माइतीघरमा युवाहरूको आक्रोश- ‘भागरथीलाई न्याय दे, बलात्कारीलाई फाँसी दे’ (भिडियो)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार नगरपालिका–७ की १७ वर्षीया भागरथी भट्टलाई न्यायको माग गर्दै माइतीघर मण्डलामा सोमवार साँझ दीप प्रज्वलन गरिएको छ । युवाहरुको समूहले भागरथीलाई न्याय दे, बलात्कारीलाई फाँसी दे भन्दै नाराबाजी गरेका हुन् ।

भागरथीको स्कूलबाट करिब ३ किलोमिटरको जंगलमा उनको बलात्कारपछि घाँटी थिचेर हत्या भएको घटनाको ५ दिन बितेतापनि प्रहरीले अपराधी पक्रन सकेको छैन । यद्यपी प्राप्त ‘क्लू’ र सबुत प्रमाणको पुष्टि गर्ने क्रममा रहेकोले चाँडै अपराधी पत्ता लाग्ने प्रहरीको भनाइ छ ।

भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टम रिपोर्टमा भट्टको शंकास्पद मृत्युको कारण बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि भएको हो । पोस्टमार्टम रिपोर्टमा उनको बलात्कार र घाँटीमा निमोठेको दाग तथा चोटहरु देखिएको छ ।

टाउकोमा चोट, च्यातिएको कपडा, योनीबाट रगत बगेको, शरीरमा कोपरेको डाम रहेको अवस्थामा फेला परेकी भट्टको जंगलमा भेटिएको शव नजिकै फेला परेको मोबाइलमा घटनाको दिन भारतीय सिमकार्ड प्रयोग गरेको प्रहरीले पत्ता लगाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले दिएको जानकारी अनुसार उनका दाइले भारत बसेर फर्कँदा ल्याएको र उनले प्रयोग गर्दै आएको नेपाली सिमकार्ड फेला परेको हो ।

गत बुधवार सनातन धर्म उच्च माविमा कक्षा १२ मा अध्यनरत १७ वर्षीया भागरथी स्कूल गएकी थिइन् । स्कूलबाट फर्कने क्रममा आमा घरमा एक्लै रहेको भन्दै उनी साथीहरुबाट छुट्टिएर छिटो घरतर्फ हिँडेको उनका साथीहरुले प्रहरीसँगको बयानमा भनेका छन् ।

बलात्कार पछि हत्या भएको निष्कर्ष निकालेको प्रहरीले भागरथीको हत्यामा संलग्न आरोपीहरु अहिलेसम्म पक्राउ परेका छैनन् । यस विषयमा सूक्ष्म रुपमा अनुसन्धान जारी छ । उनको शव भेटिएको स्थानको अध्ययन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमकुमार सुवेदी घटनास्थल गएका छन् ।

किशोरीको हत्याको विरोधमा बैतडीमा शैक्षिक हड्ताल गरिएको छ । विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको भए पनि शान्तिपूर्ण रुपमा पठनपाठनको वातावरण बन्न नसकेको भन्दै शिक्षकहरु आक्रोशित बनेका छन् ।

मृतकका आफन्तले जिल्ला अस्पतालमा रहेको किशोरीको शव बुझ्न मानेका छैनन् । घटनाको सत्यतथ्य छानबिन गरी वास्तविक दोषीलाई गिरफ्तार गरी हदैसम्मको कारवाही गर्न माग गर्दै शव नबुझेको भागरथीका काका शिवराज भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?