पछिल्लो २४ घण्टामा काठमाडौँसहित ७ जिल्लामा आगलागी, कति भयो क्षति ?

RSS
0
Shares

काठमाडौँ– मुलुकका विभिन्न क्षेत्रमा पछिल्लो चौबिस घण्टामा भएका आगलागीमा परेर मानवीय क्षतिसँगै लाखौको भौतिक वस्तु नोक्सानी भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँसहित सुनसरी, मोरङ, लमजुङ, सिन्धुली, सोलुखुम्बु, भोजपुरलगायत जिल्लामा आगलागीका घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आगलागीमा परी एकको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । आगलागीमा रु १० लाखभन्दा बढीको क्षति भएको प्राधिकरणका प्रवक्ता जनार्दन शर्माले जानकारी दिए । मोरङको रतुवामाई नगरपालिका–४ आमबारीकी ४९ वर्षीया महिलाको आगोले पोलेर मृत्यु भएको जनाइएको छ । आगोले पोलेर घाइते भएकी उनको उपचारका क्रममा ज्यान गएको हो ।

मोरङकै उर्लाबारीस्थित चुलोबाट आगो परालको माचमा सल्की दुई वटा गोठमा आगलागी हुँदा पूर्णरुपमा जलेर नष्ट भएको र यहाँस्थित रङ्गेली नगरपालिका–८ चाइनागेटस्थित एक घरको भान्सामा अचानक आगलागी हुँदा अन्नपात, भाँडावर्तन, काठपातसहित लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।

सुनसरीको हलैया भन्ने स्थानमा घुर ताप्ने क्रममो साडीमा आगो सल्किँदा एक महिलाका घाइते भएको र लमजुङ सुन्दरबजार नगरपालिका–६ खत्रीठाँटीमा मकलमा आगो राखी ताप्ने क्रममा अचानक साडीमा आगो सल्किँदा महिला घाइते भएको जनाइएको छ । उनलाई थप उपचारका कीर्तिपुर अस्पताल ल्याइएको प्राधिकरणले जनाएको छ ।

यस्तै काठमाडौँको नेपालटारस्थित कुखुराको पोल्टी फर्ममा विद्युत् सर्ट भई आगालागी हुँदा चार हजार बढी कुखुरा पूर्णरुपमा जली नष्ट भएको र त्यहाँ रु छ लाख ५२ हजार बढी क्षति भएको जनाइएको छ ।

सिन्धुली सुनकोशीस्थित जङ्गलमा र सोलुखुम्बुको दोधीस्थित एक घरमा खाना पकाउने क्रममा प्रेसरकुकर पड्की आगलागी हुँदा रु दुई लाख ५० हजार बढीको क्षति भएको छ । उता भोजपुरको खकल्लास्थित एक घरमा खाना पकाउने चुल्लोबाट अचानक आगो सल्की आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको प्राधिकरणले उल्लेख गरेको छ ।

प्राधिकरणका अनुसार यही वैशाखयता आगलागीका मात्रै एक हजार ६०० घटना भएको छ । उक्त घटनामा ५९ जनाको मृत्यु भएको र २८१ जना घाइते भएको जनाइएको छ । आगलागीबाट अहिलेसम्म रु एक अर्बभन्दा बढीको क्षति भएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?