नाडा प्रतिनिधि र अर्थमन्त्री पौडेलबीच छलफल

काठमाडौं । नाडा प्रतिनिधि मण्डल र अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच छलफल भएको छ।

अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ७ सदस्यीय नाडा प्रतिनिधि मण्डलले बुधवार अर्थमन्त्री पौडेलसंग भेटी अटोमोवाइल व्यवसायका समसामयिक विषयहरुमा छलफल गरेकोे नाडाले जनाएको छ ।

अध्यक्ष दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दे आएको बताउंदै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरु बारे छलफल गरेका थिए । यस्तै नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले आधिकारिक विक्रेता नभएका कम्पनीले सवारी पैठारी गरेमा त्यस्ता सवारी साधनको मूल्यको ३० प्रतिशत जरिवाना गरी जाँचपास गर्न सकिने नयाँ व्यवस्थाले उत्पादक कम्पनीको कुनै दायित्व नै नरहने अवस्था उत्पन्न भएको बताए ।

त्यसैगरी छलफलमा नाडाका महासचिव तथा स्पेयर पार्टस समितिका सभापति सुनिल रिजालले स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरु बारे जानकारी गराएका थिए । छलफलको क्रममा अर्थमन्त्री पौडेलले नेपालमा विद्युतिय सवारी साधनहरुको प्रशस्त सम्भावना देखिएको सन्दर्भमा अव अटोमोवाइल व्यवसायीहरुले नेपालमै विद्युतिय सवारी साधनहरुको उत्पादन थाल्नु पर्ने र त्यसका लागि आवश्यक नीति नियमहरुको तर्जुमा आफुले गरि दिने बताएका थिए ।

छलफलमा नाडाका अध्यक्ष दुलालसहित निबर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल र सह-कोषाध्यक्ष विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?