नाडाद्वारा महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ५०० थान फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण

काठमाडौं । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ६ सदस्यीय नाडा प्रतिनिधि मण्डलले ट्राफिक प्रहरी महाशाखालाई ५०० थान फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ६ सदस्यीय नाडा प्रतिनिधि मण्डलले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक श्याम अधिकारीसंग भटेर राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका समस्याहरु र त्यसको निराकरणहरु बारे बिस्तृत छलफल गरेको नाडाले जनाएको छ ।

उक्त भेटघाटमा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रबक्ता प्रहरी उपरिक्षक श्याम अधिकारीले आफनो कार्यकक्षमा नाडा प्रतिनिधि मण्डललाई स्वागत गरेका थिए । भेटघाट तथा छलफलमा महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक श्याम अधिकारीले राजधानीको ट्राफिक व्यवस्थापनको सन्दर्भमा देखिएका विभिन्न समस्या र चुनौतिहरु बारे चर्चा गर्दै ट्राफिक व्यवस्थापनमा सहज हुने व्यवस्थाका लागि नाडासँग मिलेर काम गर्न चाहेको बताएका छन् ।

सो छलफलको क्रममा नाडाका अध्यक्ष दुलालले महानगरिय ट्राफिक प्रहरी महाशाखा र नाडाबीच विगतको समयदेखि नै हुँदै आएको सहकार्य बारे चर्चा गरेको जनाइएको छ ।

सोही क्रममा उनले महानगरिय ट्राफिक प्रहरी महाशाखाले राजधानीको ट्राफिक व्यवस्थापनमा देखाएको भूमिकाको प्रसंसा गर्दे यसलाई अझ थप सुधार गर्नु पर्ने खाँचो रहेको र नाडा त्यसका लागि सहयोग गर्न तयार रहेको बताए ।

उक्त छलफल पछि नाडाका अध्यक्ष दुलालले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रबक्ता प्रहरी उपरिक्षक श्याम अधिकारीलाई ट्राफिक व्यवस्थापनमा अझै सहज तथा सुरक्षित हुने ५०० थान फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरे ।

विगतमा पनि आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरी तथा प्रहरी कार्यालयहरुलाई मोटरसाइकल, कुर्सी, ट्राफिक चिन्ह बोर्ड प्रदान गर्दै आएको नाडाले जानकारी दिएको छ ।

नाडाले २०६७ साल देखि नै नाडाको प्रत्येक साधारण सभामा राजधानीका उत्कृष्ट ३ जना ट्राफिक प्रहरीलाई कदर पत्र सहित प्रोत्साहन स्वरुप जनही २५,०००/ पचिस हजार रुपिया प्रदान गर्दे आएको छ ।

उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत नाडाका उपाध्यक्ष करण चौधरी, उपाध्यक्ष आकाश गोल्छा महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंहानियासमेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?