काठमाडौं उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न बैंकर्स संघ सहमत

काठमाडौं । नेपाल बैंकर्स संघ काठमाडौं उपत्यका बाहिरवाट पनि सुन वितरण गर्न सहमत भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र बैंकर्स संघका पदाधिकारीहरुवीच बिहीबार भएको छलफलमा यस्तो सहमति भएको हो ।

महासंघ र बैंकर्स संघबीचको छलफलका क्रममा महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौं उपत्यका बाहिरवाट सुन वितरण नगरिँदा व्यवसायीहरुले दुःख खेप्नु परेको भन्दै यथाशीघ्र उपत्यका बाहिरका तोकिएका स्थानहरुवाट समेत सुन वितरणको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

त्यसक्रममा बैंकर्स संघका अध्यक्ष भुवन दाहाल लगायत संघका पदाधिकारीहरुले व्यवसायीको मागप्रति आफूहरु सकारात्मक रहेको र त्यसलाई कार्यान्वयनमा ल्याउन संघ तयार रहेको बताएका थिए ।

नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यका बाहिरवाट पनि सुन वितरणको व्यवस्था मिलाउने बिषयलाई मौद्रिक नीतिमा समाबेस गरिसकेको छ ।

यद्यपी सो बिषय हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । जसका कराण उपत्यका बाहिरका व्यवसायी सुन खरिदका लागि काठमाडौंमा आउनुपर्ने झन्झट थियो ।

छलफलका क्रममा व्यवसायीलाई सुन उपलब्ध गराउँदा बैंकहरुबाट हुने ढिलासुस्ती र अन्य प्राविधिक समस्यारुलाई सल्टाएर सहजरुपमा विधिसम्मत तरिकाले आ आफ्नो जिम्मेवारी पुरा गर्न आफूहरु तयार रहेको संघका पदाधिकारीहरुले बताए ।

राष्ट्र बैंकले तोकेको ब्यवस्था अनुसार बैंकर्स संघको सिफासिरमा बैंकहरुले विदेशवाट कच्चा सुनको आयातगरी महासंघको सिफासिरमा व्यवसायीहरुलाई सुन उपलब्ध गराउँदै आएको छ ।

मोफसलका जिल्लहरुवाट सुन वितरण गर्दा ढुवानी खर्च मात्रै काठमाडौंको भन्दा बढी लिने, मोफसलका जिल्लाहरुमा पनि सुनको स्टक राख्ने, बैंकहरु पिच्छे फरक फरक हुँदै आएको दरभाउमा एकरुपता ल्याउने, सुन खरिद गर्न बैंकहरुले सहज वातावरण बनाउने र सुनको कोटा वृद्धिगरी पर्याप्त मात्रामा आपूर्ती व्यवसथ मिलाउन दुवै पक्षले पहल गर्ने लगायतका बिषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?