२०७७, १० फाल्गुन सोमवार १०:०३

नेपाली आकाशको उडान किन अझै असुरक्षित ठहर ? कहिले हट्छ कालोसूचीबाट ?


प्रकाशित मिति : २०७७, १० फाल्गुन सोमवार १०:०३

काठमाडौं । नेपालको सडक मात्र होइन आकाश पनि असुरक्षित छ । जसकारण समय बचत र सहजताको हिसाबले हवाइ यात्रा उपयुक्त भएतापनि हवाइ जहाजमा यात्रा गर्नुअघि अझै पनि यात्रुहरु केही हच्किन्छन् । अत्यावश्यक अवस्थावाहेक हवाइ यात्रा नगर्ने धेरै छन् । आर्थिक हिसाबले पनि आपत् नपरी हत्तपत्त हवाइ जहाज नै नचढ्ने जमात ठूलो छ ।

यसैपनि सडक भन्दा बढी जोखिमपूर्ण हुने हवाइ यात्रामा सुरक्षाको ग्यारेन्टी नभएपछि उडानसँग ‘फोबिया’ हुनु स्वभाविक पनि हो ।
हरेक वर्ष हुने हवाइ दुर्घटना र त्यसको हृदयविदारक दृश्यको साक्षी रहेका नेपालीहरुले बरु विदेशी वायू सेवालाई सहजै विश्वास गर्लान् तर, आफ्नै देशका विमान र आफ्नै आकाशमा निश्फिक्री उडान भर्नलाई दोहो-याएर सोच्नुपर्ने अवस्था छ ।

विश्वमै बदनाम नेपालको आकाश…

नेपाली आकाशलाई अन्य राष्ट्रहरुले पनि असुरक्षित ठहर गरेका छन् ।

यूरोपियन यूनियनले नेपालको हवाइ सुरक्षा अवस्था सन्तोषजनक नभएको भन्दै नेपाली वायु सेवालाई कालो सूचीमा राखेको छ ।
सन् २०१३ देखि यता यूरोपियन यूनियन एभिएसन सेक्युरिटी काउन्सिलले नेपाली आकाश हवाइ उडानका लागि असुरक्षित रहेको भन्दै कालोसूचीमा राख्दै आएको छ ।

हवाई सुरक्षा, दुर्घटनापछिको उद्दारलगायतका विभिन्न ८ वटा विधाको अध्ययनपछि काउन्सिलले यो सूची तयार पार्दछ । यही कारणले यूरोपका राष्ट्रहरुले नेपाली विमानलाई आफ्नो आकाशमा उड्न समेत प्रतिबन्ध लगाएका छन् ।

यता, इन्टरनेशनल सिभिल एभिएसन अर्गनाइजेशन(आइकाओ)को सन् २०१७ को अडिट रिपोर्ट अनुसार नेपाल ८ वटा अडिट क्षेत्रमध्ये चार वटामा पछाडि छ । नेपालले हवाई सेवा सम्बन्धी संगठन, दुर्घटनाको अनुसन्धान, लाइसेन्सिङ र एयर नेभिगेशन सर्भिस गरी चार विधामा विश्वको औसत भन्दा कम अंक प्राप्त गरेको छ ।

नेपालमा हवाइ यात्राको इतिहासः

नेपालमा पहिलो पटक जहाज अवतरण भएको ७ दशक भन्दा बढी भइसक्यो । सन् १९४८ मा बेलायती नागरिक एच वल्डरले पहिलो पटक काठमाडौंको गौचरणमा परीक्षणस्वरुप जहाज अवतरण गराएका थिए । त्यसपश्चात् अर्को वर्ष सन् १९४९ मा भारतीय राजदूत सवार बिचक्राफ्ट बोनान्जा अवतरित भयो ।

वि.सं २००७ (सन् १९५१) मा भारतको पटनाबाट इण्डियन नेशनल एयरवेजले काठमाडौंका लागि वाणिज्य उडान शुरु ग-यो । त्यसको सात वर्षपछि सन् १९५८ मा शाही नेपाल वायुसेवा निगम(आरएनएसी, हालको नेपाल वायु सेवा निगम) एनएसीको स्थापना भयो ।
नेपालको इतिहासमा सन् १९५५ को मार्चमा पहिलो पटक विमान दुर्घटना भएको थियो । अन्तर्राष्ट्रिय उडानको कालिंगा एयरको भीटी–एजेटएक्स डीसी–३ विमान बाराको सिमरामा दुर्घटना भएको थियो । दुर्घटनामा दुईजनाले ज्यान गुमाएका थिए भने एक जना घाइते भएका थिए ।

नेपाली आकाशमा भएको सबैभन्दा ठूलो जहाज दुर्घटना २०१२ मा भएको थियो । सिता एयरको डोर्नियर विमान मनोहरा खोलामा दुर्घटना हुँदा १९० जनाको मृत्यु भएको थियो ।

त्यसअघि सन् १९९२ मा भट्टेडाँडामा भएको दुर्घटना अर्को ठूलो दुर्घटना हो । पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) को जहाज दुर्घटना मा एक सय ५७ जनाले ज्यान गुमाएका थिए ।

नेपालमा हवाइ यात्राको जोखिमः

यही पुस ३ गते बुद्ध एयरको विमान चढेर जनकपुर हिँडेका यात्रुलाई गन्तव्यमा पुगेर ओर्लिंदा मात्र थाहा भयो आफूहरु पोखरा पुगेको कुरा । बुद्ध एयरको ६०७ नम्बर को उडान पोखराकै लागि तय गरिएको थियो तर, ग्राउन्ड ह्यान्डिलिङका कर्मचारीको लापरवाहीका कारण गलत विमानमा गलत यात्रुहरु पुगेका थिए ।

यस्ता घटनाहरु सामान्य जस्तो लागे पनि यिनै ससाना घटनाहरुमा गरिने लापरवाहीले ठूल्ठूला दुर्घटना निम्त्याउने विज्ञहरु बताउँछन् ।
विमानस्थलमा राखिएका विमानहरु एक आपसमा ठोक्किने, रनवेबाट चिप्लिने, पाङ्ग्रा खुस्किने, प्राविधिक गडबडीका कारण फ्लाइट ‘डिले’ हुने, कहिले एक ठाउँ जानुपर्ने यात्रुहरुलाई अर्कै ठाउँ पु-याउने आदिजस्ता घटनाहरुलाई नजरअन्दाज गर्नु नै नेपाली वायु सेवाहरुको सबैभन्दा ठूलो गल्ती भएको विज्ञको ठहर छ ।

‘नेपाल उड्डयन सुरक्षा योजना २०१८–२०२२’ का अनुसार नेपालको हवाइ यात्राका सुरक्षा चुनौतीहरु यस प्रकार छन्ः

उडानमा नियन्त्रण गुम्नु,

रनवेमा अनियन्त्रित भएर अत्याधिक कुद्नु,

रनवेमा अन्य वस्तुको उपस्थितिले आउने अवरोध,

अचानक अन्य विमानसँग ठोक्किन पुग्नु,

कन्ट्रोल्ड फ्लाइट इन्टू टेरान अर्थात् पाइलटको नियन्त्रणमा भइरहेको विमान अप्रत्यासित रुपमा जमिन, पहाड वा पानीमा ठोक्किन पुग्नु

जनावर/चराचुरुङ्गीसँग ठक्कर

स्रोतः नेपाल नागरिक उड्डयन प्राधिकरण

यिनै चुनौतीहरुका कारण नेपालमा अत्याधिक हवाइ दुर्घटना हुने गरेका छन् । प्राय पाइलटको त्रुटि, यान्त्रिक त्रुटि र मौसम गडबडीका कारण नेपालमा हवाइ दुर्घटना हुँदै आएको छ ।

यस्तो छ नेपालमा विमान दुर्घटनाको टाइमलाइनः

१९५५ – कालिंगा एयर (सिमरा एयरपोर्ट, २ को मृत्यु)
१९५६ – इण्डियन एयरलाईन्सको विमान (काठमाडौँ, १४ को मृत्यु)
१९५८ – इण्डियन एयरलाईन्सको विमान (टिकाभैरव, २० को मृत्यु)
१९६० – नेपाल एयरलाइन्सको विमान (भैरहवा, ४ को मृत्यु)
१९६२ – नेपाल एयरलाइन्सको विमान (ढोरपाटन, १० को मृत्यु)
१९६२ – नेपाल एयरलाइन्सको विमान (ढोरपाटन, ६ को मृत्यु)
१९६९ – नेपाल एयरलाइन्सको विमान (बतासेडाँडा, ३५ को मृत्यु)
१९७० – रोयल फ्लाइट (जोमसोम, १ को मृत्यु)
१९७२ – रोयल फ्लाइट (धुलिखेल, ३१ को मृत्यु)
१९७५ – नेपाल एयरलाइन्सको विमान (काठमाडौँ, बौद्ध, ५ को मृत्यु)
१९७६ – नेपाल एयरलाइन्सको विमान (मेघौली, ६ को मृत्यु)
१९७९ – भिभिआइपी (लाङलाङ, ६ को मृत्यु)
१९८१ – नेपाल एयरलाइन्सको विमान (विराटनगर, १० को मृत्यु)
१९८४ – नेपाल एयरलाइन्सको विमान (भोजपुर, १५ को मृत्यु)
१९८५ – सेनाको विमान (२५ को मृत्यु)
१९९२ – थाई एयरको विमान (घाङ्फेदी, ११३ को मृत्यु)
१९९२ – पिआइएको विमान (भट्टेडाँडा, १६७ को मृत्यु)
१९९५ – नेपाल एयरलाइन्सको विमान (काठमाडौँ, २ को मृत्यु)
१९९८ – ए.टि.एस.सी लुम्बिनी विमान (म्याग्दी, १८ को मृत्यु)
१९९८ – एसियन एयरको विमान (सोलुखुम्बु, ३ को मृत्यु)
१९९८ – एनएसीको विमान (सोलुखुम्बु, १ को मृत्यु)
१९९९ – नोकेन एयरको विमान (जुम्ला, ५ को मृत्यु)
१९९९ – लुफ्थासा एयरको विमान (भसुमासुर डाँडा, ५ को मृत्यु)
१९९९ – नोकेन एयरको विमान (रामकोट, १५ को मृत्यु)
१९९९ – स्काईलाईनको विमान (मकवानपुर, १० को मृत्यु)
२००१ – फिष्टेल एयरको विमान, (रारा ताल, ४ को मृत्यु)
२००२ – स्काईलाईनको विमान (सुर्खेत, ४ को मृत्यु)
२००२ – सांग्रीला एयरको विमान (कास्की, १८ को मृत्यु)
२००३ – सिम्रिक एयरको विमान (एभेरेष्ट बेशक्याम्प, २ को मृत्यु)
२००४ – यति एयरलाइन्सको विमान (लम्जुङ, ३ को मृत्यु)
२००५ – एयर डाइनेष्टिकको विमान (रामेछाप, ३ को मृत्यु)
२००६ – यती एयरलाइन्सको विमान (जुम्ला, ९ को मृत्यु)
२००६ – श्री एयरलाइन्सको विमान (ताप्लेजुङ्ग, २४ को मृत्यु)
२००८ – अनमिनको विमान (रामेछाप, १० को मृत्यु)
२००८ – यती एयरलाइन्सको विमान (लुक्ला, १९ को मृत्यु)
२०१० – अग्नी एयरको विमान (मकवानपुर, १४ को मृत्यु)
२०१० – तारा एयरको विमान (खोटाङ, २२ को मृत्यु)
२०११ – बुद्ध एयरको विमान (ललितपुर, १९ को मृत्यु)
२०११ – बुद्ध एयरको विमान (जोमसोम, १५ को मृत्यु)
२०१२ – सिता एयरको डोर्नियर विमान (मनोहरा खोला, १९० मृत्यु)
२०१४ – नेपाल वायु सेवा निगमको ट्विनअटर विमान (अर्घाखाँची, १८ को मृत्यु)
२०१६ – तारा एयरको विमान (सोलुघोप्टे, २३ को मृत्यु)

पछिल्ला ५ वर्षमा भएका विमान दुर्घटनाः

पछिल्ला ५ वर्षमा सङ्ख्याको आधारमा तुलनात्मक रुपमा धेरै विमान दुर्घटना नभएपनि दुर्घटनाको प्रकृति र त्यसले पु¥याएको क्षतिलाई आधार मान्ने हो भने देशलाई ठूलो धक्का पुग्यो ।

वि.सं २०७४ फागुन २८ गते ढाकाबाट काठमाडौँ आएको यूएस बङ्गला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । विमान दुर्घटना हुँदा ७१ जना यात्रुमध्ये विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको थियो भने बाँकी २० जना घाइते भएका थिए । मृत्यु हुनेमा २२ जना नेपाली, २८ जना बङ्गलादेशी र एक चिनियाँ नागरिक रहेका थिए ।

त्यस्तै, सारा देशलाई स्तब्ध बनाउने अर्को हवाइ दुर्घटना थियो वि.सं २०७५ फागुन १५ गतेको ।

सो घटनामा एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरा नजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सातै जनाको ज्यान गएको थियो । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि गएको मन्त्री सहितको टोली पाथिभरा दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी मन्त्री लगायत उड्ययन प्राधिकरणका निर्देशक ध्रुव भोछ्याभोया देखि उद्योगपति आङछिरिङ शेर्पासम्मका भिआइपीहरुको मृत्युले देश नै शोकाकुल बनेको थियो ।

यसका अतिरिक्त वि.सं २०७६ वैशाख गते सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एयरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा तीन जनाको मृत्यु भएको थियो ।

त्यसैगरी, वि.सं २०७५ भदौमा गोरखाबाट काठमाडौं आउँदै गरेको एल्टिट्युड एयरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त हुँदा एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस