निर्णय भए पनि खुलेनन् सीमानाका, यात्रुलाई सास्ती

RSS
0
Shares

महेन्द्रनगर । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत वर्ष चैतदेखि नेपाल–भारत सीमा नाकामा गरेको कडाइ सरकारले खुलाउने निर्णय गरे पनि कार्यान्वयनमा आइसकेको छैन । तीन दिनअघि सरकारको मन्त्रिपरिषद्बाट सुदूरपश्चिममा रहेका नेपाल–भारत सीमानाका खुला गरे पनि यात्रुहरुलाई भने स्थानीय प्रशासनले सहजरुपमा आवागमन गर्न नदिएको गुनासो छ ।

कञ्चनपुरसित जोडिएको गड्डाचौकी नाका र डोकेबजार नाकाबाट भारतमा मजदूरीका लागि जाने नेपालीलाई प्रक्रिया पूरा गरेर जान दिइए पनि यात्रा भने सहज नभएको उनीहरुको भनाइ छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सीमा नाका निर्वाधरुपमा खुला नरहेको जानकारी दिए ।
“मन्त्रिपरिषद्ले गरेको निर्णयका विषयमा हामीले बोल्न मिल्दैन”, उनले भने, “औषद्योपचारलगायत अत्यावश्यक कामका लागि हामीले सिफारिस गरेको आधारमा भारत आउने/जाने भइरहेको छ ।”

उनले नाका सुचारु भएको विषयमा प्रशासन कार्यालयले सूचनासमेत जारी नगरेको बताए । भारत जाने नेपालीलाई भारतीय पक्षबाट पनि यहाँका नाकामा रोकटोक छैन । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले नाका खुलाउने विषयमा भारतीय पक्षसित पनि समन्वय हुनुपर्नेमा जोड दिए । “मन्त्रिपरिषद्को निर्णयले यहाँ झन अलमल जस्तो भयो”, उनले भने, “नेपाली पक्षले मात्रै खुलाएर भएन भारतीय पक्षसित पनि समन्वय गरेर नाका निर्वाधरुपमा सञ्चालन गर्नपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?