भारतीय बजेट : कति आउँछ नेपाललाई सहयोग ?

काठमाडौं । भारत सरकारले आर्थिक वर्ष सन् २०२१/२२ को वार्षिक बजेट सार्वजनिक गरेको छ ।

भारतमा बजेट आएपछि नेपालमा पनि त्यसको प्रभाव स्वतः पर्ने गर्छ । कोरोना महामारीका कारण विश्वका हरेक मुलुकको अर्थतन्त्र प्रभावित भएका बेला बजेटमा सहायता ,अनुदान, सहुलियत लगायतका प्याकेज स्वभाविक रुपमा बढाएका छन् ।

भारत सरकारले हरेक वर्षको बजेटमा नेपाल, भुटान, माल्दिभ्स लगायतका विभिन्न मुलुकलाई अनुदान दिँदै आएको छ । कोरोना महामारीले अर्थतन्त्र प्रभावित भएपनि भारत सरकारले दिने अनुदानमा वृद्धि गरेको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले लोकसभामा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपालसहित अन्य मुलुकलाई दिइने अनुदान सहयोगमा वृद्धि गरेको बताएकी छिन् ।

यस वर्ष भारतले नेपाललाई यो वर्ष ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रूपैयाँ) अनुदान दिन लागेको हो । सो अनुदान गत वर्षको तुलनामा करिब १ अर्ब ९२ करोड भारुले बढी हो । गत वर्ष भारतले नेपाललाई ८ अर्ब भारु (१२ अर्ब ८० करोड) रुपैयाँ अनुदान उपलब्ध गराएको थियो ।

त्यस्तै, भारत सरकारले भुटानलाई ३० अर्ब ४ करोड ९५ लाख भारु अनुदान दिने भएको छ । यो अनुदान सहयोग अन्य मुलुककलाई भन्दा बढी हो । त्यस्तै,अफगानिस्तानलाई ३ अर्ब ५० करोड, माल्दिभ्सलाई २ अर्ब ५० करोड बंगलादेश र श्रीलंकालाई २/२ अर्ब, भारु अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?