२०७७, ५ फाल्गुन बुधबार १०:०१

हरेक दिन औसतमा १० वर्ष मुनिका १ जना बालिका बलात्कृत हुन्छन्: प्रहरी


प्रकाशित मिति : २०७७, ५ फाल्गुन बुधबार १०:०१

काठमाडौं । कैलालीमा हालै १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भयो । बलात्कार भएको खबर प्राप्त हुनासाथ तैनाथ रहेको प्रहरीले २ अभियुक्तलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा लम्की नगरपालिका–१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकी रहेका छन् भने अर्का अभियुक्त कृष्ण राउत अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

***

माघ १३ गते काठमाडौंस्थित बौद्धको जम्बु डाँडा ।

राति करिब साढे १० बजेतिर ४० वर्षीय भोला यादवले छोरीको बलात्कार गरे । आफ्नो अपराधलाई ढाकछोप गर्न उनले २३ वर्षीया (झड्केली)छोरीको हत्या गर्न टाउकोमा ढुंगाले प्रहार गरे र उसको मृत्यु भयो भन्ने सोचेर घरबाट भागे ।

बलात्कृत युवतीलाई बिहान कोठामा रगताम्मे अवस्थामा फेला पारेपछि अस्पताल लगियो । र, फरार यादवलाई धनुषाबाट गिरफ्तार गरियो ।

अहिले यादवले आफ्नो अपराध स्वीकारिसकेका छन् ।

***

यही माघ १४ गते, बुधवार ।

सर्लाही घर भइ भक्तपुरमा डेरा गरी बस्ने १९ वर्षीया किशोरीले आफ्नै कोठामा बलात्कार भएको भन्दै महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा किटानी जाहेरी दिइन् ।

भक्तपुर नगरपालिका–१० कमलविनायकका ३१ वर्षीय विकास तजलेले बुधवार दिउँसो आफ्नो कोठामा पसेर डर, धम्की दिइ बलात्कार गरेको भन्दै किशोरीले गत १६ गते प्रहरीकामा जाहेरी दिएकी थिइन् । घटनापश्चात् तजले फरार थिए ।

यद्यपि महानगरीय प्रहरी वृत्त जगातीले तजलेलाई पक्राउ गरिसकेको छ । आइतवार जिल्ला अदालत भक्तपुरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

***

बलात्कार एक गम्भीर अपराध हो । बलात्कारले पीडित महिलालाई शारीरिक पीडा मात्रै नभएर मानसिक र संवेदनात्मक पीडा दिनुका साथै उसको चरित्रमाथि पनि ठूलो प्रश्न चिह्न खडा गरिदिन्छ । भलै उसको केही गल्ती छैन । उसमाथि अन्याय भएको किन नहोस् । पीडितको दैनिक जीवनमा मात्र नभएर परिवारमै पनि गहिरो प्रभाव पर्न जान्छ ।

नेपालमा नाबालिकादेखि ७०–८० वर्षीया वृद्धा हजुरआमा समेत बलात्कार अनि यौनजन्य हिंसाको शिकार हुने गरेका छन् । यौनजन्य दुव्र्यवहार गर्नेहरुमा अधिकांश आफन्त, नातेदार, छिमेकी तथा अन्य चिनेजानेकैबाट हुने गरेको पाइन्छ । यौनजन्य दुव्र्यहारको प्रमुख निशानामा अधिकांश नाबालिका, बालिका र किशोरीहरु नै पर्ने गरेका छन् ।

त्यसैगरी शारीरिक अशक्तता भएका बालिका, युवती तथा महिलाहरु पनि बलात्कारीको निसानामा पर्ने गरेका छन् । पछिल्लो समय मुलुकभर जबरजस्ती करणीका घटना बढेका छन् ।

आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि मंसिर बीचको पाँच महिनामा १० वर्षमुनिका एक सय ३४ बालिका र एक बालक बलात्कृत भएका छन् ।
यही अवधिमा ११ देखि १६ वर्षका ४ सय २८ बालिकाहरु बलात्कारको शिकार बन्नु परेको तथ्यांकले देखाउँछ ।

बलात्कार र बलात्कार प्रयासविरुद्ध कठोर कानूनी कारबाही गर्नुपर्ने माग हरेक घटनापछि उठ्ने गर्छ । राजनीतिक दलका नेता, कार्यकर्तादेखि सामाजिक अभियान्ता हुँदै सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जालसम्म यसको चर्चा हुन्छ । तर अपराधमा सार्वजनिक पद धारण गरेकादेखि ‘प्रतिष्ठा’ आर्जन गरेका व्यक्ति मुछिएपछि सार्वजनिक धारणा र बहस पनि विभाजित हुने गरेका उदाहरण हामीसँग छन् ।

महिला राष्ट्रपति भएको नेपालमा बलात्कार जस्तो जघन्य अपराध हुँदा समेत दुख व्यक्त मात्र हुन्छ । ‘पब्लिक प्रेसर’ आयो भने विज्ञप्ति निकालेर दुख लाग्यो भनिन्छ अनि सकिन्छ । आफू देशको नेता हुँ भन्दै हिँड्ने राजनीतिज्ञ पनि बलात्कारीलाई छुटाउन प्रशासनसँग लबिङ गर्छन् । र, धरौटीमा छुटाउन हरबखत लागि पर्छन् । आफूलाई पहुँचवाला सम्झनेहरु बलात्कारको घटनामा संलग्न छन् । ‘आफूलाई महिलाकर्मी हुँ’ भनेर चिनाउने महिला तथा बालबालिका अधिकारकर्मीहरु मात्र बाल दिवस र नारी दिवसमा पाँचतारे होटलमा भाषण गर्छन् । अनि डलरको खेती गर्नमै व्यस्त छन् ।

विकट र दूरदराजका महिला अशिक्षा र जनचेतनाका कमी कै कारण आज हिंसाका शिकार बन्न बाध्य छन् । अन्याय सहेर बसेका छन् । आफ्नो पीडा व्यक्त गर्नै सकेका छैनन् । पीडा व्यक्त गर्दा झनै पीडामा परिन्छ कि भनेर भित्रभित्रै दबाएर बस्न बाध्य छन् । आफ्नै हजुरबुबा, बाबु, दाजुभाइबाटै बलात्कृत हुन्छन् छोरीहरु ।

विश्वमा नै महिला सुरक्षाको विषयमा चर्को आन्दोलन र बहस भइरहँदा पनि महिला माथि हुने दुव्र्यवहार र महिला हिंसाको अन्त्य किन हुन सकेको छैन भन्ने विषयमा आआफ्नै तर्कहरु आउने गरेका छन् ।

फिनल्याण्ड, नेदरल्याण्ड, नर्वे, स्वीडेन, डेनमार्क आदि जस्ता विश्वका कति मुलुकहरु महिलामैत्री छन् भने कति महिलाका लागि क्रुर मानिन्छन् । सुडान, लिविया, क्यूवा जस्ता मुलुकमा त महिलालाई मान्छेको दर्जासमेत नदिई व्यवहार गरिन्छ ।

पितृसत्तात्मक सोचबाट हुर्केको नेपाली समाज क्रमिक रुपमा महिला अधिकार स्थापित हुँदै गएको समाजमा रुपान्तरण भइरहेको समयमा नेपालमा यौनजन्य हिंसाको घटना छ्याप्छ्याप्ती बाहिर आइरहेका छन् ।

कुन मुलुक सबैभन्दा असुरक्षित ?

लण्डनको थम्पसन रोयटर्स फाउन्डेशनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार महिला सबैभन्दा असुरक्षित हुने देशको पहिलो सूचिमा भारत रहेको छ । त्यसपछि क्रमश अफगास्तिान, सिरिया, सोमलिया, साउदी अरबिया, पाकिस्तान, द डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो, यमन, नाइजेरिया र दशौं स्थानमा अमेरिका रहेको छ । फाउन्डेशनका विशेषज्ञहरुको सर्वेक्षणले विश्वभरका महिलाका यौन हिंसा, उत्पीडन र यौन सम्बन्धको खतरामा आधारित भएर यस प्रतिवेदन तयार पारेर सार्वजनिक गरेको हो ।

किन छैनन् यी देश महिलाको लागि सुरक्षित ?

भारत

संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक देश दाबी गर्ने भारतमा सामूहिक बलात्कार र हत्या सामान्य कुरा हो । यो देशमा दिनहुँजसो बलात्कारका घटनाहरु सार्वजनिक भइरहन्छन् । यसर्थ भारतलाई महिला सुरक्षाको दृष्टिकोणले सबैभन्दा खतरनाक देशका रुपमा लिने गरिन्छ । भारतमा महिलाको सामूहिक बलात्कारदेखि लिएर बालविवाह र मानव तस्करीसम्म हुन्छ । यी अपराधबाहेक भारतमा ३० वर्षको अवधिमा ५० लाखभन्दा बढि महिलाहरुको भ्रुण हत्या भएको तथ्याङ्क छ ।

अफगानिस्तान

अफगानिस्तान मुस्लिम राष्ट्र हो । अफगानिस्तानका महिलामाथि सबैभन्दा बढि अत्याचार हुने गरेको बताइन्छ । यसको मूख्य कारण हो, अशिक्षा । त्यहाँका ८७ प्रतिशत महिला अशिक्षित छन् । र, ७० देखि ८० प्रतिशत महिलाको जबरजस्ती विवाह गरिन्छ । १५ वर्षको कलिलो उमेरमै महिलाहरुलाई विवाहका लागि बाध्य बनाइन्छ र अशिक्षित भएका कारण उनीहरु सजिलै घरेलु हिंसाको शिकार बन्न पुग्छन् । गर्भधारणका क्रममा हजारमा ४ महिलाको ज्यान जान्छ । अफगानिस्तानमा घरेलु हिंसालाई पनि सामान्य रुपमा लिइन्छ ।

सिरिया

२० औं शताब्दीबाट सिरियाका महिलाहरुलाई शिक्षाको अधिकार दिइएको भएतापनि त्यहाँ महिला हिंसा भने अन्त्य भएको छैन । आइएसको आतंक अघि पनि यस देशमा महिलाको अवस्था खराब थियो । यहाँका १४ प्रतिशत महिलाले मात्रै काम गर्ने गरेका छन् । महिलाले कति पढ्ने भन्ने सम्मको नियम आइएसले बनाएको हुन्छ । विश्वको खतरनाक आतंककारी समुहमध्ये पहिला नम्बरमा पर्ने आइएसको नियम अनुसार सिरियामा छोरी मान्छेको पढाई ६ वर्षमा शुरु भएर १८ वर्षमा सकिन्छ ।

सोमालिया

अफ्रिका महादेशमा पर्ने सोमालियाको कानून व्यवस्था कमजोर भएका कारण पनि महिलाहरु पिछडिएको पाइन्छ । त्यहाँका ४ देखि ११ वर्षका बालिकाको तस्करी गरिन्छ । त्यहाँका धेरै महिला, बालविवाह र यौन शोषणको पनि शिकार हुने गरेका छन् । गर्भावस्थाका क्रममा हुने मृत्यु, बलात्कार, महिलाहरुको यातना र जबरजस्ती विवाह सोमालियाका महिलाहरुका लागि ठूलै समस्या हुन् । त्यहाँ ९ प्रतिशत आमाले मात्रै चिकित्सकको सहयोगमा सन्तान जन्माउने गर्दछन् ।

साउदी अरबिया

साउदी अरेबिया मुस्लिम देश भएकाले पनि त्यहाँका महिलाहरुलाई बाँच्नको लागि त्यति सजिलो छैन । कालो कपडाको सहाराले साउदी अरबियाका महिलाहरुले आफ्नो अनुहार छोपेर हिँड्नुपर्छ । उनीहरु बलात्कार, घरेलु हिंसा, यौन शोषण र मानव तस्करीसम्मको शिकार हुने गरेका छन् ।

पाकिस्तान

पाकिस्तानमा परम्परागत रीतिरिवाजहरुलाई अत्याधिक प्राथमिकता दिइने भएकाले महिलाका लागि निकै कडा छ । पाकिस्तानको मानवअधिकार आयोगका अनुसार हरेक वर्ष करिब १ हजार महिला र बच्चाले राम्रो उपचार नपाएर ज्यान गुमाउन परिरहेको छ । ९० प्रतिशत महिलाहरु घरेलु हिंसाको शिकार हुने गरेका छन् ।

द डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो

यो देशमा पुरुष र महिलाबीच अत्यन्तै भेदभाव गर्ने चलन रहेको छ । त्यसैले महिलामाथि हुने अत्याचारलाई यहाँ सामान्य मानिन्छ किनकी सबैजसो घरमा महिलाहरु हिंसाको शिकार भएकै हुन्छन् । अमेरिकी जनस्वास्थ्य पत्रिकाका अनुसार कङ्गोमा हरेक दिन १ हजार १ सय ५० महिला बलात्कार र यौन दुव्र्यवहारको शिकार बन्छन् । संसारभरमा यौनसँग सम्बन्धित हिंसामा कंगो सबैभन्दा अगाडि छ । महिलाहरुको स्वास्थ्य स्थिति पनि निकै खराब छ ।

यमन

यमन पुरुष प्रधान देश भएकाले पनि अझै महिला र पुरुषबीचको भेदभाव कायमै रहेको छ । करिब तीन लाख भन्दा बढी महिलाहरुको स्वास्थ्य अवस्था एकदमै नाजुक रहेको पाइएको छ । एक लाख गर्भवति महिलाले राम्रो खानेकुरा खान नपाएको अवस्था रहेको छ । यमनमा बढी युद्ध हुने भएकाले पनि महिला बलात्कार र यौन दुव्र्यवहारको शिकार बन्न पुगेका हुन् । त्यहाँ पुरुषले खाना नखाइकन अझै महिलाले खाने गरेका छैनन् ।

नाइजेरिया

नाइजेरियामा धेरै मानिसहरु गरिबीको रेखामुनि भएकाले पनि त्यहाँका महिलाहरुमा यौन दुव्र्यवहारको उच्च जोखिम रहेको छ । अभिभावकबाट कम हेरविचार र बढी शोषण हुने गरेका छन् । असुरक्षित गर्भपात, बाल विवाह, यौन शिक्षाको कमी, कम हेरविचारका कारणले पनि महिलाहरुको बढी मृत्यु हुने गरेको छ ।

अमेरिका

अमेरिकामा पनि पछिल्लो समय महिला सामूहिक बलात्कार देखि यौन हिंसाको शिकार हुने गरेका छन् ।
हरेक देशमा आ–आफ्नो किसिमको कानून छ । तर पनि महिला हिंसा अन्त्य भने हुन सकेको छैन । नेपालको सन्र्दभमा कुरा गर्ने हो भने महिलाहरु सुरक्षित छैनन् । हरेक दिन छोरीचेलीले राजनीतिक पहुँच भएकाहरुबाट शोषण सहिरहनुपर्ने रु बलात्कृत भइरहनुपर्ने ? यो अवस्था कहिलेसम्म ? नेपालमा कानूनतः पछिल्लो समय छोरीलाई चित्तबुझ्दो किसिमको अधिकार दिइएको छ । तर विभेद कम हुन सकेको छैन । कारण स्पष्ट छ, संविधान कार्यान्वयनको विश्वासिलो आधार ।

लैङ्गिक पाटोबाट पाउने अधिकारलाई एकछिन थाँति राखेर कुरा गर्ने हो भने पनि एउटा नागरिकको हैसियतमा महिलाले पाउने अधिकार किन पाएका छैनन् ? दैनिकजसो कोही न कोही, काहीँ न काहीँ बलात्कृत भइरहेका छन् । पाशविक ढंगबाट हत्या पनि । हिंसा बढ्दैछ । तर राज्य संयन्त्र मौनता साँध्छ । अनि महिलाहरु ‘बलात्कार नगरिदेउन बाबै’ भन्दै माइतीघर मण्डलाबाट चिच्चाइरहने ?

ठूल्ठूला आर्दश र सिद्धान्तका कुरा बाढेर मात्रै बलात्कार न्यूनिकरण गर्न सकिन्छ, भनेर सोच्नु मुर्खता हुन्छ । कडा नियम र कानुन बनाएर मात्रै हुँदैन । कानुनको पूर्ण पालना हुनु पनि आवश्यक छ । जसले यस्ता कुराहरू लाई न्युनिकरण गर्न मद्धत गर्नेछ ।

देशका सम्पूर्ण नागरिकलाई उद्यमशील, व्यस्त, आत्मनिर्भर, स्वस्थ प्रतिस्पर्धातर्फ उन्मुख गराउन सकिएमा बलात्कारजन्य घटनामा कमी आउने निश्चित देखिएको छ । त्यसैले भएका कानूनको पूर्ण पालना गराउन मुलुकमा बढ्दो यौनजन्य हिंसा कम गर्न घरपरिवार, विद्यालय, स्थानिय तह, नागरीक समाज र राज्य स्तरबाट तत्कालै पहलकदमी लिन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस