वार्षिकोत्सवको अवसरमा नापतौलका सामान परीक्षण

RSS
0
Shares

कास्की । पोखराका भाँडा तथा कपडा व्यवसायीले आफ्ना नापतौलका सामग्री परीक्षण गराएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको ६७औँ वार्षिकोत्सवको सन्दर्भमा पोखरा नापतौल कार्यालय कास्कीका अधिकारीको रोहबरमा मंगलवार पोखरामा स्वच्छ व्यवसाय नै आफ्नो धर्म भएको भन्दै नापतौलका सामान पुनः प्रमाणित गरिएको हो ।

भाँडा व्यवसायीले आफ्नो नापतौलका तराजु, ढक र कपडा व्यवसायीले आफ्नो कपडा नाप्ने ‘गज’ ठीक भएको प्रमाणित गराएको पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइरालाले जानकारी दिए । उद्योगी/व्यवसायी पनि उपभोक्ता नै भएको स्मरण गर्दै उहाँले सामाजिक संस्थाका रूपमा पोखरा उद्योग वाणिज्य सङ्घ सदैव उपभोक्ताको हितमा रहेको बताए ।

नेपाल गुणस्तर तथा नापतौल कार्यालय कास्की, पोखरा उद्योग वाणिज्य सङ्घ, कपडा एशोसिएशन पोखरा र पोखरा भाँडा व्यवसायी सङ्घको संयुक्त आयोजनामा गरिएको परीक्षण कार्यक्रममा व्यवसायीले आफ्ना नापतौलका सामान चुस्तदुरुस्त बनाएको भन्दै सङ्घका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले सबैलाई धन्यवाद व्यक्त गरे । व्यवसायीलाई नापतौल कार्यालयमै पुगेर पनि आफ्ना सामान चुस्त र दुरुस्त बनाउन उनले आग्रह गरे ।

कार्यक्रममा नेपाल गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख तिलक केसी, रुघुनाथ पौडेल, विपिन पुरीलगायतले नापतौलका सामान अद्यावधिक गरेका थिए । पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव सुरेन्द्रमान बिजुक्छेले नापतौलका सामान चुस्तदुरुस्त राख्न व्यवसायीलाई आग्रह गर्दै सङ्घ सदैव स्वच्छ व्यवसायीको पक्षमा रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?