भक्तपुर । चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को छ महिनामा कूल बजेटको ३१.४३ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । आव २०७७/७८ को अर्धवार्षिक समीक्षामा शुरु गर्दै नगरपालिकाको आठौँ नगरसभामा सो जानकारी दिइएको हो ।
सोमबारबाट शुरुआत भएको नगरसभामा नगर प्रमुख सोमप्रसाद मिश्रले बजेट विनियोजनतर्फ प्रगति कमजोर भएको बताए । उनले कोभिड–१९ का कारण आ.वको छ महिनामा लक्ष्यअनुरुप प्रगति हासिल गर्न नसकेको जानकारी दिए । उनले बाँकी छ महिनालाई लक्ष्य हासिल गर्ने उद्देश्यअनुरुप कार्यक्रम अगाडि बढाउने तय भएको बताए ।
कार्यक्रममा उपप्रमुख बिना बास्तोलाले चालु आवको अर्धवार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै चालु आवमा कूल एक अर्ब ४८ करोड २७ लाख तीन हजार ६०० विनियोजन गरे पनि ४६ करोड ६० लाख ४६ हजार ५०० खर्च भएको उल्लेख गरिन् । यसमा पूजीँगततर्फ ८१ करोड २५ लाख ९० हजार बजेट विनियोजन गरिएकामा हालसम्म २४ करोड ४६ लाख ७५ हजार ६२४ खर्च भएको छ ।
कूल बजेटको चालुतर्फ ६७ करोड एक लाख १३ हजार ६०० बजेट विनियोजन गरेकामा २२ करोड १३ लाख ७० हजार ८१७ अर्थात् ३३.०३ प्रतिशत रकम खर्च भएको छ । नगरपालिकाले चालु आवमा २८ करोड ७१ लाख ६० हजार राजश्व सङ्कलन गर्ने प्रक्षेपण गरिएकामा सात करोड २६ लाख ७६ हजार ८४४ अर्थात् २५.३० प्रतिशतमात्रै लक्ष्य हासिल गरेको छ ।
नगरपालिकाले शिक्षा, युवा तथा खेलकूद विकासअन्तर्गत कूल तीन करोड २८ लाख ७० हजार बजेट विनियोजन गरेकामा १८ लाख ४६ हजार ४५ अर्थात् ५.६० प्रतिशतमात्रै खर्च भएको छ । स्वास्थ्यतर्फ नगरपालिकाले तीन करोड ३५ लाख बजेट विनियोजन गरेकामा छ महिनाको अवधिमा जम्मा १७ लाख ९४ हजार ९६३ अर्थात् ५.३० प्रतिशत खर्च भएको छ ।
नगरसभामा प्रस्तुत प्रतिवेदनअनुसार सहकारी प्रवद्र्धन, उद्यमशीलता विकास कार्यक्रम तथा गरिबी निवारण कार्यक्रम, विपद् व्यवस्थापन, पूर्ण सरसफाइ ताथ बास कार्यक्रमलाई प्रभावकारी बनाउने प्रयास गरिरहेको उपप्रमुख बाँस्तोलाले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया