सकियो प्रचण्ड-नेपाल पक्षको आमहड्ताल : कहाँ-कहाँ, के भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले गरेको आमहड्ताल ५ बजेबाट अन्त्य भएको छ ।

प्रचण्ड-नेपाल पक्षको संघर्ष समितिका सदस्य समेत रहेका सो पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीको फेसबुकमार्फत् बताएअनुसार नै आमहड्ताल ५ बजेपछि अन्त्य भएको हो ।

संसद विघटनका विरुद्ध प्रदर्शन गरिरहेको प्रचण्ड–नेपाल पक्षले आज देशभर आमहड्ताल गरेको थियो । संविधानको बेवास्ता गर्दै संवैधानिक आयोगहरूमा नियुक्ति गरेको भन्दै सरकारविरुद्ध प्रचण्ड–नेपाल पक्षले आमहड्ताल गरेको हो ।

आज दिनभरि भएका विरोध प्रदर्शनका कारण देशभरको जनजीवन प्रभावित रह्यो । आमहड्तालमा उत्रिएका प्रचण्ड नेपाल पक्षका कार्यकर्ताले राजधानीमा केही सवारी साधनमा तोडफोड गरे भने गोंगबुमा ट्याक्सीमा आगजानी समेत गरिएको थियो ।

कतिपय ठाउँहरुमा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो ।

प्रहरीले आमहड्ताल आयोजना गर्ने नेकपा प्रचण्ड-नेपाल समूहका केही नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो । नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, केन्द्रीय कमिटी सदस्य अमृता थापासहित नेता कार्यकर्तालाई प्रहरीले कलंकीबाट पक्राउ गरेको थियो ।

त्यसैगरी, सामाजिक सञ्जाल फेसबुकको क्लोज्ड ग्रुप ‘एमआरआर’का सदस्यहरु आमहड्तालको विरोधमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिँदा प्रहरीले रोकेको थियो । बल्खुबाट शुरु भइ चक्रपथ परिक्रमा गरी शान्तिपूर्ण प्रदर्शन गर्ने उनीहरुको योजना थियो । उनीहरुले आमहड्तालविरुद्ध शान्तिपूर्ण विरोध गर्न लागेको भनेर प्रहरीलाई समेत पूर्व जानकारी गराइ सकेका थिए । प्रहरीको तर्फबाट सुरक्षा दिइने भनिएतापति पछि सुरक्षा दिन नसक्ने बाहाना बनाएको गुनासो एमआरआरका सदस्यले गरेका थिए ।

त्यस्तै, देशका केही स्थानमा केपी शर्मा ओली समूहका कार्यकर्ताहरु आमहड्तालको विरोधमा सडकमा उत्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?