निर्वाचन आयोग पुगेर ओली पक्षले भन्यो- ‘दल दर्ताको प्रक्रिया अगाडि बढाउनुस्’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले निर्वाचन आयोगलाई दल दर्ताको प्रक्रिया अघि बढाउनका लागि आग्रह गरेको छ ।

शुक्रवार (आज) निर्वाचन आयोग पुगेको ओली पक्षले आयोगका पदाधिकारीहरुसँग छलफल गर्दै त्यस्तो आग्रह गरेका हुन् ।

आज ओली पक्षका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ लगायतका नेताहरुले आयोगका पदाधिकारीहरुसँग छलफल गरेका हुन् ।

सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेकाले दल दर्ताको प्रक्रिया अगाडी बढाउनका लागि जोड दिएका छन् ।

छलफलपछि नेता नेम्वाङले भने- “दल दर्ता अगाडि बढाउनुस्, हामी प्राथमिकता दिएर सहयोग गर्छौं भनेका छौं,’ आयागले पनि सर्वोच्चले अन्यथा आदेश नगरेमा तोकिएकै समयमा चुनाव गर्न प्रतिबद्ध छौं भनेको छ ।”

संसद विघटनपछि दुई भागमा विभाजित नेकपाको दुवै समूहले आफूलाई आधिकारीक मानिरहेको छ । तर आयोगले दुवै पक्षलाई आधिकारिकताको मान्यता दिएको छैन् । तर नेताहरुले आफ्नो पक्षले आयोगको निर्णयअनुसार अघि बढेको बताउँदै निर्वाचनबाट सबै टुंगो लगाउने बताएका छन् ।

“केही साथीहरुलाई हामी आधिकारिक हौं भन्ने लागेको छ । अब दल दर्ताको प्रक्रियामा जानुपर्छ, निर्वाचनबाट सबै टुंगो हुन्छ ।” उनले भने ।

निर्वाचन आयोगले बुधवार दुवै ओली र प्रचण्ड-नेपाल समूहलाई पत्र पठाउँदै छलफलका लागि आयोगमा उपस्थित हुन भनेको थियो । ओली पक्षले निर्वाचन आयोगमा उपस्थित भएपनि प्रचण्ड-नेपाल पक्षले भने अध्यक्षहरु उपत्यका बाहिर भएकाले माघ १८ गते यता आयोगमा छलफलका लागि उपस्थित हुन नसक्ने जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?