आन्तरिक पर्यटन प्रवर्द्धनका लागि व्यवसायी देश भ्रमणमा

RSS
0
Shares

काठमाडौं । कोरोना महामारीले प्रभावित नेपालको पर्यटन क्षेत्रलाई उकास्नका लागि पर्यटन बस व्यवसायी देश दौडाहामा लागेका छन् । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)को नेतृत्वमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पर्यटन बस व्यवसायीको समूह लुम्बिनी र बर्दिया भ्रमणमा लागेका हुन् ।

कोरोना संक्रमणसँगै नेपाल पर्यटन वोर्डको सहकार्यमा लुम्बिनी र बर्दियामा हुन लागेको ‘हेल्थ प्रोटोकल कम्युनिकेशन तालिम’मा भाग लिनका साथै देशभरका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटक बस सञ्चालनका लागि आज बुधवार देखि देश दौडाहामा लागिएको टिवानका अध्यक्ष ईश्वर शर्माले जानकारी दिए ।

“लुम्बिनी र बर्दिया भ्रमण गर्न लागेको उक्त टोलीले काठमाडौंबाट लुम्बिनी र बर्दियामा सीधा पर्यटकीय बस सञ्चालनका लागि त्यहाँका पर्यटक व्यवसायीसँग समेत छलफल गर्ने कार्यक्रम रहेको छ”, अध्यक्ष शर्माले भने ।

टिवानले नेतृत्व गरेको २० जनाको उक्त समूहमा नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईँ, नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सीज् (नारा) का महासचिव शिशिर खनाललगायतको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?