काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारी पक्षको बहस भइरहेको छ ।
आइतवारसम्म रिट निवेदकको बहस सकिएसँगै सोमवारबाट सरकारी पक्षले बहस शुरु गरेको हो ।
आजको बहसका क्रममा महान्यायधीवक्ता अग्निप्रसाद खरेलले अहिले ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ भन्ने गीत जस्तै केही व्यक्तिहरुले विघटित प्रतिनिधि सभा माग गरिरहेको टिप्पणी गरेका छन् ।
यसअघि रिट निवेदकका तर्फबाट बहस गरेका बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले ‘नबिर्सें तिमीलाई न पाएँ तिमीलाई’ भन्ने गीत सम्झँदै आफ्ना कुरा राखेका थिए।
मंगलवार बहस गर्दै महान्यायाधीवक्ता खरेलले दुई दुईवटा संविधान सभाले बनाएको संविधानको कुरा नमिल्दो भएको भनेर अधिवक्ता घिमिरेले गाएको गीतको प्रशंग कोट्याँउदै गीत गुनगुनाएका थिए ।
उनले भने । “दुई/दुई वटा संविधान सभाले बनाएको संविधानको कुरा अमिल्दो कुरा भयो भनेर एकजना विद्वानले गीत गाउनुभयो। मलाई त गीत गाउन आउँदैन म बाथरूम सिंगर हो। खास उहाँले गाउनु पर्ने गीतचाहिँ नाइँ मलाई त्यही केटी चाहिन्छ भन्ने हो”।
महान्यायाधिवक्ता खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भए तापनि संविधानसम्मत भएको तर्क समेत गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरूद्धको रिट निवेदनमाथि पन्ध्रौं दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता खरेलले विघटन संविधानसम्मत भएको धारणा राखे।
महान्यायाधिवक्ता खरेलले २०५१ सालमा पनि बहुमतको सरकार हुँदाहुँदै विघटन गर्नुपरेको स्मरण गराउँदै वर्तमान सरकारले पनि पाँच वर्षको कार्यकालका लागि निर्वाचन भए पनि कार्यकाल पूरा गर्न नपाउँदा निर्वाचनमा जानुपरेको स्पष्ट पारे । सरकारका प्रमुख कानूनी सल्लाहकारले जनमतको सौदाबाजी गर्नुभन्दा पुनः जनमतमै जानु न्यायोचित हुने ठहर गरिएको जनाए ।
पहिलो र दोस्रो पटकको प्रतिनिधिसभा विघटन पनि मन्त्रिपरिषद्को निर्णयबाटै भएको स्मरण गराउँदै उनले अहिले पनि मन्त्रिपरिषद्कै निर्णयबाट विघटन भएको बताए । “रिट निवेदनमा राष्ट्रपतिको भूमिका असंवैधानिक भएको भन्ने प्रश्न उठाइए पनि जनतामा जाने राष्ट्रपति नभई प्रधानमन्त्री नै हो”, उनले भने, “विघटन भएको प्रतिनिधिसभा फेरि ब्युँतिने अवस्था छैन, प्रतिनिधिसभा मरेको नभई निर्वाचनमा जान मात्र विघटन गरिएको हो । ” उनले बनेको सरकारलाई काम गर्न नदिई प्रधानमन्त्रीको खुट्टा बाँधिदिएपछि कसरी काम गर्ने भन्ने प्रश्न गर्दै यस्तो अवस्थामा विघटनको विकल्प नभएको तर्क राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया