प्रचण्डले भने- ‘जनमुक्ती सेनालाई सम्मान गर्न फाइल बनाएको थिएँ, प्रतिकृयावादीहरुले लुकाए’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व जनमुक्ती सेनाहरुलाई विशेष पार्टी घोषणा गरेर प्रदेश स्तरको कमिटीमा राख्ने बताएका छन् ।

बुधवार दिँउसो बहिर्गमित जनमुक्ति सेना नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पूर्व जनमुक्तीहरुलाई सम्मान गर्न विशेष पार्टी कमिटी बनाउनेबारे छलफल भएको बताए ।

आफू पहिलोपटक प्रधानमन्त्री भएका बेला पहिलो मन्त्रिपरिषद्को बैठकमा नै जनमुक्ती सेनालाई सम्मान गर्न फाइल तयार गरेको बताए । तर त्यसको फाईल प्रतिक्रियाबादीहरुले लुकाएको आरोप लगाएका छन् । बहिर्गमित जनमुक्ती सेनालाई आफू प्रधानमन्त्री बनिसकेकाले जनयुद्धको बारे कम पीडा भएको भन्ने नसोच्न समेत आग्रह गरेका छन् ।

“तपाईहरुले सोच्नुभएको होला , तपाईलाई भन्दा मलाई कम पीडा भएको छ भनेर । तपाईहरुले भन्ठान्नुभएको होला प्रचण्ड प्रधानमन्त्री भयो भनेर । मलाई ठूलो पीडा छ ।” प्रचण्डले भने- “मैले त्यत्रो परिवर्तन गरेको, जनमुक्ती सेनालाई सम्मान गर्ने निर्णय गरेको फाइल लुकाइएको छ । प्रतिक्रियाबादीहरुले लुकाएका छन् ।”

त्यस्तै पूर्व जनमुक्ती सेनाहरुलाई सरकारले दिँदै आएको भत्ता र सुविधा हालको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हटाइदिएको टिप्पणी गरे । “राज्यको तर्फबाट दिने सुविधाहरुमा यो बीचमा जति दिने भनेर पहिलाका सरकारले दिने भनेको हो । यो प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हटाइदिएको छ ।” उनले भने ।

त्यस्तै परिवर्तनका लागि संघर्षको क्रममा आफूहरु बाच्न सफल भएकाले नै आज भेट भएको भन्दै खुसी व्यक्त गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कवि भूपि शेरचनको शहीद भन्ने कविताका केही हरफहरु समेत स्मरण गर्दै बाँचेर शहीद हुन गारो भएको भन्दै टिप्पणी गरे ।

जनआन्दोलनको केही उपलब्धीलाई संस्थागत गर्न नसकेकोमा दुख लागेको बताउँदै प्रचण्डले बरु लढ्दा लढ्दै मर्न पाए शहीद भइने र शहीद भएर सम्मानित भइनेथियो भन्दै टिप्पणी गरे ।

जनताको मुक्तीको लागि आफूहरु जनआन्दोलनको घोषणा गरेर मर्न मार्न हिँडे पनि संयोगवस बाँचेको बताए ।

आफूहरुले गरेको काम धिक्कार गर्न लायक हो त भन्दै प्रश्न गरेका छन् । त्यस्तै नेपालमा जनयुद्ध शुरु हुँदा भारत, श्रीलंका, टर्की, फिलिपिन्समा एकैपटक आन्दोलन शुरु भएको र नेपालमा छिट्टै युद्धविराम गरेर थोरै मान्छेहरु मारेको बताए ।

“हामीले गरेको काम धिक्कार गर्न लायक हो र ? हामीले जनयुद्ध शुरु गर्दा भारत, श्रीलङ्कामा ठुला ठुला युद्ध थिए । टर्की र फिलिपिन्सको जस्तो हुन्छ भन्ने लागेर नै युद्धविराम गर्नुपर्यो ।” उनले भने, “हामीले अहिले जितिहाल्दैनौ भन्ने सोँचे । १७ हजार नेपाली मरे भन्ने छ । लढ्दै जाँदा १ लाखसम्म मर्न सकिन्थ्यो । के लढ्दै जाने रु के मर्दै जाने रु हामी पनि मर्दै र मार्दै जाने सकिन्थ्यो । राजनीतिमा परिवर्तन भयो लढाई जितिन्छ ।”

त्यस्तै आफूले राजतन्त्रलाई गणतन्त्रमा रुपान्तरण गर्ने बेला यहि हो भन्ने लागेर नै जनयुद्ध अन्त्य गरेको दाबी गरेका छन् ।

अहिले प्रधानमन्त्री ओलीले मनलाग्दी गरेकाले आफूहरुले फेरी आन्दोलनमा सरिक हुनु परेको बताएका छन् । साथै पूर्व बहिर्गमित जनमुक्ती सेनाहरुलाई आस्था र विचार नछोड्न समेत प्रचण्डले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?