‘एन एक्जिबिशन फर पर्पोज’ : आगामी फागुन ५ गतेसम्म चल्ने

RSS
0
Shares
नेपाल कला परिषद, बबरमहलमा यही माघ १९ देखि चलेको …एन एक्जिबिसन फर पर्पोज’ कला प्रदर्शनीमा राखिएको काउन्सिलका सदस्य नरेश सैँजुको सुरक्षा शीर्षकको चित्र । तस्वीरः श्याम रिमाल, रासस

काठमाडौं । कोरोना कहरसँगैको बन्दाबन्दीले कला क्षेत्रका गतिविधि प्रायः बन्द भएका बेला नेपाल कला परिषद्ले वातावरण सहज प्रयत्न गरेको छ ।

यही माघ १९ गते परिषद आफैँले कला गतिविधि सहज गर्ने उद्देश्यले परिषद कक्षमा ‘एन एक्जिबिसन फर पर्पोज’ शीर्षकमा २८ कलाकारलाई समाविष्ट गरी आयोजना गरेको प्रदर्शनीले कलाप्रेमी दर्शकलाई आकर्षण गर्‍यो र तिनले कोरोना कहरलाई बिर्सने प्रयत्न गरे ।

“बन्दप्रायः कला गतिविधिलाई चलायमान बनाउने हाम्रो उद्देश्य हो, यसले कला क्षेत्रमा केही सहज वातावरणको सन्देश पनि दिएको छ”, परिषदका सदस्य तथा कलाकार जीवन राजोपाध्यायले बताए । प्रदर्शनीमा २८ कलाकारका मूर्तअमूर्त गरी ६० वटा चित्र राखिएका छन् । कलाजगतमा आफ्ना समयमा योगदान दिएका कलाकारका मात्र चित्र प्रदर्शनीमा राखिएका छन् जो अहिले पनि सक्रिय नै छन् । “ यस प्रदर्शनीको उद्देश्य वरिष्ठ कलाकार सम्मान गर्ने पनि हो”, राजोपाध्यायले भने ।


नेपाल कला परिषद, बबरमहलमा यही माघ १९ देखि चलेको …एन एक्जिबिसन फर पर्पोज’ कला प्रदर्शनीमा राखिएको काउन्सिलका सदस्य जीवन राजोपाध्यायको चित्र । तस्वीरः श्याम रिमाल, रासस

प्रदर्शनीमा परिपक्व कलाकारका प्राकृतिक, सामाजिक, सांस्कृतिकलगायत विषय समेटिएका कलाकृति राखिएका छन् । कोरोनालाई बिर्सनका लागि पनि कलाकारहरुले कोरोनासम्बन्धी चित्र कम बनाएको जनाइएको छ । रत्नकाजी शाक्य, नरेश सैंजुलगायत केही कलाकारले मात्र कोरोना सम्बन्धी चित्र प्रदर्शनीमा राखेका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान९नाफा०का पूर्वकुलपति किरण मानन्धरका दुई चित्र ‘शक्ति १–२’ गरी दुई चित्र तीन लाखमा बिक्री भइसकेको र अन्य चित्र बिक्री हुने प्रक्रियामा छन् । शक्तिमा महिलाको निहित शक्ति भाव देखाइएको छ ।

परिषद्का सदस्य सैंजुका अनुसार परिषद्ले गरेको कला प्रदर्शनी आफैँमा ऐतिहासिक रहेको र सफल भएको छ ।

प्रकृति, संस्कृति, जनजीवन, मानवीय मूल्य मान्यताका विविध आयाम समेटिएका कलाकृतिले नेपालको कला परिवेशको पछिल्लो अवस्था बुझ्न सकिने प्रदर्शनीमा सहभागी कलाकार तथा परिषद् सदस्य सैंजुले बताए । उनले भने, “ कोरोना कहरपछि भएको यो प्रदर्शनी आफैँमा पनि ऐतिहासिक छ । नेपाली कलालाई बाहिरी दुनियाँमा चिनाउन अग्रज कलाकारको भूमिका असाधारण रहेको छ । यति धेरै अग्रज कलाकारको यति धेरै सिर्जनालाई समावेश गर्न सक्नु नै हाम्रा लागि ठूलो कुरा भएको छ ।”

सोसाइटी अफ फाइन आर्टस् जर्नालिष्ट नेपाल९सोफाज नेपाल०का अध्यक्ष केशवराज खनालले नेपालमा विस्तारै कलाक्षेत्र प्रदर्शनीमार्फत गतिशील बन्न थालेको बताउँदै प्रदर्शनीमा अग्रज कलाकारका कलाकृति लामो समयपछि हेर्न पाएकामा सन्तोष व्यक्त गरे ।

नेपाल कला परिषद, बबरमहलमा यही माघ १९ देखि चलेको …एन एक्जिबिसन फर पर्पोज’ कला प्रदर्शनीमा राखिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ बुद्धि गुरुङको चित्र । तस्वीरः श्याम रिमाल, रासस

परिषद्का महासचिव शङ्करनाथ रिमालले लामो समयपछि कलालाई गति दिने लक्ष्य राखेर प्रदर्शनी आयोजना गरिएको बताए । उनले प्रदर्शनीमा नेपाली कलाकारका विविध पक्ष र शैलीका कला राखिएको जनाउँदै यसको महत्व र प्रभाव लामो समयसम्म नेपाली कला जगत्मा पर्ने विचार व्यक्त गरे ।

परिषद्का कर्मचारी लोकप्रसाद तिमिल्सिनाका अनुसार बुधवारसम्म चल्ने प्रदर्शनी अझ सात दिन थपिई आगामी फागुन ५ गतेसम्म चल्ने छ । प्रदर्शनीमा वंशी श्रेष्ठ, वत्सगोपाल वैद्य, बुद्धि गुरुङ, गौतम मानन्धर, गौतमरत्न तुलाधर, गोविन्द डङ्गोल, हरि खड्का, राजोपाध्याय, केके कर्माचार्य, श्यामलाल श्रेष्ठ, किरण मानन्धर, कृष्ण मानन्धर, मदन चित्रकार, मुकेश मल्ल, सैंजु, नवीन्द्रमान राजभण्डारी, प्रमिला गिरी, राधेश्याम मुल्मी, रमेश खनाल, रमेश श्रेष्ठ, रागिनी उपाध्याय, रतनकुमार राई, रिमाल, शङ्करराजसिंह सुवाल, शारदामान श्रेष्ठ, शशी शाह, शाक्य र चन्दा श्रेष्ठका कलाकृति राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?