चीनसँगको नाका सहज नहुँदा मारमा व्यवसायी, सरकारले नसुनेपछि रसुवामा नाराबाजी

काठमाडौँ- नेपाल चीनबीचको रसुवागढी नाका लामो समयसम्म पनि सहज नबन्दा व्यवसायीहरु मारमा परेका छन् । व्यवासायीहरुले लामो समयदेखि नाका सहज बनाउन माग गर्दै आएपनि सुनुवाइ हुन सकेको छैन । जसका कारण नेपाल चीनबीचको रसुवागढी नाकामा अघोषित नाकाबन्दी जस्तै छ ।
कोरोनाभाइरसका कारण गत चैतयता नाका ठप्प्प्राय छ भने चिनियाँ पक्षले कोरोनाकै बहानामा नेपाली व्यवसायी र मालबाहक कन्टेनरलाई प्रवेश प्रतिबन्ध लगाउँदै आएको छ । अहिले नाकाभएर दैनिक ५–१० कन्टेनर मात्रै सामान आउने गरेको छ । जब कि सामान्य अवस्थामा करिब ७० को हाराहारीमा कन्टेनर चीनतर्फ जानुका साथै चीनतर्फबाट पनि नेपाल भित्रिने गरेका थिए ।
अहिले भने चिनियाँ ब्यापारीले नाकासम्म सामान ल्याएर झारिदिने गरेका छन् भने त्यहाँबाट फेरि लोड गरेर नेपाल ल्याउने गरिनुका साथै पहुँच नै नहुँदा अनेकन समस्या निम्तने गरेका छन् ।
नाका खुलाउन नेपाल सरकारबाट कुनै पहल नभएको भन्दै रसुवाका व्यावसायीले शुक्रवार टिमुरेमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा उनीहरुले चीनसँग सहज व्यापार गर्नका लागि पहल गर्नुपर्ने, अघोषित नाकाबन्दी अन्त्य गरिनुपर्ने लगायतका चर्का नारा लगाएका थिए । रसुवा केरुङका व्यवसायी सुरेश थोक्रा सुरेश थोक्राले लामो समयदेखि आफूहरुले नाका सहज बनाउन सम्बन्धित निकायमा ध्यानाकर्षण गराएपनि सुनुवाइ हुन नसकेपछि बाध्य भएर विरोध प्रदर्शन गरेको बताए ।
शुक्रवारको विरोध प्रदर्शनमा व्यवसायीहरु करिब ६०–७० जनाको स्वतस्फूर्तरुपमा सहभागिता रहेको थियो । ‘हिजोका दिनमा ७० वटा गाडी नेपालबाट चाइनतर्फ र चाइनातर्फबाट पनि त्यति नै संख्यामा नेपाल भित्रन्थे’, उनले भने, ‘अहिले मुस्किलले ५ वटा गाडीमा सामान आउँछ । यसरी कसरी व्यापार हुनसक्छ ?’ उनले चीनतर्फ नेपाली कसैलाई प्रवेश नदिएको भन्दै चिनियाँ व्यापारीले नै सीमासम्म सामान अनलोड गरिदने गरेको तर त्यसरी ल्याउँदा अपर्याप्त हुनुका साथै अनेकन समस्या सिर्जना भएको बताए ।
‘सामान हराउने, फ्ुट्ने, झन्झटिलो हुनु त एकातिर छ नै प्रवेश नै नदिएपछि थप समस्या भयो’, उनले भने, ‘राज्यका जिम्मेवार निकाय गम्भीर बन्नु जरुरी छ ।’ उनकाअनुसार सहज अवस्थामा चीनमा पुगेका करिब १०० कन्टेनर अहिलेपनि नेपाल भित्रिन नपाएको समेत बताए । कोरोनापछि चीनले विश्वभर व्यापार सञ्जाल फैलाइसकेको अवस्थामा नेपालसँगको नाका भने अझै सहज नबनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?