नारायणहिटी अगाडि ओलीको आमसभाको सन्देश

RSS
0
Shares

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रवार काठमाडौँमा जनसभा आयोजना गरी ताजा जनादेशका लागि निर्वाचनको तयारीमा जुट्न सन्देश दिएको छ ।

सभामा शीर्ष नेताले अब निर्वाचनले मुलुकको फैसला गर्ने भन्दै मुलुक निर्वाचनउन्मुख भएको बताएका छन् । नेकपाको बागमती प्रदेश कमिटीले नारायणहिटी दरबार सङ्ग्रहालयको अगाडिको सडकमा आयोजना गरेको सभामा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका सचिवालय सदस्यद्वय उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापालगायत नेताले मुलुकको समृद्धि र स्थायित्वका लागि ताजा जनादेशको विकल्प नभएकाले मुलुक निर्वाचनमा होमिएको बताएका हुन् ।

सभामा सहभागी हुन यस प्रदेशका १३ जिल्लाका साथै देशभरिबाट नेकपाका नेता कार्यकर्ता आएका थिए । गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले निर्वाचनको विरोधमा कार्यक्रम गर्दै आएकामा शुक्रबार नेकपाले निर्वाचनका पक्षमा प्रदर्शन गरेको हो ।

सभा शुरु हुनुभन्दा अगाडि काठमाडौँका विभिन्न १६ ठाउँबाट विविभ भेषभूषासहित झाँकीसहित र्‍याली निकालिएको थियो । मुलुक ताजा जनादेशमा जाने भनेपछि नेकपाको सभामा स्वत:स्फूर्त रुपमा अन्य पार्टी समर्थित मानिसको पनि सहभागिता रहेको आयोजकले जनाएको छ ।

आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकिएको छ । प्रदर्शनमा ‘कम्युनिष्ट आन्दोलनको रक्षा गरौं : विसर्जनवाद र अवसरवादको विरोध गरौँ,‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ’, ‘नेपाली जनता के भन्छ : केपी ओली ले भन्छ’, ‘शुक्रबार होइन भोलिलाई : १० वर्ष ओलीलाई’, ‘जनता हामी जाग्दैछौँ : निर्वाचनमा लाग्दैछौँ’, ‘समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा : पूरा गर्छौँ, पूरा गर्छौँ’ जस्ता नारा लगाइएका थिए । “अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश” भन्ने नाराका साथ भएको सभामा राष्ट्रिय झण्डा र नेकपाको चुनाव चिह्न सूर्य फहराउँदै बेलुन उडाइएको थियो ।

सभास्थलमा प्रधानमन्त्री ओली आएको उद्घोष कार्यक्रम सञ्चालक वाग्मती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले गरेसँगै ओलीले मञ्चमा उभिएर हात हल्लाउँदा सहभागीले समेत हात हल्लाउँदै स्वागत गरेका थिए । सभामा सुभाषकुमार श्रेष्ठले बनाएको प्रधानमन्त्री ओलीको चित्र नेकपाका युवा नेता महेश बस्नेतले हस्तान्तरण गरेका थिए ।

प्रदेशका अध्यक्ष पोखरेलले पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जान र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गरिएको बताए । कार्यक्रममा प्रिया भण्डारी र बैकुण्ठ महतले ‘नेकपा एकता कायम राख्न ‘एकता तोडेर नजाउ साथी हो र अभियान छोडेर नजाउ साथी हो’ भन्ने गीत प्रस्तुत गरेका थिए।

उक्त गीतले सहभागीलाई मनोरञ्जन दिँदै नेकपा एकताको पक्षमा लाग्न सन्देश दिएको थियो । सहभागीहरु नेकपाको झण्डा र चुनाव चिह्नसँगै नाँचेका थिए । सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले हात उठाएर मुलुक अगाडि बढेको सन्देश दिनका लागि विभिन्न ठाउँमा राखिएको तस्विरमा नेता कार्यकर्ता झुम्मिएका थिए । सभा हेर्नका लागि केशरमहल, जयनेपाल हल अगाडि र घण्टाघरसम्म मानिसहरु क्रमबद्धरुपमा बसेका रहेका थिए । कार्यक्रम सकिएपछि स्वयंसेवकले कार्यक्रमस्थल सरसफाइ गरेका थिए भने सभास्थल भन्दा अन्य क्षेत्रमा सवारी आवागमनमा कुनै अवरोध गरिएको थिएन ।

आयोजक बागमती प्रदेश कमिटीका सचिव खेमप्रसाद लोहनीले जनसभा अपेक्षकृतरुपमा सफल भएको जनाउँदै मुलुकमा राजनीतिकरुपमा देखिएको अन्योललाई चिर्ने काम यसले गरेको बताए । सचिव लोहनीले जनतालाई अन्योल र अस्थिरतामा होइन, स्थिरताका लागि निर्वाचनमा जानुपर्छ भन्ने ठोस प्रमाण जनसभाले दिएको तथा पार्टीभित्र विवाद भए पनि जनताको समर्थन ओलीको नेतृत्वका पक्षलाई छ भन्नेतर्फ सभाले स्पष्ट सन्देश दिएको जनाए ।

उनले भने, “सभामा हामीले सोचेजति सहभागिता भएको पाइयो । बिहीबार दाहाल नेपाल समूहका आम हड्तालका कारण कतिपय टाढा टाढा रहेका जिल्लाबाट मानिसहरु आउन सकेनन तर यो सभा ऐतिहासिक र सफल रहेको हाम्रो मूल्याङ्कन छ ।”

सभा सम्पन्न गर्न काठमाडौँ उपत्यकाका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरेको थियो । पार्टीका २१ वटै जनसङ्गठनले प्रदर्शनमा भाग लिएका थिए । नेकपाले यस्तै आमसभा आगामी फागुन १ गते लुम्बिनी प्रदेशको बुटवल र फागुन ८ गते प्रदेश नं. १ को विराटनगरमा गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?