पूर्वऊर्जामन्त्री पुनद्वारा जलविद्युत् आयोजनाको निरीक्षण

RSS
0
Shares

दमौली । पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको शनिवार निरीक्षण गरेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन दमौली आउनुभएका पुनले आयोजनाको निरीक्षण गर्दै हालसम्मको प्रगतिबारे चासो व्यक्त गरेका हुन् ।

आफ्नो कार्यकालमा तनहुँ जलविद्युत् आयोजनालाई प्राथमिकता दिएको बताउँदै पूर्वमन्त्री पुनले तोकिएकै समयमा आयोजनाको काम सम्पन्न गर्नेतर्फ ध्यान दिन आग्रह गरे । सो अवसरमा आयोजना प्रमुख अच्युत घिमिरेले पूर्वमन्त्री पुनलाई आयोजनाको हालसम्मको प्रगतिबारे जानकारी गराएका थिए । आयोजनाको प्याकेज दुईअन्तर्गत सिनो हाइड्रो कम्पनीले यतिबेला काम गरिरहेको छ । सिनो हाइड्रोले विद्युत्गृह, मुख्य प्रवेश सुरुङ, सर्ज ट्याङ्क जाने सुरुङ, बाँधस्थल जाने सुरुङ खन्ने कार्य जारी राखेको छ ।

प्याकेज दुईअन्तर्गत सिनोले क्याम्प, ब्याचिङ तथा क्रसिङ प्लाण्ट, ल्याब, क्लिनिक, स्टोर, उपकरणकक्ष आदि पूर्वाधारको स्थापना, केबल सुरुङ, विद्युत्गृहको पाइलट सुरुङ, पहुँच सडक खन्ने कार्य सम्पन्न गरेको छ । प्याकेज तीनअन्तर्गत प्रसारण लाइन निर्माणका लागि केइसी इन्टरनेशनलले काम गरिरहेको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत करिब एक अर्ब खर्च भएको छ । त्यस्तै प्याकेज तीनअन्तर्गत प्रसारण लाइन निर्माणका लागि तीन करोड खर्च भएको छ । आयोजनाले प्रसारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले त्यसको प्रक्रियालाई समेत अगाडि बढाइसकेको छ । टावर राख्नका लागि ५३ व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्ने भएको छ ।

प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनतर्फका वन क्षेत्रमा पर्ने रुखहरु कटान हुनेछन् । तनहुँतर्फ ३० हेक्टर वन क्षेत्रको रुख कटान गर्नुपर्ने र त्यसका लागि फाइल वन विभागमा पठाइएको छ । दमौलीबाट भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । चालु आर्थिक वर्षमा प्रसारण लाइनका लागि ३० टावर निर्माण गरिनेछ ।

आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृत्गृह निर्माण गरिनेछ । खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुक्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ । आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ । जाइकाले दोस्रो प्याकेजअन्तर्गतका कामका लागि  १८४ मिलियन डलर व्योहोर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?