२०७७, २७ माघ मंगलवार १०:२३

प्रविधिको बढ्दो प्रयोगसँगै दिनानुदिन असुरक्षित बन्दैछ इन्टरनेट सेवा, कसरी जोगिने साइबर आक्रमणबाट ?

इन्टरनेट कट अफ देखि व्यक्तिगत जानकारीको चुहावटसम्म


प्रकाशित मिति : २०७७, २७ माघ मंगलवार १०:२३

काठमाडौं । गत माघ १९ गते सोमवार म्यानमारको सेनाले देशमा सैन्य कू लागू ग-यो ।

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सू की लगायत शीर्ष नेताहरुलाई नियन्त्रणमा लिँदै सेनाले सत्ता आफ्नो हातमा लिएर देशमा आपतकालीन व्यवस्था घोषणा ग-यो । घोषणासँगै देशका मूख्य शहरहरुमा इन्टरनेट सेवा र केही फोन सेवाहरु बन्द गरियो । सूचनाको हकमाथि ठाडो हमला भयो ।

हालै म्यानमारमा भएको यो घटना ‘इन्टरनेट कट अफ’को उदाहरण हो ।

के हो इन्टरनेट कट अफ ?

इन्टरनेट कट अफ अर्थात् सम्बन्धित निकायको निर्देशनअनुरुप निश्चित भूगोलमा निश्चित समयसम्म इन्टरनेट बन्द गरिने अवस्था । यस विषयलाई लिएर विभिन्न देशका छुट्टाछुट्टै नियम हुन्छन् । भारतको कानूनअनुसार सरकारले टेलिकमलाई कुनै विशेष अवस्थामा जनताको हितका निमित्त भन्दै इन्टरनेट बन्द गर्ने निर्देशन दिन पाउने प्रावधान छ ।

अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउनलाई विभिन्न राष्ट्रले समयसमयमा देशभरिको इन्टरनेट निष्क्रिय गरेको घटनाहरु थुप्रै छन् । विशेष गरी देशमा कुनै ठूलो घटना भएमा, जनताहरुले कुनै विषयमा व्यापक असहमति जनाएको खण्डमा वा विरोध भइरहेको वेला सरकारले यस्तो कदम चाल्ने गरेको विगतका घटनाहरुले बताउँछ । यो अभ्यास विश्वभरि नै सामान्य हुँदै गइरहेको छ ।

विश्वकै ठूलो प्रजातन्त्र भारत लगाउँछ अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश !

‘म असामका भाइबहिनीलाई के भन्न चाहन्छु भने नागरिकता संशोधन विधेयकपछि उहाँहरुले कुनै चिन्ता लिनुपर्दैन । म उहाँहरुलाई के आश्वासन दिन चाहान्छु भने उहाँहरुको अधिकार, पृथक पहिचान र सुन्दर संस्कृतिलाई कसैले आँच पु¥याउने छैन । बरु अझै फस्टाउँदै जानेछ ।’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १२ डिसेम्बर, सन् २०१९ मा आफ्नो ट्वीटरमा यस्तो ट्वीट गरे । ताजुबको कुरा त के भने त्यस वेला असाम, भारतको पश्चिम बंगालका केही स्थान तथा अन्य केही क्षेत्रमा इन्टरनेट नै चलेको थिएन । नागरिकता संशोधन विधेयकको चौतर्फी विरोध भइरहँदा सरकारकै निर्देशन अनुरुप केही ठाउँमा ‘इन्टरनेट कट अफ’ गरिएको थियो ।

यस्तो अवस्थामा उनको यो ट्वीट सम्बन्धित जनतासम्म पुग्यो त ? आफै इन्टरनेट कट अफको निर्देशन दिएर मोदीले किन जनतालाई सामाजिक सञ्जालमार्फत् सम्बोधन गरे ? यस्ता प्रश्नहरु खडा भए ।

सन् २०१४ मा निर्वाचनताका इन्टरनेटलाई आफ्नो चुनाव योजनाको मुख्य एजेण्डा बताउँदै जनतालाई ‘डिजिटल भारत’को सपना देखाएर प्रधानमन्त्री बनेका मोदीको यस्तो विरोधाभासपूर्ण कदमको चर्को आलोचना भयो ।

जनसङ्ख्याको हिसाबले भारत विश्वमै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक हो । तर, प्रजातन्त्रको मूल्यमान्यताको ठिक विपरित यहाँ नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाइन्छ । विश्वमै सर्वाधिक इन्टरनेट कट अफ हुनु पनि यसैको एउटा उदाहरण हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफै पनि सामाजिक सञ्जालमा निकै सक्रिय छन् । फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जालमा उनका पोस्टहरुमा निकै चर्चा परिचर्चा हुने गरेको छ । कहिलेकाहीँ आफ्नै पोस्टले उनलाई विवादमा पनि तान्ने गरेको छ । तर, उनी सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्ति राख्न पछि हट्दैनन् ।

अभिव्यक्ति स्वतन्त्रतालाई खुब प्रयोग गर्ने मोदी आफ्ना जनतालाई भने यो हकबाट कहिलेकाहीँ वञ्चित गर्छन् । मोदीको नेतृत्व छँदै गर्दा भारतमा सर्वाधिक इन्टरनेट ‘कट अफ’ हुनुले पनि यो कुराको पुष्टि गरेको हो । भारतको सफ्टवेयर फ्रिडम ल सेन्टर (एसएफएलसी) नामक डिजिटल स्वतन्त्रताको वकालत गर्दै आएको कानूनी संस्थाको रिपोर्टले जनाएको छ कि भारत विश्वमै सर्वाधिक इन्टरनेट ‘कट अफ’ गर्ने अर्थात् इन्टरनेट बन्द गर्ने राष्ट्र हो ।

इन्टरनेट सट डाउन ट्«याकर अर्थात् इन्टरनेट बन्द भएको रेकर्ड राख्ने पोर्टलका अनुसार भारतमा सन् २०१८ मा १ सय ३४ पटक र सन् २०१९ मा ९५ पटकसम्म इन्टरनेट कट अफ भएको छ । यस सङ्ख्यामा स्थानीय, राज्य तथा केन्द्रिय सरकारले लागू गरेका इन्टरनेट निषेधका घटनाहरु पर्दछन् ।

सन् २०१९ अगस्ट ४ मा भारत अन्तर्गत रहेको जम्मु–कश्मीरमा लागू गरिएको इन्टरनेट कट अफ अहिलेसम्मकै सबैभन्दा लामो कट अफ भएको जनाइएको छ । सन् २०२० को जनवरी १० मा भारतको सर्वोच्च अदालतले यस विषयमा एकपटक पुनः समीक्षा गर्नलाई भारतीय सरकारलाई निर्देशनसमेत दिएको थियो । ५ महिनाभन्दा बढी समयसम्म त्यहाँका मानिस मोबाइल फोन, इन्टरनेट लगायत सञ्चार माध्यमदेखि वञ्चित रहनुप¥यो ।

भारतलाई पछ्याउँदै पाकिस्तान…

फर्ब्स म्यागेजिनमा प्रकाशित एक समाचार अनुसार सन् २०१६ को जनवरीदेखि सन् २०१८ को मेसम्ममा भारतमा १ सय ५४ पटक इन्टरनेट बन्द गरियो । त्यस्तै भारतलाई पछ्याउँदै पाकिस्तानले यही दौरान १९ पटक इन्टरनेट कट अफ गरेको तथ्याङ्क छ । यही समयावधिमा इराक र सिरियामा ८-८ पटक इन्टरनेट ‘सट डाउन’ गरियो ।

तथ्याङ्कले प्राय द्वन्द्वग्रसित राष्ट्रहरुमा इन्टरनेट कट अफका घटना बढी भएको देखाउँछ । भारत र पाकिस्तानबीच सीमा विवाद भइरहेका कारण पनि यी मूलुकमा इन्टरनेट कट अफका घटना भइरहेका हुन् ।

सन् २०१९ मा इन्टरनेट कट अफका कारण विश्वलाई ८ बिलियन डलर्सको घाटा

प्रविधिको तीव्र विकाससँगै विश्वका कतिपय उद्योग व्यवसाय इन्टरनेटमै आधारित छन् भने त्यसवाहेकका व्यवसाय पनि इन्टरनेटको सहायतामै चल्ने गरेका छन् । यस्तो अवस्थामा इन्टरनेट कट अफले विश्व आर्थिक बजारलाई नै प्रभाव पार्दछ ।

इन्टरनेटको अनुसन्धान गर्ने फर्म टप टेन भिपिएनद्वारा प्रकाशित एक रिपोर्टका अनुसार सन् २०१९ मा विश्वभरि भएका इन्टरनेट सट डाउनका कारण विश्व आर्थिक बजारले ८ बिलियन डलर्स मूल्य चुकाउनु प-यो । यो अनुसन्धान वर्ल्ड बैंक, टेलिकम्युनिकेसन युनियन, यूरो स्टाट र यूएस सेन्सस ब्युरोको सूचकमा आधारित थियो ।

अनुसन्धानका अनुसार सन् २०१९ मा विश्वमा १८ हजार २ सय २५ घण्टा इन्टरनेट बन्द भयो । जसको ९ हजार ६ सय ७७ घण्टा एसियाली मुलुकमा भएको तथ्याङ्क छ ।

कतिको सुरक्षित छ इन्टरनेट ?

आजभोलि इन्टरनेट अत्यन्तै असुरक्षित स्थल बनेको प्रयोगकर्ताहरुको गुनासो छ । आफ्ना जिज्ञासा सुल्झाउन, नयाँ नयाँ कुराहरु खोज्न, साथीसँग च्याट गर्न, इन्टरनेटमा उपलब्ध गेम खेल्न, व्यक्तिगत तस्वीर, भिडियो आदि पठाउन पनि दोहो-याएर सोच्नुपर्ने अवस्था छ ।

इन्टरनेटमा बेपर्वाह भइ गरिने यस्ता क्रियाकलापमार्फत् हाम्रा व्यक्तिगत जानकारीहरुको सहजै चुहावट भइरहेको हुन्छ । एकपटक इन्टरनेटमा गएपछि कुनै कुरा गोप्य रहला भन्ने नसोचे पनि हुन्छ । यही कुराले प्रयोगकर्ताहरु यति तनावमा परेका छन् कि धेरैजसोले गूगल र फेसबुक प्रयोग गर्नै छाडेका छन् । बरु त्यसको सट्टा अन्य साना, कम लोकप्रिय तर, गोपनियता कायम गर्ने किसिमका सर्च इन्जिन र सामाजिक सञ्जालको प्रयोग गर्न थालेका छन् ।

सबैथोक सजिलो र निःशुल्क भएजस्तो भ्रममा पारेर प्रयोगकर्ताहरुको तथ्याङ्क र गोपनियताको दुरुपयोग गर्ने आरोप इन्टरनेटलाई लागेको छ ।

प्रत्येक प्रयोगकर्ताले अहिलेसम्म खोजेको हरेक कुराको विवरण गूगलसँग हुनु भनेको व्यक्तिको रुचि, कमजोरी, शक्ति लगायत उसका नितान्त व्यक्तिगत कुरा गूगललाई थाहा हुनु हो । त्यस्तै, फेसबुकलाई पनि आफ्ना प्रयोगकर्ताहरुका साथीभाइ, मनपर्ने÷मन नपर्ने वस्तु लगायत उनीहरुको च्याटका बारेमा समेत थाहा हुन्छ ।

वेलावेला चर्चामा आइरहने ‘अनलाइन डाटा स्क्यान्डल’ले पनि सूचनाको कति शक्ति हुन्छ भन्ने कुरा पुष्टि गर्दै आएको छ ।

फेसबुकले प्रयोगकर्ताहरुको सूचना दुरुपयोग गरेकै कारण ५ बिलियन डलर्स जरिवाना तिर्नु परेको छ । उपभोक्ताको गोपनियता उल्लङ्घन गरेको आरोपमा लगाइएको अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना हो यो ।

अमेरिकामा अघिल्लो वर्ष गरिएको एक अनुसन्धान अनुसार हरेक ५ उत्तरदातामध्ये ३ जनाले सामाजिक सञ्जालले आफ्नो गोपनियतालाई सुरक्षित नराखेको प्रतिक्रिया दिएका थिए । यही अविश्वसनियतालाई कसैले भने अवसरका रुपमा लिइरहेका छन् ।

के यस्तो ‘सर्च इन्जिन’को माग भइरहेको छ जसले तथ्याङ्क भण्डारन नगरोस् ?

जसोजसो मानिस इन्टरनेटको असुरक्षित जालोबाट उम्किन कोसिस गरिरहेको छ उसैगरी प्रभावकारी नतिजा र कम स्प्याम अर्थात् थोरै ‘विद्युतीय फोहोर’ उत्पादन गर्ने किसिमका सर्च इन्जिन तथा सामाजिक सञ्जालहरुको माग पनि बढिरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस