आमहड्तालमा भएको क्षति सरकारले व्यहोर्छ भन्दै ईश्वर पोखरेलले के के भने ?

काठमाडौं । हिजो सरकारका विरुद्धमा भएको प्रदर्शनमा भएको क्षतिको सरकारले पूर्ति गर्ने भन्दै प्रतिगमनका विरुद्ध निरन्तर लडिरहने उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले काठमाडौंको दरबारमार्गमा आयोजना गरेको आमसभामा बोल्दै उनले हिजो जलाइएको ट्याक्सीको क्षतिपूर्ति र अन्य जनधनको क्षतिपूर्ति सरकारले व्यहोर्ने बताएका हुन् । पोखरेलले नेपाल बन्द गराउने जनविरोधी कुराको विरोध गर्दै जनतालाई दुख दिने कुराको निन्दा र भत्र्सना समेत गर्दै भने, ‘जनतालाई दुख दिने कुरा कुनै हालतमा सह्य छैन ।’

उनले थपे, ‘जस्तै प्रतिकूलता आएतापनि ती प्रतिकूलतासँग जुधेर संविधानको रक्षाको लागि, मुलुकको राष्ट्रिय स्वाधीनता, स्वाभिमानको रक्षाका लागि र ‘सुखी नेपाली समृद्ध नेपाल’को यात्रामा निरन्तर लागिरहने प्रधानमन्त्रीको संकल्प अनुसार मुलुकमा राजनीतिक स्थायित्वको लागि लागिरहनेछौँ ।’

‘हामी राजनीतिक अस्थिरताबाट आक्रान्त बनेको मुलुकलाई अगाडि बनाउन चाहान्थ्यौँ । उद्येश्यसहित अघि बढिरहेको अवस्थामा असफल पार्ने कदमका विरुद्ध जे भइरहेको छ त्यसको विरुद्ध हामी लडिरहन्छौँ,’ पोखरेलले भने । ताजा जनादेशका लागि जानुपर्छ भनेर र जनताको फैसला हामी शिरोधार्य गर्छौं भन्दै प्रधानमनत्रीले चुनाव घोषणा गरेको कारण यो सफल पार्ने गरी अघि बढेको उनको दाबी थियो ।

उनले थपे, ‘लामो समयदेखि जनताले चाहेको राजनीतिक स्थायित्व हुन्छ । नेपाली जनताले बनाएको संविधानको रक्षा हुन्छ । अराजकताको सिलसिला अन्त्य हुन्छ । राजनीतिक स्थायित्वको हाम्रो चाहना संकटमा पार्न खोजिँदैछ । फेरि अराजकता निम्त्याउने सिलसिला र प्रयत्न चलिरहेको छ । एकजुट भएर लडौँ ।’

सभालाई प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले केहीबेरमा सम्बोधन गर्नेछन् । आमसभाका लागि ठूलो संख्यामा नेता कार्याकर्ता भेला भएका छन् । उनीहरुले राजधानीका १६ स्थानबाट निकालेको जुलुस दरबारमार्गमा एकीकृत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?