काठमाडौं । ईलाममा छिमेकीको टाउकोमा खुकुरी प्रहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
छिमेकीको टाउकोमा खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा चुलाचुली गाउँपालिका-२ अर्ना खाडी बस्ने ८३ वर्षीय सरण बहादुर लिम्बुलाई शनिवार राति प्रहरीले पक्राउ गरेको छ ।
लिम्बु र उनकी बुहारी सुनिता लिम्बुबीच घरायसी विवाद भइरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीया निशा भन्ने फुलमाया परियारले सम्झाई बुझाई गर्ने क्रममा लिम्बुले फुलमायाको टाउकोमा खुकुरी प्रहार गरेका हुन् ।
घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले लिम्बुलाई खुकुरी सहित पक्राउ गरेको हो । घाइते फुलमायालाई लाईफ लाईन अस्पताल झापा हुँदै थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगरतर्फ पठाइएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।