नेकपाको विवाद निरुपणनै भएको छैन, अनि कसरी समयमै निर्वाचन होला ? : यादव

लोकपथ
0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता राजकिशोर यादवले नेकपाको आन्तरिक कलहले गर्दा देश अहिले विषम परिस्थितिबाट गुज्रिएको टिप्पणी गरेका छन् ।

उनले भने,‘अहिले नेपाल विषम परिस्थितिबाट गुज्रिरहेको अवस्था छ । अनपेक्षित घट्ना घटित भैरहेका छन् । नेकपालाई नेपाली जनताले झण्डै दुई तिहाई जनमत दिएर सरकारमा पठाएको हो । जनताले नेकपालाई देशलाई स्थिरता र समृद्धितर्फ लैजान जनादेश दिएका थिए । तर, नेकपाको आन्तरिक विवाद र कलहले गर्दा आज मुलुक नै एकप्रकारको विषम परिस्थितिबाट गुज्रिनुपरेको छ । संसद विघटन गरिएको छ । त्यसको विरुद्धमा नेकपाकै अर्को प्रमुख नेताहरुले अहिले सडक आन्दोलन र संघर्ष गरिरहेका छन् । यो विषयमा सर्वोच्च अदालतमा छलफल भैरहेको छ । नेपाली समाज विभाजित र अन्यौलग्रस्त अवस्थामा आज छ ।’

पूर्वमन्त्रीसमेत रहेका यादवले अहिलेको घट्नालाई राजनीतिक विकासक्रमलाई गम्भीरतापूर्वक लिनुपर्ने पनि जोड दिए । उनले भने,‘लोकतान्त्रिक राजनीतिक अभ्यासकै कुरा गर्ने हो भने २००७ सालदेखि अहिलेसम्म विभिन्न चरणमा संविधान लेखनका काम भए । लोकतन्त्र संस्थागत गर्ने काम भयो । र फेरि पछाडि फर्किने काम भयो । अहिले चुनाव कि संसद पूनर्स्थापना भनेर जवाफ खोज्नुभन्दा यो स्थिति बारम्बार किन उत्पन्न हुन्छ ? भनेर सोध्नुपर्छ । दुई तिहाईको प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस नगरी जुन अवस्था आयो । यो गम्भीर राजनीतिक दुर्घटना हो ।’

उनले नेपालको संविधान अनुसार संसद् विघटनको कार्य आपत्तिजनक भएको पनि टिप्पणी गरे । उनले भने–‘यो विघटन असंवैधानिक, अलोकतान्त्रिक हो , संविधानमा नै नभएको, हुँदै नभएको अधिकार प्रयोग भएको छ । सामान्य कानूनको अध्ययन गर्नेले यो कुरा भन्नसक्छ । यो घट्ना घटित भयो भनेर बुझ्नुहुँदैन । संविधान निर्माण प्रक्रिया नै गलत भयो भनेर हामीले त विमति राखेका थियौं । त्यतिवेला हामीलाई क्षेत्रियता, जातीयतावादी, विखण्डनवादी भनियो । संसद विघटन यो असंवैधानिक कार्य हो । संविधान लेखन प्रक्रिया नै त्रुटिपूिण भएकोले यो घट्ना घटित भएको हो । संविधान निर्माण प्रक्रिया नै रातारात मिलेर त्यो पनि सीमित नेता मिलेर फाष्ट–ट्रयाकमा जारी गर्ने कोशिस भयो, त्यसको परिणीतिले आज मुलुकले यो अवस्था भोग्नुपरेको छ । नेपाली जनताले अब हिजो कुन-कुन नेताले कसरी भूमिका खेले, त्यसलाई मूल्यांकन गर्नुपर्छ । जे भैरहेको छ, त्यो राम्रो भैरहेको छैन् । अब जनताले चाहेको राजनीतिक प्रणली र विकास, त्यो अनुसार अघि बढ्नुपर्छ । मुलुकको लोकतन्त्र स्थापित हुन्छ ।’

उनले प्रधानमन्त्री ओलीले चुनाव घोषणा गरेको सुनाउँदै भने–‘चुनावको मिति घोषणा गरिएको छ, वैशाखमा चुनाव हुने कुनै छाँटकाँट देखिएको छैन् । नेकपाको दाहाल–नेपाल पक्ष निर्वाचन आयोग गएको स्थिति छ । पार्टीको विवाद निरुपणनै भएको छैन, अनि कसरी समयमै निर्वाचन होला ? प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा मुद्दा विचाराधिन छ । राजनीति अनिश्चिततातर्फ गैरहेको छ । यो शुभसंकेत होईन् ।’

यादवले संसद पूनर्स्थापना हुन्छ भनेर अहिले कसरी भन्न सकिन्छ ? भन्दै आफूहरु अदालतको निर्णयको प्रतिक्षामा रहेको सुनाए । उनले भने,‘अहिले यस सम्बन्धमा टिकाटिप्पणी गर्नुभन्दा पनि अदालतले सम्मानजनक निर्णय गर्ला । र, अदालतको निर्णय आएपछि हाम्रो पार्टीले आधिकारिक निर्णय गर्ला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?