प्रेम दिवस : कोरोनाका कारण घट्यो गुलाबको माग

काठमाडौं । हरेक वर्ष युवा पुस्ताले मनाउने गरेको प्रेम दिवस ‘भ्यालेन्टाइन डे’ मा प्रयोग हुने गुलाब फूलको माग निकै घटेको छ ।

कोरोना भाइरसका कारण आम मानिसको आम्दानीको स्रोतमा कमी आएकाले प्रेम दिवसमा गुलाबको माग घटेको हो । गत बर्षको तुलनामा माग ४० प्रतिशतले कमी आएको फ्लोरिकल्चर एशोसियशन अझ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले लोकपथलाई बताए । यस वर्ष माग र उत्पादन दुबै घटेका १ लाख २० हजारको स्टीम मात्रै माग आएको छ ।

गत वर्ष करिब २ लाख स्टीम गुलाबको कारोबार भएको थियो । नेपालमा चाडपर्व बाहेक प्रतिदिन करिब ८ हजार स्टीम गुलाब फूलको माग रहने गर्छ । नेपालमा मागको ८० प्रतिशत आन्तरिक उत्पादनबाट र बाँकी २० प्रतिशत मात्र अन्य देशहरुबाट आयात गरिँदै आएको छ । नेपालमा गुलाबको व्यवसायीक खेती उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर), चितवन, काभ्रेपलाञ्चोक लगायतका जिल्लामा हुँदै आएको छ ।

यस वर्षको प्रेम दिवसका लागि डच रोज तथा कलकत्ते लोकल रोज आयात भएको छ । प्रेम दिवसका लागि हुने जम्मा बजार मागको झण्डै ६० प्रतिशत काठमाडौं उपत्याकामा मात्र खपत हुने अध्यक्ष कसजुको भनाई छ । २० प्रतिशत पोखरा र अन्य शहरहरुमा २० प्रतिशत खपत हुने गरेको छ । प्रेम दिवस अवधिभर झण्डै १ करोड रुपैयाँ बरारबको कारोबार हुने गरेको छ । अहिले बजारमा फूलको प्रति स्टीम मूल्य ६० देखि १०० को हाराहारीमा बिक्री भइरहेको छ । प्रेम दिवस नजिकिंदै गर्दा काठमाडौं, पोखरा लगायतका विभिन्न शहरहरुमा सपिङ मल तथा पसलहरु सजिन थालेका छन् । पूल तथा गिफ्ट पसलहरुलाई अहिले भ्याइनभ्याई छ फुल र गिफ्ट किन्न ।

पश्चिमा मुलुकहरुमा मनाइने भ्यालेन्टाइन पछिल्लो समय अन्य देशहरुले पनि सिको गर्दै आएका छन् । जसको प्रभाव नेपालमा पनि परेको छ । पछिल्ला केही वर्ष यता नेपालमा पनि प्रेम दिवस मनाइँदै आएको छ । यस दिन युवा पुस्ताका महिला पुरुषहरुमा भ्यालेन्टाइन कार्ड, शो–पिस गिफ्ट, फ्रेम, गुलाफ, डेडी बियर एक आपसमा आदानप्रदान गरी मनाउने चलन छ । त्यस्तै, यस दिन युवा युवतीहरु नयाँ नयाँ ठाउँमा घुम्न जाने चलन पनि रहि आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?