जनप्रतिनिधिको घरमा प्रेमिका मृत भेटिइन्

लोकपथ
0
Shares

धनगढी- टेक सिँह धामी । कैलालीको गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीको घरमा उनकी प्रेमिका मृत अवस्थामा भेटिएकी छन् । गौरीगंगा–३ का चौधरीको घरमा २२ वर्षीया अञ्जिता चौधरी झुण्डिएको अवस्थामा भेटिएको कैलालीका एसपी अनुपम शमशेर जबराले बताए ।

चौधरीले आत्महत्या गरेको प्रहरीले आशंका गरेको छ । यद्यपि, पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहे पनि चौधरीले अर्की युवतीसँग विहे गरेपछि विवाद भएको थियो । अञ्जिताको परिवारले उनलाई वडा सदस्यको घरमा शनिवार छाडेको थियो । दुवै पक्षसँग छलफलपछि उनलाई पत्नी बनाएर राख्न वडा सदस्यले स्वीकारेको प्रहरीले भनेको छ ।

तर, आइतवार बिहान झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो । हालसम्म सुसाइड नोट वा अन्य केही पनि सुराक नभेटिएको प्रहरीले जनाएको छ । अन्य पाटोबाट पनि अनुसन्धान भइरहेको एसपी जबराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?