरोध मानेर एमिली र स्टेनलीले गर्ने यात्रा नै यो कथाको विशेषता हो ।

यी दुवै कथा शब्द र चित्रको सुन्दर संयोजनबाट अत्यन्तै रोचक शैलीमा प्रस्तुत गरिएको छ। हरेक पृष्ठमा सचेत रुपमा आकर्षक ढंगले फरक रंगहरुको प्रयोग गरिएको छ ।

साहस, बुद्धि र दयालु मनको कथा अनि डिटेलसहितका आकर्षक चित्र हेर्दै पढ्न चाहनेका लागि यी दुवै कथा उपयोगी छन् ।
यी दुई किताबको मूल्य तीन सय पचास रुपैयाँ छ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?