बल्खु तरकारी बजारमा एनएमबी बैंकको क्यूआर कोड सेवा शुरु : गभर्नर अधिकारीले गरे उद्घाटन

काठमाडौं । एनएमबी बैंक लिमिटेडले बल्खु तरकारी बजारमा क्यूआर कोड मार्फत् भुक्तानी शुरु गरेको छ ।

शुक्रवार (आज) नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बल्खु तरकारी बजारमा क्यूआर कोड भुक्तानीको उद्घाटन गर्दै सेवाको शुरुवात गरेका हुन् ।

बैंकले राष्ट्र बैंकको निर्देशन अनुरूप विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने कदम अनुरुप क्यूआर कोर्डमार्फत कारोबार शुरु गरेको जनाएको छ । सो परियोजना नगदबाट नगदरहित कारोबारतर्फ समाजलाई रूपान्तरणको दिशामा उन्मुख भएको बैंकले जनाएको छ ।

सो कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसीले वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्ने बताए । त्यस्तै, कृषि तथा सहुलियतपूर्ण कर्जा सहजताको लागि थप कार्यक्रम गर्नेमा प्रतिबद्धता समेत उनले व्यक्त गरे । बैंकले सो बजारका बुढाथोकी भेजिटेबल सप्लायर्स र सजनी भेजिटेबल सप्लायर्सलाई सहुलियतपूर्ण कर्जाको प्रस्ताव पत्र समेत दिएको जानकारी गराएका छन् ।

सो कार्यक्रममा बैंकका अध्यक्ष पवन कुमार गोल्याण,स्थानीय निकायका पदाधिकारीहरु, स्थानीय कृषि व्यवसायीहरु,सुरक्षा निकाय, लगायत उपस्थिति थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?