नेपालमा बर्ड फ्लू पुष्टिः भारतलाई थिलथिलो बनाएको देख्दादेख्दै कहाँ चुक्यो नेपाल ?

कोरोनाका बीच थपिएको बर्ड फ्लूबाट जोगिन सरकारको अपिल

काठमाडौं । नेपालमा बर्ड फ्लू भित्रिएको पुष्टि भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लू भेटिएको हो । घरमा पालेका टर्की र हाँस एकाएक मर्न थालेपछि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा नमूना परीक्षण गर्दा मृत पन्छीहरुमा बर्ड फ्लूको संक्रमण भेटिएको हो ।

संक्रमण भेटिएको क्षेत्रका करिब २३ सय घरपालुवा पन्छी र तीसँग सम्बन्धित वस्तु पनि नष्ट गरिएको छ । जसमा १ हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना रहेका छन् । यसअघि वि.सं २०७५ साल चैत्रमा पनि काठमडौँको तारकेश्वर र टोखा नगरपालिकामा २५ हजार भन्दा बढी कुखुराको बर्ड फ्लूका कारण मृत्यु भएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु सेवा विभागले प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।

प्रेस विज्ञप्तिमा जनाइए अनुसार रोग देखिएको क्षेत्रलाई पूर्णरुपमा ‘निसंक्रमण’ पारेर रोग नियन्त्रणमा लिइएको छ ।

यद्यपि देशभित्रै पसिसकेको रोग अन्य क्षेत्रमा फैलिएको नहोला वा फेरि देखा नपर्ला भनेर ढुक्क रहने अवस्था छैन ।

भारतमा बर्ड फ्लू

कोभिड १९ को महामारीसँग जुध्दै गरेको भारतलाई केही समय अघि बर्ड फ्लूले थिलथिलो बनाइदिएको थियो । कोरोना महामारीविरुद्ध लाखौँको सङ्ख्यामा खोप लगाउने अभियानको तयारी शुरु गरिरहँदा भारतमा बर्ड फ्लूको नयाँ सङ्कट आइपरेको थियो ।

राजस्थानबाट शुरु भएको बर्डफ्लू अहिले भारतको १२ वटा राज्यमा फैलिसकेको छ । उत्तरप्रदेश, राजस्थान, मध्य प्रदेश, हिमाचल प्रदेश, हरियाणा, केरला, गुजरात, महाराष्ट्र, पञ्जाब, जम्मु, कश्मीर र छत्तीसगढमा बर्ड फ्लू पुष्टि भएको छ । भारतको राजधानी दिल्लीमा समेत बर्ड फ्लू पुष्टि भइसकेको छ ।
पहिलोपटक राजस्थानमा सन् २०२० को डिसेम्बर २५ मा बर्ड फ्लू देखिएको थियो । एकाएक कुखुरा तथा हाँसको मृत्यु हुन थालेपश्चात् परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको थियो ।

पछिल्लो महिनाभित्रै हरियाणामा ४ लाख भन्दा बढी पन्छीहरुको मृत्यु भइसकेको छ । त्यस्तै केरलामा १२ हजार हाँसको मृत्यु भएपछि संक्रमण फैलिनबाट रोक्न राज्यको मापदण्डअनुसार विभिन्न ३६ हजार भन्दा बढी पन्छी मारिएको छ ।

राजस्थानका १७ वटा जिल्लामा बर्ड फ्लूको संक्रमण पाइएको छ भने करिब ७ हजार पन्छीहरुको मृत्यु भइसकेको छ ।

भारत सरकारले उच्च सतर्कता जारी गर्दै बर्ड फ्लू फैलिन नदिनका लागि आपत्कालीन उपायहरू अपनाउन भनेको छ । मानिसहरूलाई मरेका वा बिरामी देखिएका चराहरू नछुन भनिएको छ । केही जिल्लाहरूमा पन्छी बिक्री गर्ने पसलहरू समेत बन्द गरिएका छन् भने अन्डा बिक्रीको काममा समेत रोक लगाइएको छ ।

विभिन्न प्रयासका बावजुत पनि परिस्थिति अझै नियन्त्रणमा भने आइसेको छैन ।

कहाँ चुक्यो नेपाल ?

भारतमा बर्ड फ्लूको आतंकले मच्चाएको भयावह अवस्थाबारे अपडेट रहेको नेपाल आफ्नो देशलाई बर्ड फ्लूबाट जोगाउन कहाँ र कसरी चुक्यो ? नेपालले सुरक्षा तयारी गरेको थिएन ?

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेका अनुसार भारतमा बर्ड फ्लू भयावह हुन थालेपछि मन्त्रालयले सीमा जोडिएका जिल्लाहरुमा सावधानी अपनाउन निर्देशन जारी गरिएको थियो ।
मन्त्रालयले भारतसँग जोडिएको प्रदेश २ का आठवटै जिल्ला पर्सा, बारा, रौतहट, सर्लाही, सप्तरी, सिराहा, धनुषा र महोत्तरीमा सुरक्षा सतर्कता अपनाउन जिल्ला पशु कार्यालयलगायत सम्बद्ध निकायमा खबर गरेको थियो । साथै स्थानीय निकायहरूलाई सुरक्षा व्यवस्थाका लागि थप जनशक्ति तथा मेशिनरी सामाग्र आवश्यक परेमा जानकारी गराउन समेत मन्त्रालयले निर्देशन दिएको डा.घिमिरेले लोकपथसँग बताए ।

नेपालमा बर्डफ्लू भित्रिन नदिन प्रदेश २ को आठवटै जिल्लाको दक्षिणी सीमासँग जोडिएको नाकामा रहेका सशस्त्र प्रहरीलाई निगरानी बढाई थप कडाइ गर्न भनेर परिपत्र गरिएको थियो ।

प्रदेश नं २ को सप्तरीदेखि पर्सासम्म ४६४ किलोमिटर दक्षिणी सीमा क्षेत्र भारतसँग जोडिएको छ र उक्त सीमा नाकामा ६७ वटा बिओपी र ३५ वटा एफओपी को पोष्ट रहेको छ । ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट पन्छीजन्य वस्तुको आयातमा रोक लगाउन भनी निर्देशनसमेत दिइएको थियो ।

यदि उल्लेखित उपायहरु कडाईका साथ लागू गरिएको थियो भने कसरी नेपाल भित्रियो त बर्ड फ्लू ?

प्रश्न जायज छ ।

नेपालमा बर्ड फ्लू पुष्टि भएपछि मन्त्रालयले जारी गरेको निर्देशन अनुरुप फिल्डमा कडाईका साथ पालना नगरिएको सरोकारवालाको ठम्याइ छ । बर्ड फ्लू फैलिएको खबरपछि भारतभर कुखुराको मूल्य सस्तो भएको मौका छोपी व्यापारीहरुले खुल्ला सीमाको फाइदा उठाएको हो कि भन्ने लख स्वभाविक हो ।
व्यापारीहरूले भारतबाट कम मूल्यमा कुखुरा ल्याएर नेपाली बजारमा महंगो मूल्यमा बेच्ने दुष्कर्म गरेका कारण नेपालमा रोग भित्रिएको हुनसक्ने अनुमान गरिएको छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयको अबको एक्सन के ?

नेपालमा बर्ड फ्लू पुष्टि भएपछि भारतबाट रोग सार्न सक्ने वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाइएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा निम्नानुसारका नियमहरु पालना गर्न अपिल गरिएको छः

– पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्न गराउन हुन

– फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न÷गराउन हुन

– सम्पूर्ण पन्छीपालक कृषकहरुले फार्म परिसरमा नियमित रुपमा निसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनु हुन

– कुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्रीस्थलमा अस्वभाविक रुपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना गरिदिनु हुन ।

नेपालमा बर्ड फ्लूको संक्षिप्त इतिहास

नेपालमा पहिलोपटक सन् २००९ मा बर्ड फ्लू देखिएको थियो । त्यसपछि हरेक वर्षजसो अथवा केही वर्षको अन्तरालमा बर्ड फ्लू देखिइरहन्छ नेपालमा पनि ।
यसले सबैभन्दा ठूलो क्षति चाहिँ सन् २०१३ मा पु-याएको थियो । त्यसवेला काठमाडौं, चितवन, धादिङ, झापादेखि कैलाली गरी नेपालका २ सय १ वटा ब्रोइलर र लेर्यस कुखुराका फार्महरूमा यसको संक्रमण फैलिएको थियो ।

त्यसैगरी, बर्ड फ्लूकै कारण नेपालमा पहिलोपटक मानिसको ज्यान गएको घटना भने वि.सं २०७५ साल चैत १५ गते भएको थियो । ज्वरो र खोेकीको लक्षण देखिएपछि अस्पताल पुगेका २१ वर्षीय युवामा पछि श्वासप्रश्वासको समस्या पनि देखिएको थियो । उपचारका क्रममा उनको मृत्यु भयो । के कारणले मृत्यु भएको भनेर खुट्याउन नसकेपछि परीक्षणका लागि उनको ¥याल जापानको प्रयोगशालासम्म पु¥याइएको थियो । वि.सं २०७६ साल वैशाख १७ गते बल्ल नमूना परीक्षणको नतिजा आइपुगेको थियो जसमा उनी बर्ड फ्लू संक्रमित रहेको पुष्टि भएको थियो ।

के हो बर्ड फ्लू ?

इन्फ्लूएन्जा भाइरसको कारण चराहरुमा फैलिने एभिएन इन्फ्लूएन्जा नामक संक्रामक महामारी हो बर्ड फ्लू । इन्फ्लुएन्जा भाइरसका तीन समूह हुन्छन् जसमध्ये समूह ‘ए’मा पर्ने भाइरसको संक्रमणबाट चराहरुमा फैलिने महामारी रोगलाई बर्ड फ्लू भन्ने गरिन्छ ।

जंगली चराहरु त्यसमा पनि विशेषगरी सीमसारतिर बस्ने चराहरुमा यो भाइरस पाइन्छ । यसको संक्रमण भने सबै प्रजातिका चराहरुलाई हुने गर्छ । जंगली चराहरुको रोग प्रतिरोधात्मक क्षमता बलियो हुने भएकाले यस भाइरसले घर पालुवा पक्षीजस्तो तिनीहरुलाई थला पार्न सक्दैन । त्यस्ता चराहरुमध्ये पनि विशेष गरेर जंगली हाँसमा यो भाइरसलाई प्रतिरोध गर्ने क्षमता निक्कै बढी हुने गरेको पाइन्छ ।

यस भाइरसको संक्रमणले कुखुरा, टर्की, हाँस जस्ता घरपालुवा चराहरुलाई भने निकै असर पु¥याउँछ । जसको परिणामस्वरुप घरपालुवा चराहरुमा छिट्टै नै यसको संक्रमणले महामारीको रुप लिन पुग्छ ।

***

विश्व कोरोना महामारीसँग लडिरहेका वेला बर्ड फ्लूको महामारीले थप तनावपूर्ण स्थिति निम्त्याउन सक्छ । विशेष गरेर भारतसँग खुल्ला सिमाना भएकाले नेपाल अझै बढी यसको जोखिममा छ । संक्रमण फैलिएपछि त्यसको रोकथामका लागि स्रोतसाधन जुटाउन हम्मेहम्मे पर्ने हाम्रो जस्तो राष्ट्रले यसबाट जोगिने एउटा मात्र भरपर्दो उपाय भनेकै पूर्वतयारी हो । सरकारले तत्काल यसको लागि ठोस कदम नचाले परिस्थिति भयावह हुनसक्ने विज्ञहरुको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?