काठमाडौं– काठमाडौंका मालपोत, नापी र आन्तरिक राजश्व कार्यालयहरूमा चरम बेथिति हुने गरेको फेला परेको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको छड्के निरीक्षणका क्रममा यस्तो पाइएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज नापी कार्यालय डिल्ली बजार, मालपोत तथा भूमिसुधार कार्यालय डिल्ली बजार, नापी कार्यालय कलङ्की, मालपोत कार्यालय कलङ्किकी र आन्तरिक राजश्व कार्यालय कलङ्की गरि ५ वटा सरकारी कार्यालयमा छड्के अनुगमन गरेको हो।
नापी कार्यालय कलङ्केका ५९ जना मध्ये प्रमुख नापी अधिकृत (कार्यालय प्रमुख) सहित १७ जना गैर हाजिर रहेको, मालपोत कार्यालय कलङ्माकी ४९ जना मध्ये मालपोत अधिकृत सहित ३ जना गैर हाजिर रहेको, नापी कार्यालय डिल्लीबजारमा २३ जना मध्ये २ जना गैर हाजिर रहेको, आन्तरिक राजश्व कार्यालय कलङ्कीमा २९ जना मध्ये ९ जना गैर हाजिर रहेको र भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा १२ जना गैर हाजिर रहेका साथै २० जना कर्मचारीले नेपाल सरकारले तोकेको ड्रेस कोडको पालना नगरेको पाइएको छ ।
यसरी २०० जना कर्मचारी मध्ये ४३ जना गैर हाजिर भएका र २० जनाले तोकिएको ड्रेसकोड नलगाएको पाइएको हो । सवै कर्मचारीमा एकरुपता कायम गरी तडक भडक हुन नदिन नेपाल सरकारले हरेक वर्ष प्रति कर्मचारी १० हजार रुपैया युनिफर्मका लागि चैत्र महिनाको तलवसँगै दिने गरेको छ।
कतिपय कर्मचारीहरु सुविधा लिने तर युनिफर्म नलगाउने गरेको पाइएको छ । यसरी कानूनको उल्लङ्घन गर्ने कर्मचारीलाइ पहिलो चरणमा स्पष्टिकरण लिइन्छ र स्पष्टिकरण चित्तवुझ्दो नभएमा कानून बमोजिम विभागीय सजाय हुने ब्यवस्था रहेको छ ।
सुशासन ऐन,२०६४ र नियमावलीले जिल्लामा सुशासन कायम गर्न प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारीले नियमित रुपमा जिल्ला स्थित सरकारी कार्यालयहरुको छड्के निरीक्षण गर्ने र कैफियत देखिएमा नियमानुसार कारवाही गर्ने कानूनी ब्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया