चिकित्सकले गलत भने तर १८० वर्षसम्म बाँच्न यी पुरुष अपनाइरहेछन् अनौठो तरिका

‘धेरै बाँच्ने आशमा १ मिलियन डलर बढी पैसा र २ दशक समय खर्चिएको छु’

फ्रान्सकी जिन लुइस काल्मेन्टले १२२ वर्षसम्म बाँच्न सम्भव छ भनेर प्रमाणित गरिसकेकी छिन् । जब उनको मृत्यु सन् १९९७ मा भयो तब उनले संसारमै सबैभन्दा लामो समयसम्म बाँच्ने व्यक्तिका रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा आफ्नो नाम लेखाउन सफल भइन् ।

तर, अमेरिकाका उद्यमी तथा लेखक डेभ अस्प्रे भने १८० वर्षसम्म बाँच्न चाहन्छन् । ४६ वर्षीय अस्प्रे बुलेटप्रुफ ३६० नामक खाना तथा सप्लिमेन्ट कम्पनीका मालिक हुन् । उनी खास स्वास्थ्य वा विज्ञान पृष्ठभूमिका होइनन् तर, आफूले लामो समयसम्म बाँच्नकै लागि अहिलेसम्म खाना, उपकरण लगायत वस्तुमा १ मिलियन डलर भन्दा बढी पैसा र करिब २ दशक समय खर्चिएको बताउँछन् । उनी यस प्रक्रियालाई ‘बायोह्याक’ भन्छन् ।

यसका लागि उनले दैनिक कैयौं विधि अपनाउनुपर्ने हुन्छ । जसमा दिनकै १५० वटा सम्म सप्लिमेन्टको सेवन पनि पर्दछ ।

स्वास्थ्य क्षेत्रमा दख्खल राख्ने व्यक्तिहरुले उनको यो प्रयोगलाई अवैज्ञानिक र स्वास्थ्यलाई हानी पु-याउने किसिमको सम्म भनेका छन् ।
अस्प्रे भने आफूले धेरै स्वास्थ्य विज्ञ, अनुसन्धानकर्ताहरुको सल्लाहसुझाव लिएपछि मात्रै यस्तो अभ्यास गरिरहेको दाबी गर्छन् ।
हालै उनले आफ्नो शरीरको बोन म्यारोबाट स्टेम सेल निकालेर त्यसलाई पुनः ट्रान्सप्लान्ट गराएका छन् ।

अस्प्रेका अनुसार उनले पालना गर्ने सबैभन्दा महत्वपूर्ण दुई सूत्र भने अत्यन्तै सरल र जोसुकैले तुरुन्तै पालना गर्नसक्ने किसिमका छन् । तिनका लागि अतिरिक्त उपकरण वा सामाग्रीको आवश्यकता पर्दैन ।

गहिरो निन्द्रा

अस्प्रेका अनुसार उनी चिकित्सकीय सिफारिस बमोजिम दिनको ७ देखि ९ घण्टा सुत्दैनन् । ६ घण्टा १० मिनेट मात्रै सुत्ने गर्छन् । ‘हामी कति समय सुत्छौं भन्दा पनि कसरी सुत्छौं’ भन्ने कुराले महत्व राख्ने उनको भनाइ छ ।

-यापिड आइ मुभमेन्ट अर्थात् आरइएम भन्ने निन्द्राको एउटा चरण हो । अस्प्रेका अनुसार हामी आफ्नो निन्द्रको दौरान त्यस चरणमा कति समयसम्म रह्यौं भन्ने कुराले छिटै पाको हुने÷नहुने कुरामा ठूलो भूमिका खेलिरहेको हुन्छ ।

एक अध्ययन अनुसार जति अँध्यारो भयो उति गहिरो निन्द्रा लाग्ने हुनाले उनी आरइएमको अवधि बढाउनका लागि सुत्ने वेला आफ्नो कोठा निष्पट्ट अँध्यारो बनाउँछन् । मोबाइल फोनबाट उत्पन्न हुने इलेक्ट्रोम्याग्नेटिक रेडिएसन कम गर्नका लागि उनी फोनलाई एयरोप्लेन मोडमा राख्ने गर्दछन् । नीलो उज्यालो रोक्ने ‘ब्लू ब्लकर’ चस्मा लगाउँछन् । ‘अरा रिङ डिभाइस’ नामक उपकरणको प्रयोगले आफ्नो निन्द्राको निगरानी गर्छन् । सोनिक स्लीप कोच नामक एपको सहायताले सास फेराइको आधारमा आफ्नो निन्द्राको गहिराइ मापन गर्छन् ।

इन्टरमिटेन्ट फास्टिङ

आजभोलि इन्टरमिटेन्ट फास्टिङको अवधारणा निकै लोकप्रिय बनेको छ । यस अवधारणा अनुसार दिनको ८ घण्टासम्म सामान्य खान्की खाइन्छ र बाँकी १६ घण्टा पानी, कफी, साधा चिया वाहेक अरु केही सेवन गरिँदैन । यस विधिबाट ज्यान घटाउनुका साथै मुटु रोग, क्यान्सर लगायत रोगहरुको जोखिम कम हुनुका साथै आयू पनि बढाउन सकिन्छ ।

वर्त बस्नाले शरीरको मृत कोषिकाहरु बाहिरिएर नयाँ र स्वस्थ कोषहरु निर्माण हुने अवसर पाउँछ ।

अस्प्रेले पनि इन्टरमिटेन्ट फास्टिङको नियम पालना गर्ने गरेका छन् । उनी बिहान ब्रेकफास्ट नखाइ सिधै लन्च र डिनर मात्रै गर्ने गर्छन् । उनका खानेकुरामा अन्न, कोषा, चिनी समावेश हुँदैन । एभोकाडो, सागसब्जी, बोसोरहित मासु आदि मात्रै सेवन गर्दछन् ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?