२०७७, ६ फाल्गुन बिहीवार १०:०५

अधिकांश नेपालीले दोहोर्‍याउँछन् एउटै गल्ती : कहिले भोकै कहिले अटसमटस खान्की (डाक्टरका यस्ता सुझाव)

ज्यान बनाउन हिँडेकाहरुले नगर्नुस् यी गल्ती


प्रकाशित मिति : २०७७, ६ फाल्गुन बिहीवार १०:०५

काठमाडौं । गाँस, वास, कपास मानवजीवनका आधारभूत आवश्यकता हुन् । तर यिनै ३ कुराको तालमेल नमिल्दा रोगहरु जन्मिन्छन् । अहिले देखिएका अधिकांश स्वास्थ्य समस्याहरु विषाक्त खाना वा खानेकुराको तालमेल नमिल्नाले नै हुने गरेका छन् । झन् नेपालीहरुलाई त ग्यास्ट्रिक, मधुमेह, थाइराइड जस्ता रोगहरुले गाँज्दै लगेको छ । समस्या के मा छ ? नेपालीहरुले खाने खानामा ? वा खाना खाने तरिकामा ? यही विषयमा केन्द्रित रहेर लोकपथले हाल नर्भिक अस्पतालमा पोषणविद्/आहारविदका रुपमा कार्यरत प्रनिती सिंहसँग कुराकानी गरेको थियो । त्यही कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौं ।

एउटा व्यक्तिलाई एकदिनमा कति खाना भए पुग्छ ?

व्यक्तिलाई कति खाना भए पुग्छ वा कति पौष्टिक तत्त्व आवश्यक पर्छ भनेर उसको उमेर, लिंग, पेशा, शारीरिक बनावट आदिले निर्धारण गर्दछ । तर, ‘बल प्याक फिगर’ भन्नुपर्दा एकदिनमा औसत नेपाली महिलाहरु जो काम पनि गर्नुहुन्छ उहाँहरुका लागि १८ सयदेखि २२ सय क्यालरी आवश्यक पर्दछ भने काम गर्ने औसत नेपाली पुरुषहरुलाई २ हजारदेखि २४ सय क्यालरी आवश्यक पर्दछ ।

नेपालीहरुको खाने शैली कस्तो छ ? कस्तो हुनुपर्छ ?

नेपालीहरुको मुख्य समस्या भनेको कि खाँदै नखाने, खाएपछि अत्याधिक खाने हो ।

बिहान उठेर प्राय चिया मात्र खाने अनि १० बजेसम्म दाल, भात, तरकारी नै खाइसक्ने त्यसपछि आआफ्नो काममा निस्किने, दिउँसोको खाजा पनि कहिले खाने/कहिले नखाने र एकैचोटी राति टन्न खाएर सुत्ने बानी छ नेपालीहरुको ।

हुन त हाम्रो समाजको संरचनाले गर्दा पनि यसरी खाने बानी बसेको हो किनकी पहिला घरबाटै खाएर निस्किनुपथ्र्यो । बाहिर खाने चलन थिएन र छ्याप्छ्याप्ती खाने ठाउँ पनि थिएन । त्यसैले टन्न खाएर खेतमा जाने अनि फर्किएपछि फेरि टन्न खाएर सुत्ने बानी बस्यो । नेपालीहरुले थोरै मात्रामा खाने तर, धेरैपटक खाने बानीको विकास गर्न जरुरी छ ।

उठेको १ घण्टाभित्रमा केही खानुपर्छ जसले पेटको एसिडलाई न्यूट्रियलाइज गर्छ, १० बजेतिर दाल, भात, तरकारी (मुख्य आहार) खाने हो भने फेरि १ बजेतिर खाजा खाइसक्नुपर्छ, त्यसपछि ४ बजेतिर फेरि हल्का खानेकुरा खाने अनि राति घर फर्किएपछि साढे ७/८ बजेतिर डिनर गरिसक्ने ।
त्यस्तै, मौसमी तरकारी र फलफूल खाने बानी बसाल्नुपर्छ ।

‘एभ्री थिङ ग्रोज इन अ सिजन फर अ रिजन’ भन्ने मेरो मान्यता हो । अर्थात्, निश्चित मौसममा निश्चित फल वा सब्जी फल्नुको पछाडि केही न केही कारण हुन्छ । जाडो मौसममा सुन्तला फल्छ । किन भन्दा यसमा भिटामिन सी हुन्छ जसले चिसोबाट हामीलाई बचाउँछ, इन्फेक्सनबाट बचाउँछ र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । त्यसैगरी हरेक मौसममा फल्ने फलफूल र सागसब्जीको कुनै न कुनै विशेषत हुन्छ ।

म त अझ जुन क्षेत्रमा जे अन्न फल्छ त्यसैलाई मुख्य आहार बनाउने सल्लाह दिन्छु । अर्थात्, जहाँ मकै धेरै फल्छ त्यहाँको मान्छेले मकैको भात वा रोटीलाई ‘मेन कोर्स’ बनाएको राम्रो ।

दाल, भात, तरकारीले हाम्रो शरीरको पौष्टिक आवश्यकता पूरा गर्छ त ?

दाल, भात, तरकारी एकदमै सन्तुलित आहार हो । कुनै मिसावट नहुने हो, ठिक्क मात्रा र समय मिलाएर खाने हो भने यसले शरीरलाई चाहिने सबै पोषण तत्व दिन्छ ।

अचम्मको कुरा के हो भने एउटामा नभएको तत्त्व अर्कोमा हुन्छ । जस्तै, भातमा निश्चित अमिनो एसिड हुँदैन र दालमा पनि निश्चित अमिनो एसिड हुँदैन तर, दुईवटा सँगै खाँदा प्रोटिनको आवश्यकता पूरा गर्छ । तरकारीले भिटामिन, मिनेरल्स, फाइबरको आवश्यकता पूरा गर्छ । दालभात मात्र होइन नेपालका विभिन्न जात, समुदायले खाने पारम्परिक परिकार पनि एकदमै पौष्टिक हुन्छन् ।

क्वाँटी, बारा, नेवारी खानाहरु एकदम सन्तुलित हुन्छन् । नेवारी खाजा सेटमा सबै कुरा समावेश हुन्छ, थकाली खाना सेटमा पनि थोरै मात्रामा धेरै खानेकुरा राखिएको हुन्छ ।

नेपालीहरुको खानाप्रतिको अवधारणा कस्तो छ ?

थोरैपटक खाने तर, धेरै मात्रामा खाने नेपालीहरुको बानी एकदमै गलत हो । फेरि अहिले हाम्रो जीवनशैलीमा मात्र होइन खाने शैलीमा पनि पश्चिमा प्रवृत्ति हाबी भएको छ । आधुनिक देखिनलाई, स्तरीय जीवन बाँचिरहेको छु भनेर देखाउनलाई आजभोलि मान्छेहरु नियमित जसो विदेशी खाना खान्छन् । चटामारी खाएँ, बारा खाएँ, दाल भात तरकारी खाएँ भनेर खुशी भएको सुनिँदैन ।

अर्को कुरा, नेपालीहरुलाई खानेकुरा ‘स्वीच’ गर्न सकिन्छ भन्ने ज्ञान छैन । मानव शरीरका लागि साग निकै फलदायी हुन्छ । तर, यदि कसैलाई साग मनपर्दैन भने जबरजस्ती कोच्याउने चाहिँ गर्नु हुँदैन बरु सागबाट पाइने पोषण तत्त्व भएको अरु नै खानेकुरा खाँदा हुन्छ ।

नेपाली बिरामीहरु प्राय के गुनासो लिएर आउँछन् ?

मोटोपना, मधुमेह, ग्यासट्राइटिस, मुटुको समस्या ।

खान नजानेरै नेपालीहरु बिरामी पर्ने हो ?

खानाले मात्र रोग निम्त्याएको होइन । खाना सँगसँगै अरु धेरै कुराहरु जिम्मेवार छन् स्वास्थ्य समस्या देखापर्नमा । नेपालीहरुको खाना संस्कृति एकदमै राम्रो छ । तर, विषाक्त मलको प्रयोगले खानाको स्रोत आफैमा प्रदूषित छ । त्यसमाथि पछिल्लो समय खाद्य मिसावटको समस्या झन् विकराल बन्दै गएको छ । यसमा थप हानी पु¥याउने समस्या हुन् : तनावपूर्ण जीवन र सेडेन्टरी जीवनशैली अर्थात् केही काम नगरी बाँच्न चाहने प्रवृत्ति ।

दुधमा सोडा मिसाएको देखेपछि दुध पाउडर खान थालेको भन्ने बिरामीहरु पनि आउनुहुन्छ । तर, दुध पाउडर पनि स्वास्थ्यको लागि हानिकारक नै हो नि ।
आजभोलि बाहिर खाने कल्चर विकास भएको छ त्यसैले, जंक फुड, मिसावट भएका खानेकुरा, तनावपूर्ण जीवन, व्यायामको कमी, गतिहीन जीवनशैलीले गर्दा अधिकांश नेपालीमा ग्यास्ट्रिक, मधुमेह, मुटु सम्बन्धि रोग बढी देखिन्छ ।

आजभोलि ज्यान बनाउनलाई अनेक किसिमका शरीरले नै नसहने कुरा खाने अथवा खाँदै नखाई कडा व्यायाम गर्ने वा जिम धाउने मानिसको जमात बढेको छ । कडा व्यायाम गर्ने वा जिममा पसिना बगाउनेहरुले त झनै पौष्टिक आहारको सेवन गर्नुपर्छ । नभए शरीर कमजोर पर्छ । स्वास्थ्यमा दीर्घकालीन असर देखिन सक्छ ।

जंक फुडको डिमान्ड बढेको छ । के भन्नु हुन्छ यहाँ ?

जंक फुडमा एकदमै धेरै ट्रान्सफ्याट हुन्छ जुन स्वास्थ्यको लागि एकदमै हानिकारक छ । दैनिक खाने होइन । कहिलेकाहीँ स्वाद फेर्नको लागि खानु ठिकै हो ।
अत्याधिक जंक फुड खाएकै कारण बिरामी पर्ने धेरैजना आउनुहुन्छ । पहिला डायबिटिज उमेर ढल्केको, अलि पाको मान्छेहरुलाई मात्र हुन्छ भन्ने थियो तर, अहिले त बच्चादेखि युवाहरुमा पनि देखिन थालेको छ ।

विदेशीहरु त्यही जंक फुड खाएर हामी भन्दा स्वस्थ्य हुन्छन् भन्ने भनाइ पनि छ.. के भन्नुहुन्छ त्यसमा ?

हामीले उनीहरुको र हाम्रो जीवनशैली, वातावरण पनि त दाँजेर हेर्नुप¥यो । उनीहरु सानैदेखि त्यस्तै खानामा बानी परेका हुन्छन् ।

फेरि, हामी नेपालीहरुको बानी बाँडेर खाने हुन्छ । कुनै रेस्टुरेन्टमा खान गयौं भने धेरैवटा परिकार अर्डर गर्छौं र सबैको भागबाट थोरैथोरै खान्छौं । यसो हुँदा थाहा नपाउने तरिकाले हामीले धेरै मात्रामा खानेकुरा खाइसकेका हुन्छौं । हाम्रो खानाको निश्चित ‘डोज’ नै हुँदैन । तर, विदेशीहरु आफ्नो खाना बाँड्दैनन् । एउटै टेबलमा खाँदैछन् भने पनि आआफ्नै लागि अर्डर गर्छन् । र, आफ्नो खानेकुरा मात्र खान्छन् ।

अर्को, उनीहरुको खानेकुरामा मिसावट हुँदैन । खानाको स्रोत नै स्वच्छ र स्वस्थ्य हुन्छ । साथै, उनीहरु हामीजस्तो अल्छी हुँदैनन्, बसीबसी खाऊँ भन्ने सोच हुँदैन । हिँड्ने बानी हुन्छ, नियमित व्यायाम गर्ने बानी हुन्छ ।

केही सुझाव छ ?

मेरोमा समस्या लिएर आउनेलाई पनि म यही भन्छु ‘यदि तपाईको लागि आफ्नो स्वास्थ्य महत्त्वपूर्ण छ भने तपाई जसरी पनि त्यसको लागि समय निकाल्न सक्नुहुन्छ ।’ घरमै खाना बनाउने, खाजा बनाउने समय छैन भन्दै जंक फुड खानेलाई म यही भन्न चाहन्छु । एकदमै व्यस्त हुनेहरुले थोरै समयमा तयार हुने घरेलु परिकारहरु बनाएर खान सक्नुहुन्छ जस्तो हलुवा, सातु, फलफूल, भुटेको भात, अण्डा ब्रेड, सलाद आदि ।

करेसाबारीलाई बाँझो राखेर सागसब्जी किन्ने प्रवृत्ति विकास नगरौं । पश्चिमा मुलुकको खानेकुरालाई मुख्य आहार नबनाउनुस् । आफूले खाने खानाको स्रोतको बारेमा सचेत रहनुस् । किनभने जतिसुकै पौष्टिक तत्त्व भएको खानालाई मात्रा वा समय मिलाएर खाएपनि यदि त्यसमा मिसावट छ वा त्यो विषाक्त छ भने त्यसको केही अर्थ नै हुँदैन ।

जुन क्षेत्रमा जे फल्छ, त्यही अन्नलाई मुख्य आहार बनाउने सल्लाह पनि दिन्छु साथै धेरै भन्दा धेरै मौसमी सागसब्जी र फलफूल खानुस् ।

प्रतिक्रिया दिनुहोस