नेपालको श्रीकट्टादेवी मन्दिरदेखि भारतीय बसभिट्टा नाकासम्मको सडकको उद्घाटन

RSS
0
Shares

काठमाडौँ– सर्लाहीको बलरा बजार हुँदै गडहियासम्म जोड्ने कालोपत्रे सडकको उद्घाटन भएको छ । नेपालको श्रीकट्टा देवीको मन्दिर छेउबाट भारतीय सीमावर्ती बजार बसभिट्टा नाका छेउसम्मको सडकको उद्घाटन गरिएकोे हो ।

नेपालका लागि भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत नितिश कुमार, सर्लाही क्षेत्र नं. ४ का निर्वाचित प्रतिनिधिसभाका सांसद डा अमरेशकुमार सिंहलगायतले संयुक्त रुपमा आज उद्घाटन गरेका हुन् । श्रीकट्टा देवीको मन्दिर नजिक ३३९.२ सीमा पिलर छेउमा बनाइएको स्तम्भको पर्दा उघारेर तथा रिवन काटेर कालोपत्रे सडकको उद्घाटन गरिएको हो ।

भारत सरकारको आर्थिक सहयोगमा डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले आह्वान गरेको टेण्डरअनुसार करिब ६ किलोमिटर सडकखण्ड कालोपत्रे सम्पन्न भएको हो । सडकमा ह्यूमपाइप हाल्ने र कल्भर्ट निर्माणको समेत काम भएको बताइएको छ ।

दुई प्याकेजमा कालोपत्रेको काम भएको थियो । पहिलो प्याकेजको रोशन कन्स्ट्रकशन कम्पनी लिमिटेड जनकपुरले रु तीन करोड एक लाख १५ हजार तथा दोस्रो प्याकेजको विवेक निर्माण सेवा सर्लाहीले रु एक करोड २३ लाख ६२ हजार ४८८ बोलपत्र सकारेर निर्माण सम्पन्न गरेको हो ।

कालोपत्रे गरिएको भारत नेपाल सिमा जोडने सडकले दैनिक यात्रा गर्ने यात्रुहरुको आवागमन सहज गर्ने आशा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?