काठमाडौं – नेपाल राष्ट्र बैंकले निष्काशन गर्दै आएको नागरिक बचतपत्र ११ अर्ब भन्दा बढी बिक्री भएको छ ।
राष्ट्र बैंकले २०५८ सालदेखि निष्काशन गर्दै आएको नागरिक बचतपत्र हालसम्म आइपुग्दा ११ अर्ब ८७ करोड रुपैयाँ बिक्री भइसकेको छ । राष्ट्र बैंकले २०५८ सालदेखि नागरिक बचतपत्रको निष्काशन गर्दै आएकोमा २०६३ पुष २० गते ४१ करोड ७९ लाख बराबरको नागरिक बचतपत्र निष्काशन गरेको थियो । यो बचतपत्र जति निष्काशन हुन्छ । त्यति नै बिक्री हुने गर्छ ।
२०५८ चैत ३० गते २१ करोड, २०५९ पुष १९मा ५ करोड, २०६० भदौ २४ गते ७ करोड ३० लाख २०६० मङ्सिर २२ गते १६ करोड ४८ लाख, २०६२ भदौ ३ गते २५ करोड रुपैयाँ नागरिक बचतपत्र निष्काशन भएको राष्ट्र बैंकले जनाएको छ । यी बचतपत्रहरुको ब्याजदर ६ देखि ८ प्रतिशतको बीचमा रहेको छ । तर राष्ट्र बैंकले पछिल्ला वर्षहरुमा निष्काशन गरेको यो बचतपत्रको ब्याजदर ९ प्रतिशत दिएको छ ।
राष्ट्र बैंकले २०५९ वैशाख २८ गते, २०७४ चैत २६ गते, २०७५ साउन २८ गते र २०७७ असार २९ गते निष्काशन गरेको यस बचतपत्रको ब्याजदर ९ प्रतिशत दिएको छ । सरकारलाई आन्तरिक ऋण उठाउने क्रममा राष्ट्र बैंकले नागरिक बचतपत्र निष्काशन गर्दै आएको छ । यस बचतपत्रको ब्याजदर प्रत्येक ६, ६ महिनामा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।
यो बचतपत्र माघ २७ गतेदेखि बिक्री खुला हुने राष्ट्र बैंकले जनाएको छ । २ अर्ब रुपैयाँ बराबरको ऋणपत्रको आवेदन फागुन १८ गतेसम्म दिइसक्नु पर्नेछ । यो ५ वर्षे अवधिको बचतपत्र कम्तीमा १० हजार रुपैयाँ बराबरको खरिद गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकका अनुसार ५ वर्षपछि साँवा भुक्तानी गरिनेछ ।
यो बचतपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण समेत लिन सकिने व्यवस्था छ । यो बचतपत्रमा नेपाली नागरिकहरुले मात्रै लगानी गर्न पाउँछन् । चालू आर्थिक वर्ष सरकारले २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदैछ । जसमध्ये २ अर्ब नागरिक बचतपत्र मार्फत् उठाउँदैछ ।
के हो नागरिक बचतपत्र ?
नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल निष्काशन भएका नागरिक बचतपत्र ५, १० र १२ वर्षे अवधिका रहेका छन् । सरकारले आवश्यकता अनुसार यो बचतपत्रको अवधि निर्धारण गर्दछ ।
उद्देश्य
अर्थतन्त्रमा छरिएर रहेको स-सानो बचत रकम परिचालन गर्न सर्वसाधारण नेपाली नागरिकहरूलाई उचित प्रतिफल सहितको सुरक्षित लगानी गर्ने अवसर प्रदान गरी देश विकासको निमित्त वित्तीय साधन जुटाउनु यस बचतपत्रको मुख्य उद्देश्य हो ।
निष्काशन प्रक्रिया
नागरिक बचतपत्र तोकिएको अवधिभित्र ओभर द काउन्टर प्रक्रियाबाट निष्काशन गरिन्छ । बिक्री खुल्ला, बन्द र निष्काशन मिति
नागरिक बचतपत्रको बिक्री खुल्ला, बिक्री बन्द र निष्काशन खुल्ला बजार सञ्चालन समितिले तोकिदिएको मितिमा गर्ने गरिन्छ । सो सम्बन्धी जानकारी पत्रपत्रिका तथा वेबसाइटमा प्रकाशित गरिन्छ ।
अवधि र कुपन (ब्याज) दर
नागरिक बचतपत्रको अवधि र यसमा पाउने निश्चित ब्याजदर सरकारले तोकिदिए बमोजिम हुने गर्दछ ।
खरिदकर्ता
नागरिक बचतपत्र सर्वसाधारण नेपाली नागरिकले मात्र खरिद गर्न सक्दछन् ।
खरिद गर्न सकिने रकम
घटीमा १० हजार रुपैयाँ र बढीमा कूल आह्वान रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा नागरिक बचतपत्र खरिद गर्नको लागि आवेदन दिन सकिन्छ ।
बिक्री प्रबन्धक
प्राथमिक निष्काशनको समयमा उपत्यका बाहिरका राष्ट्र बैंकका कार्यालय र बजार निर्माता बिक्री प्रबन्धक रहने व्यवस्था छ ।
आवेदन फाराम
प्राथमिक निष्काशनको समयमा आवेदन फारम राष्ट्र बैंकको वेबसाईटबाट डाउनलोड गरी वा उपत्यका बाहिरका राष्ट्र बैंकका कार्यालय वा बजार निर्माता मार्फत उपलब्ध हुन्छ ।
आवेदन फाराम र रकम पेश गर्ने स्थान
नागरिक बचतपत्र खरिद आवेदन फाराम र खरिद गर्न चाहेको रकम देशभरका बजार निर्माताका साथै राष्ट्र बैंकका उपत्यका बाहिरका कार्यालयमा पेश गर्न सकिन्छ ।
आवेदन साथ पेश गर्नुपर्ने कागजात
नागरिक बचतपत्र खरिद गर्नको लागि आवेदन साथ नागरिकताको प्रतिलिपि, नाबालकको नाममा खरिद गर्ने भए नाबालकको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि तथा तोकिए बमोजिमका अन्य कागजात पेश गर्नुपर्दछ ।
बाँडफाँड
आह्वान रकम भन्दा कम वा बराबर आवेदन परेमा माग अनुसार र आह्वान रकम भन्दा बढी रकमको लागि आवेदन प्राप्त हुन आएको अवस्थामा खुल्ला बजार सञ्चालन समितिको निर्णयानुसार बाँडफाँड गरिन्छ ।
दोस्रो बजार कारोबार
नागरिक बचतपत्रको दोस्रो बजार कारोबार देश भरका बजार निर्माताका साथै राष्ट्र बैंकका उपत्यका बाहिरका कार्यालयहरू मार्फत् गर्न सकिन्छ ।
ब्याज तथा साँवा भुक्तानी
नागरिक बचतपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिन्छ भने तोकिएको मितिमा साँवा भुक्तानी गरिन्छ ।
फाइदा
नागरिक बचतपत्रमा लगानी गर्दा ६/६ महिनामा ब्याज पाइने, चाहेको समयमा बिक्री गर्न वा धितो राखी कर्जा लिन सकिने, लगानी रकमको जोखिम नहुने र अप्रत्यक्ष रूपमा देश विकास कार्यमा संलग्न हुन पाइने भएकाले यस खालको बचतपत्र किन्दा फाइदा हुन्छ ।