प्रचण्ड–माधव पक्षको आरोप: ‘प्रधानमन्त्री ओली हिन्दु राज्य बनाउने प्रयासमा’ (भिडियो)

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनालले संसद पुर्नस्थापनाको विकल्प नभएको बताएका छन् ।

आइतवार प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै बरिष्ठ नेता खनालले प्रतिनिधि सभा पुर्नस्थापनाको विकल्प नभएको बताएका हुन् । नेपाली जनताले प्राप्त गरेका अधिकार र संविधानको रक्षाको निम्ति संसदको पुर्नस्थापना गर्नुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री ओली फेल भइसकेको भन्दै नेता खनालले प्रधानमन्त्री ओलीको दिनगन्ति शुरु भइसकेको बताए । सरकार पाकेको फलझै झर्ने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली हिन्दु राज्य बनाउने प्रयासमा लागेको बताए । प्रधानमन्त्री ओली पक्षले पुष २३ गते काठमाडौँमा गर्ने भनेको जनसभामा राजावादीहरु पनि सहभागी हुने कुरा सुनेको भन्दै पाण्डेले प्रधानमन्त्री ओलीले २३ गतेको जनसभामा नै हिन्दु राज्य घोषणा गर्ने चर्चा रहेको पनि बताए । प्रधानमन्त्री ओली संविधान मार्ने कुचेष्टा गर्दै गलतबाटोमा लागेको उनको भनाइ छ ।

नेकपा प्रचण्ड–माधव पक्ष स्थायी कमिटी सदस्य पम्फा भुषालले प्रधानमन्त्री ओलीले संविधानलाई समाप्त गरी हिन्दु राज्य स्थापनाको षडयन्त्र गरेको बताए । प्रधानमन्त्री ओली प्रतिक्रियावादीको मतियार बनेर इतिहासको कुपात्र बनेको भन्दै उनले ओलीबाट थप कदम सम्भव नभएको बताए ।

पुष १४ गतेदेखि माइतिघर मण्डलामा जारी धर्ना आइतवार समाप्त गरिएको छ । २१ गतेसम्मको पूर्व निर्धारित कार्यक्रम भएपनि आगामी संघर्षको कार्यक्रमको तयारीमा लाग्नुपर्ने भएकोले आइतवार नै धर्ना कार्यक्रम समाप्त गरिएको नेकपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?