कोभिडले पुर्याएको क्षति पूर्ति गर्ने गरी निर्माण हुँदै मध्यपहाडी राजमार्ग

RSS
0
Shares

काठमाडौं । गत वर्ष कोभिड–१९ का कारण निर्माणमा अवरोध पुगे पनि चालु आर्थिक वर्षमा मध्यपहाडी राजमार्गका विभिन्न खण्डमा निर्माण अघि बढाइएको छ । विसं २०७९/८० सम्ममा राजमार्ग सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।

गत वर्षको क्षतिसमेत पूर्ति गर्ने गरी निर्माणको काम अघि बढाइएको निर्देशनालयका सूचना अधिकारी प्रकृति पाण्डेले बताए । उनका अनुसार गत आवमा लिइएको लक्ष्यभन्दा एकतिहाइ मात्रै सडक निर्माण गर्न सकिएको थियो । चालु आवमा अहिलेसम्म अवरोध नभएकाले निर्माणको काम अघि बढिरहेको छ । उनले भने, “सबै कुरा अनुकूल हुँदा काम भइरहेको छ ।”

गत आवमा ३०० किमी सडक कालोपत्रको लक्ष्य रहेकामा चालु आवमा पनि ३०० किमी नै लक्ष्य लिइएको छ । कोभिडका कारण गत वर्ष ११३ किमी सडक मात्रै कालोपत्र गर्न सकिएको निर्देशनालयले जनाएको छ । गत आवको बाँकी र चालु आवको गरी झण्डै ५०० किमी सडक कालोपत्र गर्नुपर्ने छ । त्यो पूरै नसकिए पनि त्यसको नजिक पुग्न सकिने पाण्डेले बताए ।

गत वर्षको अन्तिम चौमासिक अर्थात् काम गर्ने समयमा नै कोभिडको रोकथामका लागि सरकारले बन्दाबन्दी गरेकाले निर्माण ठप्प थियो । असारपछि अरु विभिन्न क्षेत्र जसरी निर्माण सञ्चालन गर्ने निर्णय गरिए पनि स्थानीय तह र स्थानीयवासीको अवरोध त कतै निर्माण सामग्री र जनशक्तिको अभावमा निर्माण सुस्त थियो । देशभरमा सक्रिय सङ्क्रमित कम भएसँगै अहिले निर्माणका लागि वातावरण बनिरहेको छ ।

राजमार्ग निर्माण गर्ने स्थान (एलानमेन्ट) रहेका क्षेत्रका विभिन्न स्थानमा सरकारले नै जलाशययुक्त आयोजनासमेत निर्माणको योजना बनाएको छ । सुनकोशी र बूढीगण्डकीमा निर्माण हुनलागेका जलाशययुक्त आयोजनाको अहिले अध्ययन भइरहेको छ । दुवै आयोजनाले राजमार्ग निर्माणलाई प्रभावित पार्नसक्ने देखिएको सूचना अधिकारी पाण्डेले बताए । ती आयोजनामा खोलाबाट निश्चित उचाइसम्म निर्माणका काम गर्न नमिल्ने भए पनि अहिले सडक त्योभन्दा कम उचाइमा रहेको छ । राष्ट्रिय गौरवको आयोजना त्यसमा पनि सडकको काम भइसकेकाले पछि निर्माण हुन लागेका आयोजनाले त्यसमा ध्यान दिनुपर्ने आयोजनाले बताउँदै आएको छ ।

सो स्थानमै सडक निर्माण गर्ने कि अन्यत्रबाट गर्ने भनी छलफल भइरहेको निर्देशनालयले जनाएको छ । अहिलेसम्म कसरी अघि बढ्ने भनी निर्णय भएर छलफलको क्रममा रहेको सूचना अधिकारी पाण्डेले बताए । त्यो आयोजना बन्दासम्म यही सडकले प्रतिफल दिने भए सोही स्थानमा अहिले सडक निर्माण गर्ने कि भन्ने छलफल भइरहेको उनले जानकारी दिए ।

देशभरका अरु विभिन्न राष्ट्रिय राजमार्गमा जस्तै यस राजमार्गमा पनि सडकको अधिकार क्षेत्र विवाद छ । राजमार्गको अधिकार क्षेत्र २५/२५ मिटर हुने भए पनि पहाडी क्षेत्रमा त्यो कायम हुन सकिरहेको छैन । दुईतर्फी गाडी गुड्न सक्ने गरी सडक निर्माण अघि बढाइएको सूचना अधिकारी पाण्डेले बताए । उनले भने, “१० देखि १२ मिटरसम्म चौडाइमा काम भइरहेको छ ।”

राजमार्ग विभिन्न खण्डमा वन क्षेत्रबाट समेत अघि बढ्छ । वन क्षेत्रमा निर्माणका लागि प्रक्रियागत झन्झट हुँदा निर्माणमा ढिलाइ हुने गरेको उनले बताए । सो राजमार्गमा १३९ पुल निर्माण गर्नुपर्नेमा अहिलेसम्म ८३ पुल सम्पन्न भइसकेको छ ।

एक हजार ८७९ किलोमिटर लम्बाइको यस राजमार्ग निर्माणमा पहिले पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई कार्यालयबाट निर्माण भइरहेको थियो । आयोजना चाँडो सक्न मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय र निर्देशनालयअन्तर्गत पाँचवटा कार्यालय बनाएर कार्यान्वनमा ल्याइएको हो । सबै कार्यालयले मातहत हेर्ने सडक, पुल छुट्याएर काम गरिरहेका छन् । योजना कार्यालयहरु पाँचथर, काभ्रे, गोरखा, पर्वत र दैलेखमा छन् । राष्ट्रिय यातायात नीति, २०५८ मा पूर्व–पश्चिम राजमार्गको विकल्पको रूपमा नेपालको मध्यपहाडी हुँदै पूर्वबाट पश्चिमसम्म सडक निर्माण गर्ने उल्लेख गरिएको थियो । सोहीबमोजिम सरकारले मध्यपहाडी राजमार्ग नामकरण गरी २०६४र६५ बाट आयोजना शुरु गरेको हो । गत वर्ष मन्त्रिपरिषद् बैठकको निर्णयबाट राजमार्गको रेखाङ्कन स्वीकृत भएसँगै निर्माण अघि बढेको हो ।

मध्यपहाडका २६ जिल्लाका २१५ बस्ती जोड्दै निर्माण हुने यस सडकबाट मध्यपहाडमा बसोबास गर्ने करिब एक करोड जनता लाभान्वित हुने आयोजनाको अनुमान छ । आयोजनाको शुरु विन्दु पाँचथर जिल्लाको चियोभञ्ज्याङ हो भने अन्तिम विन्दु बैतडीको झुलाघाट रहेको छ ।

सरकारले आव २०६९/७० मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथकिताका साथ अघि बढाएको छ । आव २०६४/६५ बाट निर्माण शुरु गरिएको मध्यपहाडी लोकमार्ग अबको दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस राजमार्र्गको कूल लम्बाइमध्ये करिब एक हजार किमी आयोजना स्थापना हुनुअघि नै निर्माण भएर सञ्चालनमा रहेको पुरानो सडक रहेको छ । झण्डै ८७९ किमी नयाँ ट्र्याक खोली सडक निर्माण गर्नेसँगै आयोजना स्थापना हुनुअघि निर्माण भएर सञ्चालनमा रहेका सडकलाई मध्यपहाडी राजमार्गको स्तरमा स्तरोन्नतिको काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?