आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेका झलनाथ खनालको प्रतिक्रिया यस्तो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफ्नो समूहले नै आधिकारिकता पाउने दाबी गरेका छन् ।

मंगलवार बिहान प्रचण्ड-नेपाल पक्ष आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेको थियो ।

आयोगसँगको छलफलपछि सञ्चारकमीहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता खनालले ४४१ सदस्यीय केन्द्रीय कमिटीमध्ये आफूहरुसँग झण्डै ७० प्रतिशत भएकाले आधिकारिकता पाउने दाबी गरे ।

आज उक्त पक्षले आयोगमा २७५ जनाको हस्ताक्षरसहित आधिकारिकता दाबी पेश गरेको गरेको छ । आधिकारिकता दाबी पेश गरेसँगै आफ्नो पक्षले नै आधिकारिकता पाउनेमा आफू विश्वस्त रहेको बताए ।

त्यस्तै विधानकै आधारमा आफूहरुले आधिकारिकता पेश गरेको बताए । ‘तथ्य, प्रमाण निर्णय र विधान सबै कुरालाई राखेर दाबी गरेका छौं। अहिले नेकपा भनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको पार्टी नै आधिकारिक हो भन्ने दाबी प्रस्तुत गरेका छौं।’ उनले भने ।

कानूनी रुपमा पार्टी नफुटेपनि नेकपा दुई भागमा विभाजन भएको र बालुवाटारको एउटा सानो टुक्रा पार्टीबाट फुटेर गएको टिप्पणी गरे । ‘विगतमा आ(आफूले कुरा राखियो होला। राजनीतिक रूपले दुई वटा समूह भए। विभाजित त भयो, कानुनी रूपमा पार्टी नफुटे पनि,’ खनालले भने, ‘त्यो सानै समूह भए पनि बालुवाटार एउटा टुक्रा त हो। यही पार्टीबाट फुटेको सानो टुक्रा हो। त्यसलाई पार्टी फोर्ने त तागत नै भएन। हामी नै आधिकारिक हो भन्ने दाबी गर्‍यो। संविधानले दिएको स्वतन्त्रता उपभोग गर्‍यो।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?