काठमाडौं । नेपाल कम्यनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वयले ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
शुक्रवार एक विज्ञप्ति जारी गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।
विविधतायुक्त नेपाली समाजमा विभिन्न समुदायका यसप्रकारका चाडपर्व, रीतिरिवाज र संस्कृतिले नै सिंगो राष्ट्रको मौलिक पहिचान झल्काउने जारी विज्ञप्तिमा बताइएको छ । जातीय, धार्मिक, लैंङ्गिक र सामुदायिक परम्परा देशको गहना भएको बताइएको छ ।
“विविधतायुक्त नेपाली समाजमा विभिन्न समुदायका यसप्रकारका चाडपर्व, रीतिरिवाज र संस्कृतिले नै सिंगो राष्ट्रको मौलिक पहिचान झल्काउँदछ । जातीय, धार्मिक, लैंङ्गिक र सामुदायिक परम्परा नै यो देशको गहना हो ।” जारी विज्ञप्तिमा भनिएको छ ।
साथै यस्ता सांस्कृतिक पर्वहरुका माध्यमबाट सांस्कृतिक पहिचान र भौगोलिक विविधतायुक्त विशेषता रहेको नेपाली जनसमुदायमा आपसी बन्धुत्व, सहिष्णुता र सामाजिक सांस्कृतिक ऐक्यवद्धताको अभिवृद्धि हुनेमा विश्वास व्यक्त गरेका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमले संविधानको सफल कार्यान्वयन र संरक्षण नभएको भन्दै उत्पीडनमा परेका जाति, क्षेत्र र लिङ्गका जनताको मौलिक हक अधिकार कुण्ठित गर्ने दुष्प्रयास शुरु भएको प्रचण्ड(नेपाल पक्षको दाबी छ । साथै त्यसैको रक्षाको लागि आन्दोलनमा होमिनुको विकल्प नभएको समेत उक्त पक्षले जनाएको छ ।
“पछिल्लो घटनाका रुपमा सरकारको तर्फबाट उत्पीडनमा परेका जाति, क्षेत्र र लिङ्गका जनताको मौलिक हक अधिकार कुण्ठित गर्ने दुष्प्रयास सुरु भएको छ ।” जारी विज्ञप्तिमा भनिएको छ, “त्यसकारण हजारौं जनताको त्याग र समर्पणबाट प्राप्त अधिकार रक्षाका लागि प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम विरुद्ध आन्दोलनमा होमिनुको कुनै विकल्प छैन । तसर्थ तामाङ र शेर्पा समुदाय सहित सम्पूर्ण नेपाली जनतामा यस पर्वको अवसरमा सु–स्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामनाका गर्दै प्रतिगामी कदम विरुद्ध अन्तिम धक्काका लागि तयार रहन हार्दिक आव्हान गर्दछौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया