प्रचण्ड-नेपाल पक्ष आज निर्वाचन आयोगमा उपस्थित नहुने, आयोगलाई पठायो यस्तो पत्र

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूह आज निर्वाचन आयोगमा उपस्थित नहुने भएको छ ।

आयोगले नेकपाको दुवै ओली र प्रचण्ड-नेपाल समूहलाई निर्वाचन तयारीका बारेमा छलफल गर्न आज (शुक्रवार) का लागि बोलाएको थियो ।

नेकपा केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले आयोगलाई एक पत्र पठाउँदै उक्त समूहका अध्यक्षद्वय पचण्ड र माधवकुमार नेपाल माघ १८ गतेसम्म जिल्ला बाहिर हुने भएकाले उपस्थित हुन नसक्ने जानकारी गराएको हो ।

त्यस्तै अध्यक्ष उपस्थित हुन नसकेमा प्रतिनिधि समेत आयोगमा उपस्थित हुन भनिएको थियो । तर प्रचण्ड र नेपाल राजनीतिक छलफलका लागि उपत्यका बाहिर भएको कारण प्रतिनिधि मनोनयन गर्न नभ्याएको र प्रचण्ड स्वयमले आयोगसँग छलफल गर्न चाहेको समेत आयोगलाई जानकारी गराएको छ ।

त्यस्तै माघ १८ गते पछि भने उपयुक्त समयमा छलफलको आयोजना गर्न समेत आग्रह गरेका छन् ।

“पत्रमा राजनीतिक दलसँग सम्बन्धी ऐन ७३ को दफा ४८ बमोजिम निर्वाचन प्रयोजनका लागि दल दर्ता सूचना प्रकाशन र आयोगले निर्वाचन तयारीका सम्बन्धमा हालसम्म गरेका कामका विषयमा छलफल गर्न? भनी अध्यक्ष वा अध्यक्षले तोकेका आधिकारिक प्रतिनिधि र निर्वाचन तथा कानून विषय हेर्ने आयोगमा उपस्थित हुनु भनिएको रहेछ । पार्टी अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड दुवै अध्यक्ष माघ १८ गतेसम्म उपत्यका बाहिरका राजनीतिक कार्यक्रममा व्यस्त रहनु भई प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको र उक्त छलफलमा अध्यक्ष स्वयम उपस्थित भइ छलफल गर्न चाहनु भएको हुँदा सोको लागि आज तोकिएको समयमा सम्भव नभएको कुरा अवगत गराउँदछौँ ।” पत्रमा भनिएको छ, “तसर्थ माघ १८ गते पश्चात उपयुक्त मिति र समयमा छलफलको आयोजना गर्न अध्यक्षज्यूको निर्देशन बमोजिम आग्रह गरिन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?