प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल शुक्रवारदेखि

RSS
0
Shares

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको सर्वाधिक राशिको ‘प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७’ को तयारी पूरा भएको छ । भोली (शुक्रवार) र शनिवार चन्द्रागिरि–९ स्थित मत्छ्य फुटसल मैदानमा आयोजना हुने सो प्रतियोगितामा नगरका १५ वडाका २५ टिमबीच प्रतिष्पर्धा हुनेछ ।

चन्द्रागिरि–५ र नगरपालिका स्वयं आयोजक रहेको सो प्रतियोगिताको संयोजन वेष्टर्न युनाइटेड क्लबले गरेको छ । प्रतियोगिताका बारेमा जानकारी दिन क्लबद्वारा आज बिहीवार यहाँ आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रामनारायण घिमिरेले प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः ७५ हजार र ४० हजारसहित ट्रफी र पदक र अन्य चार विधामा उत्कृष्ट हुनेलाई पाँच हजारसहित पदक प्रदान गरिने जानकारी दिए । ती विधामा उत्कृष्ट टिम, खेलाडी, गोलकर्ता र किपर रहेका छन् ।

उनले भने, “फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । चन्द्रागिरि नगरपालिकाभित्र खेलकूद विकास गर्न र युवालाई खेल क्षेत्रमा आकर्षित गर्न क्लबले विभिन्न गतिविधि गरिरहेको छ ।” कोरोना कहरले आक्रान्त खेलकूद क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिताले कोशेढुङ्गाको काम गर्ने क्लबका उपाध्यक्ष साजन महर्जनले बताए । पछिल्लो समय युवापुस्ताका बीचमा फुटसल लोकप्रिय बनिरहेको छ ।

प्रतियोगिता अन्तर्राष्ट्रिय नियमलाई पालना गरी खेलाइने आयोजकले जनाएका छन् । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले युवापुस्तालाई खेलकूदमा थप आकर्षित गरी खेल क्षेत्रको विकास गर्न नगरपालिकाले प्रतियोगिता आयोजना गरेको जानकारी दिए । उनले भने, “युवा समाजका परिवर्तनका संवाहक शक्ति हुन् । उनीहरुको क्षमता र प्रतिभा विकासमा सबैले सहयोग गर्नुपर्छ । यसलाई खेलकूदले सहयोग गर्नेछ ।”
नगर प्रमुख घनश्याम गिरीले प्रतियोगिताका सहभागीलाई पोशाक वितरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?