काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको नयाँ नेतृत्वले परिणाम देखिने गरी काम गर्ने बताएका छन् । धादिङ उद्योग वाणिज्य संघको २७ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
महासंघको नयाँ नेतृत्व युवा र केही गरौं भन्ने हुटहुटीसहितको टीम भएकाले काम गरेर देखाउने दाबी उनको थियो । नयाँ नेतृत्व आइसकेपछि नेतृत्वको पूर्णताका लागि अहिले विभिन्न विषयगत समितिहरु बन्ने क्रममा रहेको वरिष्ठ उपाध्यक्ष ढकालले बताए । ‘समितिहरुले पूर्णता पाएसँगै महसुस गर्ने गरी र परिणाम देखिने गरी काम गर्नेछौं ।’ ढकालले भने । त्यस्तै, उनले जिल्ला नगरका समस्याहरु लगभग एकै प्रकारका हुने भन्दै ती समस्याको समाधानमा महासंघको नेतृत्व जिम्मेवार भएर लाग्ने बताए ।
देशभित्रै रोजगारी सृजना गर्न र बढीभन्दा बढी राजश्व संकलनका लागि तीनतहको सरकारको तर्फबाट व्यवसाय र व्यवसायीलाई सहजीकरण गर्नुपर्ने बताउँदै रोजगारी र राजश्वको पहिलो लाभग्राही स्थानीयतहहरु भएकोले स्थानीय तहले लगानीमैत्री वातावरण बनाउन विशेष पहल गर्नुपर्नेमा ढकालको जोड थियो । ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेक ढकालले महासंघको तर्फबाट मात्र नभई एउटा बैंकको अध्यक्षको हैसियतमा पनि आफूले स्थानीय कृषकहरुलाई बिना धितो कर्जा प्रवाह गर्न आफूँहरु तयार रहेको बताए ।
धादिङ्ग जिल्लाको तरकारी उत्पादनलाई भण्डारण गर्न कोल्डस्टोर बनाउन स्थानीय सरकार तथा व्यवसायीहरुले ५० प्रतिशत रकम जुटाएर आएमा महासंघको तर्फबाट बाँकी रकम जुटाउन आफूले पहल गर्ने प्रतिवद्धता समेत उनले गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया