‘प्रचण्ड–माधव पक्ष ३ महिनामा नागरिक अगुवा भएर सडकमा पुग्छ’- प्रधानमन्त्री (भिडियो)

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखको निर्वाचनको निम्ति सजग र गतिशिल भएर लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बिहीवार आफु निकट नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले बैशाखमा चुनाव हुने भएकोले कार्यकर्ताहरुलाई अत्यन्त सजग र गतिशिल भएर लाग्न निर्देशन दिएका हुन् । बाँकी रहेको तीन महिना राष्ट्रलाई कता लाने भन्ने जीवन मरणको संघर्ष भएकाले यस अवधिमा बढी काम र बढी अभियान लिएर जानुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश नं. २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा चुनाव गर्ने र दोस्रो चरणमा प्रदेश नं. १, बागमति प्रदेश र कर्णाली प्रदेशमा चुनाव गराउने गरी छलफल भइरहेको पनि बताए ।

प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ जानबाट रोकेको दाबी गरे । पार्टीमा शुद्धिकरण अभियान चलेको बताउँदै उनले पार्टीको विकृति, विसंगति, अराजकता, अनुशासनहिनता र स्वार्थी प्रवृति किनारा लागेको बताए । पार्टी एक बिचार र एक धारणासाथ एकताबद्ध भएर अघि बढेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओेलीले मजदुर आन्दोलनलाई बलजफ्ती विभाजन गर्न खोजिएको भन्दै विभाजित हुन नदिई एकताबद्ध मजदुर आन्दोलन निर्माण गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्ष ३ महिनामा नागरिक अगुवा भएर सडकमा पुग्ने पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?