काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगहरुमा भएको असंवैधानिक नियुक्तिको बदरको माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्न लागेका छन् ।
संवैधानिक परिषद्मा गरिएको नियुक्ति बदरको माग राख्दै रिट निवेदन दर्ता गर्न सभामुख सापकोटा सर्वोच्च पुगेको स्रोतले जनाएको छ ।
सभामुख सापकोटाले दर्ता गर्न लागेको रिटमा संवैधानिक परिषदले विभिन्न ११ निकायमा नियुक्तिका लागि गरेको सिफारिस, नियुक्ती र उनीहरुका काम कारवाही बदरको माग गरिएको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएर गत मंसिर ३० गते अध्यादेशमार्फत विभिन्न ११ संवैधानिक आयोगहरुमा ३२ जना नियुक्त गर्न सिफारिस गरेका थिए । उक्त बैठकमा सभामुख सापकोटा सहभागी भएका थिएनन् । त्यस्तै गत आइतवार सभामुख सापकोटाले उक्त सिफारिस असंवैधानिक रहेको भन्दै फिर्ता पठाइदिएका थिए ।
यसअघि नै संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति असंवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
यद्यपी बुधवार राष्ट्रपति भवन शीतलनिवासमा नियुक्त ३२ पदाधिकारी तथा सदस्यहरुले राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।